हिमाल सफाइमा सेना : १ लाख १९ हजार केजी फोहोर संकलन

564
Shares

काठमाडौं ।

जलवायु परिवर्तन र मानव सिर्जित फोहोरका कारण नेपालका हिमालहरू जोखिममा पर्न थालेका छन्। ८ हजार मिटरभन्दा माथिका हिमालसमेत पग्लन थालेपछि यसको चिन्ता विश्वव्यापी रूपमा हुन थालेको छ।

नेपालमा हिमालहरू फोहोरको सूचीमा परेपछि सरकारले विगत ५ वर्षदेखि हिमाल सफाइ अभियान सञ्चालन गरेको छ। विगत ५ वर्षयता नेपालका विभिन्न हिमालमा थुप्रिएर बसेका १ लाख १९ हजार केजी कुहिने र नकुहिने फोहोर र विभिन्न हिमाल आरोहणका क्रममा मृत्यु भएका १२ वटा मानव शव र सोही हाराहारीमा मानव कंलाल संकलन गरिएको छ ।

नेपालका हिमाल सफाइ अभियानको नेतृत्व नेपाली सेनाले गरेको छ। यस वर्ष पनि सेनाले ११ टन कुहिने र नकुहिने फोहोर, ४ वटा शव र एउटा मानव कंकाल संकलन गरी ल्याइएको छ।

नेपाली सेनाले अभियानको नेतृत्व गरेकाले बुधबार एक कार्यक्रमको आयोजना गरी अभियान समापन भएको घोषणा गरिएको थियो । ५५ दिन लामो उक्त अभियानको नेतृत्व सेनानी आदित्य कार्कीले गर्नुभएको थियो।

उक्त कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले २०३२ सालदेखि नेपाली सेनाले प्रकृति र पर्यावरणको संरक्षण गर्दै आएको भए पनि अहिले पर्यावरण क्षेत्रमा आएको परिवर्तनले नेपाललाई मात्र नभएर विश्वलाई नै चिन्तित बनाएको बताउनुभयो ।

उहाँले हाम्रा हिमालको संरक्षण समयमा नै गर्न सकेनौं भने यसले पार्ने असरले आउँदा पुस्ताहरूसमेत प्रभावित हुने भएकाले हामी सबै मिलेर हाम्रा हिमालको संरक्षण गर्नुपर्ने बताउनुभयो।

सफा हिमाल अभियानका संयोजक तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक सहायक रथी सञ्जय देउजाले अभियानको बारेमा जानकारी गराउँदै आउँदा दिनमा नेपालका सेता हिमाल सफा राख्न नेपाली सेनाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।