काठमाडौं ।
सत्ताको प्रमुख साझेदार दल नेपाली कांग्रेस ६ हजार ७ सय ४३ वटै वडामा पार्टीलाई बलियो बनाउने गरी अभियान चलाउने भएको छ। भदौ १६ गतेको केन्द्रीय समिति बैठकले सयदिने सांगठनिक अभियान सञ्चालन गर्ने निर्णयसँगै नेताहरू उक्त अभियानको तयारीमा जुटेका हुन्।
अभियानअन्तर्गत केन्द्रीय नेताहरू असोज १ गते सबै जिल्लामा जाने तयारी रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिनुभयो। ०८४ को निर्वाचनमा एक्लै भिडेर बहुमत प्राप्त गर्ने हैसियत निर्माणका लागि संगठन सुदृढीकरण अभियान सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो।
‘पार्टीका नीति कार्यक्रम लिएर जनतामा जानुअघि संगठनलाई बलियो बनाउन सकिएन भने हाम्रो नीति कार्यक्रम र आगामी चुनावी एजेन्डा पनि जनतामाझ प्रभावकारी ढंगबाट प्रवाह हुन सक्दैन’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘०८४ को निर्वाचनमा कुनै पार्टीसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने हैसियत निर्माण गर्ने भन्ने निर्णय भएको छ। उक्त निर्णयअनुसार कांग्रेसले वडा तथा गाउँ बस्तीहरूमा पुगेर संगठनलाई सुदृढ बनाउने अभियानमा छौं ।’ ०८४ को निर्वाचन लक्षित अभियान सञ्चालनमा पार्टी जुटेको उहाँको भनाइ छ।
असोज १ बाट शुरू भएर पुस १० गतेसम्म सय दिन चल्ने अभियानमा हाल कुन केन्द्रीय नेतालाई कुन जिल्लामा पठाउने भनेर पार्टीले तयारी गरिरहेको छ । यसका लागि कसलाई कुन भूगोलमा पठाउने भन्ने तालिका निर्माणमा जुटेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । ‘सम्भव भएसम्म २६ गतेसम्म तालिकासहितको नेताहरूको लिस्ट तयार पार्ने र केन्द्रीय नेतालाई ओरेन्टेसनसहित भदौ ३१ गते जिल्ला पठाइसक्ने तयारीमा छौं’ – पौडेलले भन्नुभयो । कांग्रेस पार्टीका सिनियर नेताहरू, पठाएर पार्टीलाई गतिशील बनाउने काम गरिरहेको उहाँको भनाइ छ।
कांग्रेसले अभियानका लागि कार्ययोजनासहित हरेक जिल्लामा फरकफरक (टीओआर) बनाएर प्रतिनिधि पठाउने जनाएको छ। उनीहरूले सय दिनभित्र टोल समितिसम्मको वास्तविक रिपोर्ट लिएर केन्द्रमा प्रतिवेदन बुझाउनुपर्नेछ। अहिले कुन जिल्लाको अवस्था के छ भनेर ७७ जिल्लाको अवस्थाअनुसार केन्द्रीय कार्यालयले फाइल बनाउने काम भइरहेको छ। अभियानसँगै क्रियाशील सदस्यता वितरण र नवीकरण कार्यलाई पनि तीव्रता दिने तयारी रहेको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो।
‘कांग्रेसको विधानबमोजिम वडा तहसम्मको कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखीकरण, कार्यतालिका निर्माणलगायत काम भए/नभएको अनुगमन गरिने छ’, उहाँले भन्नुभयो– ‘कांग्रेसको प्रत्येक संगठनमा बैठक बसेको छ कि छैन ? नेतृत्वबीच सौहार्दता छ कि छैन, पार्टीले नियमित गर्नुपर्ने सामाजिक राजनीतिक गतिविधि के गर्दै छ, विकास सुशासन र जनजीविकाका सवालमा स्थानीय स्तरको अवस्था कस्तो छ, लगायत विषयमा अनुगमन गर्ने स्थानीय तहको जनप्रतिनिधि र पार्टीको प्रतिनिधिबीचमा समन्वय सद्भाव तथा पार्टीले जितेको स्थानीय तहमा जनचाहनाअनुसार काम भए नभएको अनुगमन हुनेछ।’
०८४ को निर्वाचनमा कांग्रेसले एकल बहुमत ल्याउने गरी जान पार्टीका सबै तहको संरचनालाई चुस्त दुरुस्त गतिशील र क्रियाशील बनाउने यस अभियानको लक्ष्य उद्देश्य रहेको नेता विश्वकर्माले बताउनुभयो।











प्रतिक्रिया