एक स्वर्णले करोडपति भए पाकिस्तानी खेलाडी


जारी पेरिस ओलम्पिकअन्तर्गत ज्याभलिन थ्रोमा रेकर्डसहित स्वर्ण जितेका पाकिस्तानका खेलाडी अरशद नदीममाथि रुपियाँको बर्षा हुने भएको छ । उनी एक स्वर्णसहित करोडपति बन्ने भएका हुन् । उनलाई पंजाब प्रान्तकी मुख्यमन्त्री मरयाम नवाजले १० करोड (पाकिस्तानी) रुपियाँको नगद पुरस्कार घोषणा गरेकी छन् ।

अन्य व्यक्तिहरुले पनि उनलाई रकम दिने घोषणा गरेपछि उनले करिब १५ करोड ६० लाख (पाकिस्तानी) रुपियाँ पाउनेछन् । यो भनेको नेपाली झण्डै ८ करोड रुपियाँ हुनआउँछ ।

नदीमले केही महिना अघि मात्रै ओलम्पिक्सको लागि नयाँ भाला किन्न क्राउड फन्डिंगको सहयोग लिनु परेको थियो । मरयामले बताइन् कि यस खेलाडीको नाममा उनको गृहनगरमा एक स्पोर्टस् सिटी बन्नेछ । मरयाम पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी हुन् । नदीमले यसअघि कमनवेल्थ गेम (२०२२) मा स्वर्ण तथा वल्र्ड च्याम्पियनसिप (२०२३) मा रजत पदक जितेका थिए ।

अरशदलाई दिने पुरस्कार रकमको घोषणा
—पन्जाब प्रान्तकी मुख्यमन्त्री मरयामद्वारा १० करोड
—पन्जाब सरकार सरदार सलीम हैदर खानद्वारा २० लाख
—सिन्धका मुख्यमन्त्री नदीमद्वारा ५ करोड
—सिन्धका सरकार कामरान तेसोरीद्वारा १० लाख
—पाकिस्तानी तथा बलिउड सिंगर एक्टर अलि जफरद्वारा १० लाख
—पाकिस्तानी क्रिकेटर अहमद शहजादद्वारा १० लाख