भारतका १८ वर्षीय किशोर खेलाडी गुकेश डोम्माराजले विश्व चेस च्याम्पियनसिपको उपाधि जितेर नयाँ कीर्तिमान कायम गर्दै सनसनी मच्चाएका छन् ।
केही दिन अघि सम्पन्न विश्व चेस च्याम्पियनसिपको उपाधिका लागि भएको निर्णायक खेलमा भारतको चेन्नईमा जन्मेका गुकेशले सिंगापुरमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन चीनका डिङ लिरेनलाई हराएर उक्त सफलता हासिल गरेका हुन ।
गुकेशले डिङसँग १४ खेल खेलेका थिए । १३ खेलसम्म दुवैजना बराबरीको अवस्थामा थिए । १४औं खेल पनि बराबरीतर्फ उन्मुख थियो । यदि त्यस्तो भएको भए, टाईब्रेक खेल्नुपर्ने नियम छ । जसमा समयको नियन्त्रण कम हुने गर्दछ । तर, डिङले ५५ औं चालमा गल्ती गरेपछि गुकेशको जीत भएको हो ।
च्याम्पियनशिपमा गुकेशले पहिलो खेलमा हार बेहोरेका थिए । तर, तेस्रो खेलमा जित हासिल गर्दै बराबरी गरे । त्यसपछि उनले एघारौं खेलमा अग्रता बनाएका थिए । डिङले १२औं खेलमा जित हासिल गर्दै बराबरी गरे । १४ औं खेलमा भने दुवैजना उच्च तनावमा थिए । किनभने उक्त खेल उपाधि र पुरस्कार विजेताको टुंगो लाग्ने खेल थियो । जसमा गुकेशले बाजी मारे ।
उनले उक्त खेल च्यालेन्जरको रूपमा खेल्न पाएका थिए ।
उक्त फिडे विश्व चेस च्याम्पियनसिपको उपाधि जितेवापत उनले २५ लाख अमेरिकी डलर पुरस्कार समेत प्राप्त गरे । गुकेशले यसअघि १२ वर्ष ७ महिनाको उमेरमा नै ग्रान्डमास्टरको उपाधि हासिल गरेका थिए । त्यस समयमा नै उनले विश्व च्याम्पियन बन्ने लक्ष्य रहेको बताएका थिए । सन् २०१३ मा विश्वनाथन आनन्द र म्याग्नस काल्र्सन बीचको विश्व च्याम्पियनसिप खेल उनले पनि हेरेका थिए । त्यतिबेला उनी मात्र सात वर्षका थिए । वास्तवमा उनले विश्व च्याम्पियनसिप जित्ने लक्ष्य त्यति बेला नै लिएको पत्रकार सम्मेलनमा बताए ।
सन् १८८६ मा विल्हेम स्टाइनित्जले जितेको पहिलो विश्व च्याम्पियनसिपपछि १८औं विश्व च्याम्पियन बनेका छन् । सन् २००६ को मे मा जन्मिएका गुकेश अहिलेसम्मका सबैभन्दा कान्छो चेस विश्वविजेता हुन् । यसअघि १९८५ मा मस्कोमा अनातोली कार्पोभलाई हराएर कान्छो चेस विश्वविजेता बनेका २२ वर्षका गेरी कास्पोरोभको रेकर्डलाई उनले तोडेका हुन ।
पछिल्लो तीन वर्षमा गुकेशले लगातार असाधारण उपलब्धिहरू हासिल गरेका छन् । उनले पछिल्ला दुई ओलम्पियाडमा व्यक्तिगत स्वर्ण पदक जितेका छन् । उनले सन् २०२२ मा चेन्नईमा भारतीय टोलीलाई कांस्य पदक दिलाएका थिए । त्यसै गरी सन् २०२४ मा बुडापेस्टमा भएको ४५औं चेस ओलम्पियाडमा पनि स्वर्ण पदक जितेका थिए । पछिल्ला उपलब्धिको आधारमा उनलाई विश्वविजेतासँग खेल्नका लागि क्यान्डिडेट प्रतिस्पर्धा गर्ने अवसर मिलेको थियो । जसमा उनी सफल भए । त्यसपछि मात्र उनले डिङ लिरेनसँग खेल्ने आधिकारिकता पाएको हो ।
गुकेश पेशेवर चेस खेलाडीको रूपमा लगभग १० वर्ष अघिदेखि नै सक्रिय छन् । पाँच पटकका चेस विश्व च्याम्पियन विश्वनाथन आनन्द गुकेशका मेन्टर हुन । उनैको छत्र छायाँमा गुकेशले चेसको ज्ञान पाएका हुन् । किशोरावस्थाको ठिटो अनि अनुभवविहीन भएकै कारणले गुकेशलाई उनका मेन्टर आनन्दले एक सम्भावित च्यालेन्जरको रूपमा कहिल्यै मानेका थिएनन्, तर गुकेशले ती सबैलाई गलत सावित गरिदिएका छन् ।
चेन्नईका यी ग्रान्डमास्टरलाई उनका अभिभावक, भारतीय बुद्धिचाल प्रतिष्ठान र उनको विद्यालयबाट मनग्य सहयोग प्राप्त भएको छ । भारतीय खेलाडीहरूले हालसालै सम्पन्न ओलम्पियाडमा सानदार प्रदर्शन गरेका थिए । जसमा गुकेश आफैँले पनि भारतीय टोलीको नेतृत्व गरेका थिए ।
उनले नेतृत्व गरेको उक्त टोलीले पुरुष र महिलातर्फको स्वर्ण दुवै जितेका थिए । भारतमा चेसको क्रेज अत्यधिक रहेको छ । भारतमा करिब ३० हजार भन्दा बढी रेटेड खेलाडीहरू रहेको एउटा तथ्याङ्कले देखाउँछ । भारतमा ८५ भन्दा बढी ग्रान्डमास्टरहरू छन्, जसमा धेरैजसो अहिले सवारी चलाउनका लागि योग्य हुने उमेरसम्मका पनि छैनन् ।
गुकेशका बारेमा थप जानकारी
सात वर्षको उमेरमा चेस खेल्न शुरू गरेका गुकेशले सन् २०१८ मा विश्व युवा चेस च्याम्पियनसिपमा अन्डर–१२ को उपाधि जितेका थिए । सन् २०१८ को एसियन युथ चेस च्याम्पियनसिपमा गुकेशले विभिन्न स्वर्ण पदक जितेका थिए ।
उनले मार्च २०१७ मा इन्टरनेशनल मास्टरको उपाधिका लागि आवश्यक मापदण्डहरू पूरा गरेका थिए ।
१५ जनवरी २०१९ मा, १२ वर्ष ७ महिना र १७ दिनको उमेरमा उनले चेसको इतिहासमा सबैभन्दा कम उमेरको ग्रान्डमास्टर बन्ने दोस्रो खेलाडी बने, गुकेशभन्दा अघि यस्तो इतिहास रच्ने रसियाका सर्गेई कार्जाकिन हुन् ।
गुकेश सन् २०२२ को एसियाली खेलकुदमा पुरुष टिम प्रतियोगितामा भारतको टिमसँग रजत पदक जित्ने टोलीको सदस्य थिए ।
प्रतिक्रिया