सन्दर्भ : लास्मित राई स्मृति दिवस

साङ्गीतिक क्षेत्रकी अब्बल कला साधक लास्मित



कक्षा आठमा पढ्दै गर्दा ‘यी आँसुहरू तिम्रा प्रीतका इनामहरू हुन्’ बोलको गीत रेडियो खर्साङमा रेकर्ड गरेपछि आफ्नो औपचारिक साङ्गीतिक यात्रा आरम्भ गरेकी कलाकार लास्मित लेप्चा (राई) नेपाली साङ्गीतिक क्षेत्रमा अत्यन्त सुपरिचित कला साधक हुन्। उनको जन्म भारतको दार्जीलिङ क्षेत्रअन्तर्गत रङ्गोमा भएको हो। बुबा काचिन लेप्चा तथा आमा मधु लिम्बूकी छोरी लास्मित विवाहपश्चात् आफूलाई लास्मित लेप्चा राई नामबाट चिनाउँथिन्। विद्यालयीय अध्ययन रङ्गोमै पूरा गरी आफ्नो मामाघर सिक्किम आएपछि कलेज पढ्ने, जागिर खाने र सङ्गीत साधनाको कामलाई एकसाथ अगाडि बढाइन्। त्यहाँ रहँदा शान्ति ठटालसँग सङ्गीत सिक्ने अवसर प्राप्त गरिन् । सानै उमेरदेखि मिहिनेती र सङ्घर्षशील जीवन बिताउँदै आएकी लास्मितको विवाह शिक्षासेवी विमल राईसँग भएको थियो । विवाहपछि काठमाडौं आएर बसोबास गर्न थालेपछि उनको साङ्गीतिक यात्रा क्रमशः अगाडि बढेको देखिन्छ ।

सयभन्दा धेरै गीतहरूमा आवाज भरिसकेकी लास्मितका गीतहरू नेपालबाहिर अल इन्डिया रेडियो, गान्तोक रेडियो तथा रेडियो खर्साङमा अहिले पनि बारम्बार बज्ने गर्दछन्। वि.सं. २०४८ मा किन तिमी शीर्षकको पहिलो एकल एल्बम काठमाडौंको घण्टाघरमा रहेको सिम्फोनी रेकर्डिङ स्टुडियोबाट निकालेकी थिइन्। ‘त्यस बेला नेपाली सङ्गीत अहिलेझैँ समृद्ध थिएन। गीत सार्वजनिक गर्न धेरै खर्च हुन्थ्यो भने गीतबाट आम्दानी एकदम थोरै। त्यसैले उनी भन्थिन्, ‘मैले सङ्गीत क्षेत्रमा पनि धेरै सङ्घर्ष गरेकी छु ।’ यसपछि उनको दोस्रो एल्बम नआऊ सपनाभरि, जसमा उनको एकल स्वरका ११ वटा गीत रहेका छन् । नेपाल आएपछि गुरुदेव कामतसँग दुई वर्ष सङ्गीत प्रशिक्षण लिएकी राईले पछि गोपाल योञ्जन, दिव्य खालिङ, रत्नबहादुर खड्गीसँग पनि सङ्गीत सिकिन् । यसरी उनको गीत तथा सङ्गीतसम्बन्धी गहन अध्ययन पनि रहेको थियो ।

उनका समकालीन कलाकारहरूमा राजेशपायल राई, लोचन भट्टराई, रिमा गुरुङ, पवित्रा सुब्बा, सपनाश्री, शर्मिला बर्देवा, सुनिता सुब्बा आदि हुन्। आफूले मिहिनेत गरेर काम गर्दा त्यसलाई श्रोताहरूले अत्यन्त मन पराइदिने र अझ काम गर्ने प्रेरणा प्राप्त हुने उनको धारणा रहेको थियो।

उनी मधुकर लोहनी, गुलाम अली र तारादेवीको गलालाई अत्यन्त मन पराउँथिन् र भन्थिन्, ‘उहाँहरूको स्वरमा एकप्रकारको झङ्कार पाउँछु, रेकर्डिङ गरिएको स्वरभन्दा वास्तविक स्वरमा अझ मिठास म पाउँछु ।’ त्यसैले उनी सङ्गीत क्षेत्रका असल र सफल व्यक्तित्वहरूलाई प्रेरणाको स्रोत बनाएर आपूm काम गर्ने गर्थिन् । यसैले उनले नेपाली गीत सङ्गीतका क्षेत्रमा जति गीतहरू रेकर्ड गरिन् ती एकसे एक चर्चित बनेर रहे । गीत लेखन, गायन र सङ्गीत रचना उनको रुचिका क्षेत्रहरू थिए । उनले आधा दर्जनभन्दा बढी नेपाली चलचित्रका गीतमा आफ्नो आवाज दिइसकेकी छन् । उनका बलिदान, परदेशी कान्छा, गाउँले, रगत, नाम के हो, लेखान्तजस्ता सुपरहिट नेपाली चलचित्रका चर्चित गीतमा सुमधुर स्वर पस्केर आफूलाई सफल कलाकारका रूपमा स्थापित गराएकी राईले पूर्वेली लोकभाका, नेपाली सुगम सङ्गीत र बाल गायनमा पनि स्वर भरेकी छन् । कवि तथा गीतकार मञ्जुल, राष्ट्रकवि माधवप्रसाद घिमिरे, राजेन्द्र थापा, श्रवण मुकारुङ, दिनेश अधिकारी, भावेश भुमरी आदि वरिष्ठ गीतकारहरूका शब्दमा आवाज दिएर उनले नेपाली सङ्गीत क्षेत्रमा राम्रो पहिचान बनाएकी थिइन् । सङ्गीतकारहरूमा दिव्य खालिङ, न्ह्यू वज्राचार्य, सचिन सिंह, बुलु मुकारुङ, पारस मुकारुङ आदिसँग उनले काम गरेकी थिइन् ।

