काठमाडौँमा सफा पानी र हावाको समस्या छ, यस तर्फ सबैको ध्यान जाओस् : जापानी राजदूत 


काठमाडौँ। 

नेपालका लागि जापानका राजदूत युताका किकुता जानले काठमाडौँमा सफा पानी र हावाको समस्या रहेकोले  यस तर्फ सबैको ध्यान जान जरुरी भएको बताएका छन्। नेपाल जाइका अमनाई एसोसियसन (जान)द्वारा   शनिवार आयोजित  ‘आजको संसारमा स्वस्थ जीवन’ विषयक चेतना मूलक सेमिनारमा बोल्दै राजदूत जानले  जापानले नेपाललाई विभिन्न क्षेत्रको साथै स्वास्थ्यका क्षेत्रमा पनि सहयोग गर्दै आएको  बताउँदै हाल काठमाडौंको लागि सफा पानी र सफा हावाको समस्या रहेकोले यस तर्फ सबैको ध्यान जान जरुरी रहेको बताए ।

उनले कार्यक्रमहरु सबै अत्यन्त प्रभावकारी हुने बताउँदै यो सेमिनारको विषय पनि सान्दर्भिक र महत्त्वपूर्ण हुने  बताए ।

कार्यक्रममा डा. ओममूर्ति अनिलले आफूलाई मन पर्ने र खुसी हुने खालका कामहरु गर्दा स्वस्थ रहन सहयोग पुग्ने भएकोले खास गरी सेवा निवृत्त व्यक्तिहरुले जान  जस्तो सामाजिक संस्थामा आबद्ध भै राम्रा काममा लाग्नु पर्ने सुझाव दिए । उनले स्वस्थ रहनको लागि आफूलाई सधैं सक्रिय राख्नु पर्ने र उमेर बढी भएका व्यक्तिहरुलाई रिस, घृणा र नकारात्मक सोच हानिकारक हुने भएकोले यस्ता कुराहरुबाट टाढा रहनु पर्ने बताए ।

 त्यस्तै कार्यक्रममा डा. शेरबहादूर पुनले हामीले भूकम्प र कोभिड –१९ मा धेरै दुःख भोग्यौ तर विगतबाट पाठ सिकेनौ भन्दै अहिले स्वास्थ्य क्षेत्रमा ठूलो समस्याको रुपमा “डेङ्गु” रहेकोले यसबाट सतर्क रहन सबैलाई अनुरोध गरे । अहिले संसारमा विभिन्न देशहरुमा मन्की पक्सको समस्या रहेको तर हालको अवस्थामा नेपालको लागि मन्की पक्सको भन्दा डेङ्गुको बढी जोखिम रहेको बताए । साथै उनले नेपालमा भएका अस्पतालहरुलाई व्यवस्थित बनाउन सबैको ध्यान जानुपर्ने बताए। 

जानका अध्यक्ष डा. रामचन्द्र भुसालले जानले समसामयिक सन्दर्भमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी सेमिनारको आयोजना गर्दै आएको र यो स्वास्थ्य सम्बन्धी चेतनामूलक सेमिनार पनि जानका सदस्यहरु र समुदायका व्यक्ति सबैको लागि उपयोगी हुने विश्वास व्यक्त गरे । उनले स्वस्थ शरीर विनाको जीवन निरास र कठीन हुने भएकोले सहभागीहरु आफू र आफ्नो परिवारलाई स्वस्थ राख्न सहयोग पुगोस् भन्ने उद्देश्यले जानले यो सेमिनारको आयोजना गरेको बताए।

 सेमिनारमा जाइका नेपालका प्रमुख मिजुकी माच्चुजाकी नेपाल सरकारका सचिव गोकर्णमणि दवाडी, जापानी राजदूतावास, जाइका नेपाल र नेपाल सरकारका उच्च अधिकृतहरु, जानका सदस्यहरु तथा समुदायका व्यक्तिहरुको  सहभागिता रहेको थियो ।