भिक्षुमाथि भएको कुटपिटको अनुसन्धान चाँडै टुंग्याउन माग


काठमाडौं।

नेपालका संघउपनायक भिक्षु गुणघोष महास्थविरलाई निर्घात कुटपिट गरेको विषय सडकदेखि सदनसम्मको चर्चाको विषय बनेको छ ।

सो घटना भएको झन्डै दुई साता बित्न लागिसक्दा पनि सो घटनामा संलग्न सबैलाई  पक्राउ गर्न नसकेको स्थितिमा त्यसको चर्चा हुने क्रमले निरन्तरता पाएका हुन्।

काभ्रेको धुलिखेल नगरपालिका–७ भीमसेन टोलस्थित पूर्वाराम विहारमा भदौं ६ गते विहीबार राति केही व्यक्तिहरुले ८४ वर्षीय भिक्षुलाई मुखमा कपडाले कोचेर लडाएका थिए । त्यसपछि हात र खुट्टामा डोरीले बाँधेर बेहोश हुने गरी कुटपिट गरेका थिए। शुक्रबार बिहान विहारमा बुद्धपुजा गर्न आएका उपासकउपासिकाहरुले भिक्षुलाई कोठाभित्र लडिरहेको देखेपछि धुलिखेल अस्पतालमा पु¥याइएको थियो।

विभिन्न बौद्ध संघसंस्थाहरुले विज्ञप्ती जारी गरेको स्थितिलाई मध्यनजर गरी राष्ट्रियसभामा सांसद् अञ्जान शाक्यले सो घटनाको अनुसन्धान सम्बन्धी कार्य चाँडै टुंग्याउन माग गरिन् ।यसैबीच घटनामा संलग्न सबैलाई  कानुनी दायरामा ल्याउन माग गर्दै बौद्ध युवा कमिटी ललितपुरले गृहमन्त्री रमेश लेखक समक्ष ज्ञापन पत्र बुझाएको छ। त्यसैगरी धर्मोदय सभाले जिल्ला प्रशासन कार्यालय काभ्रेमा ज्ञापन पत्र बुझाइसकेको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेले सो घटनामा संलग्न २० वर्षीय आदित्य श्रेष्ठलाई पक्राउ गरी हिरासतमा राखिएको छ भने बाँकीलाई अझै पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन सकेको छैन। प्रहरीले श्रेष्ठलाई पक्राउ गर्दा विहारबाट चोरी गरिएको एक लाख ६५ हजार ८ सय ९० रुपैयाँ भेटिएको थियो।

श्रेष्ठलाई डाँका गर्ने र गराउने कसुरमा अनुसन्धान गर्न काभ्रे जिल्ला अदालतबाट अनुमति लिएर हाल प्रहरी हिरासतमा राखिएको कार्यालयले जनाएको छ ।

विहारका अनुसार विहार पुनः निर्माणको लागि राखिएको करिब १५ लाख रकम लुटिएको थियो। कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक बसुन्धरा खड्काले सो घटना अनुसन्धानकै क्रममा रहेको बताए । ‘सिसिटिभी फुटेजबाट घटनामा श्रेष्ठको संलग्नता रहेको देखियो।अरु पनि संलग्न छ कि छैनन् भनेर अनुसन्धान गरिरहेका छौं।’ प्रहरी उपरीक्षक खड्काले भने।