विशेषतः पचासको दशकमा नेपाली आधुनिक तथा चलचित्रका गीतहरूमा उत्कृष्ट स्वर उनले दिएकी थिइन् । त्यो बेला अहिलेजस्तो युट्युब च्यानलहरू नहुने र क्यासेट एल्बमको बिक्रीबाट मात्र आम्दानी हुने हुनाले गीत सङ्गीतबाट अहिले झैँ राम्रो आम्दानी गर्न मुस्किल रहेको उनको बुझाइ थियो । काठमाडांैको सङ्घर्षपूर्ण पारिवारिक जीवनलाई अघि बढाउन निकै चुनौती सहनुपरेको र सङ्गीत क्षेत्रबाट मात्र आफूलाई प्रतिस्पर्धाको बजारमा निरन्तरता दिन अनि व्यावहारिक जीवन चलाउन आर्थिक रूपले कठिनाइ भएपछि, साथै आफ्नै स्वास्थ्य बिगँ्रदै गएपछि गायक राईले गीत सङ्गीतको क्षेत्रलाई थाती राखिन् र प्राध्यापन पेसा अँगालिन् । एकै व्यक्तिले साहित्य र सङ्गीतलाई सँगै अगाडि बढाउन अनुकूल वातावरण चाहिने र आफूले त्यस्तो वातावरण तयार गर्न नसकेको प्रति उनको गुनासो रहेको थियो । यसै कारण लामो समयदेखि ललितपुरको कुमारीपाटीस्थित युनाइटेड एकेडेमीमा सिनियर प्रोफेसरका रूपमा नेपाली विषयको अध्यापन गर्ने कलाकार राई फुर्सदको समयमा गीत गुनगुनाइरहन्थिन् । नेपाली भाषा र साहित्यका क्षेत्रमा पनि कलाकार राईको योगदान अमूल्य रहेको देखिन्छ । स्वास्थ्यले साथ दिएमा आगामी समयमा आफ्नै युट्युब च्यानल सञ्चालन गरी त्यसैबाट आफ्ना पुराना गीतहरू सार्वजनिक गर्ने र केही नयाँ साङगीतिक प्रोजेक्ट पनि अगाडि बढाउने योजना रहेको हामीसँगको कुराकानीका क्रममा उनले बताएकी थिइन् ।

मेरो माया लैबरी लै–लै फूलझैँ चम्केकी, सुनकोशीको सुनको पानी, सँगसँगै बाँच्न पाऊँ सँगसँगै मर्न पाऊँ, डुल्न मन लाग्छ मायालु, मेला राम्रो वैशाखे पन्ध्रमा, मेरो माया आठै तुना बाँध चौबन्दीमा, मायालुको मुहारै हँसिलोजस्ता तत्कालीन समयका चर्चित गीतमा उनले सुमधुर स्वर पस्केकी छन्।

कलाकारहरूप्रति राज्यले उचित सम्मान दिन नसकेपछि उनी र उनकै पुस्ताका कैयौँ कलाकारहरू विदेशिनुपरेको र कलाकारिता क्षेत्रबाट विमुख बन्नुपरेको तीतो अनुभव उनीसँग थियो ।

जे होस्, साहित्य र सङ्गीत कलाप्रतिको गहन अनुरागकै कारण उनी भाषा साहित्य र कलाको महत्व आगामी पुस्तालाई बुझाउनुपर्ने धारणा राख्थिन् । उनी र उनीजस्ता अब्बल कलाकारहरूप्रति राज्यले उचित सम्मान दिन सके नेपाली कला, साहित्य र सङ्गीतको भविष्य अझ माथि उठ्नेछ र आफ्नो भोको पेटकै लागि कलाकारहरू विदेशिनुपर्ने बाध्यताको अन्त्य हुने कुरामा पनि दुईमत नरहने उनको तर्क थियो।

आफ्नो संघर्षशील जीवनलाई अगाडि बढाउने क्रममा युनाइटेड एकेडेमीमा उनले करिब १६ वर्ष नेपाली भाषा र साहित्य शिक्षण गरिन् । यसै क्रममा वि.सं. २०७६ मा यो पङ्क्तिकारलाई कलाकार राईसँग सहकर्मीका हैसियतमा केही साक्षात्कार गर्ने अवसर प्राप्त भएको थियो । उक्त साक्षात्कारको अंशलाई समेत समेटेर यो लेख तयार परिएको हो ।

जे होस्, साहित्य र सङ्गीत कलाप्रतिको गहन अनुरागकै कारण उनी भाषा, साहित्य र कलाको महत्व आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बनिन् । उनीजस्ता अब्बल कलाकारहरूप्रति राज्यले उचित सम्मान दिन सके नेपाली कला, साहित्य र सङ्गीतको भविष्य अझ माथि उठ्ने र आफ्नो भोको पेटकै लागि कलाकारहरू विदेशिनुपर्ने बाध्यताको अन्त्य हुने निश्चित छ । नेपाली सङ्गीतमा सुनौलो भविष्य देखेर यस क्षेत्रमा लागेकी राईका श्रीमान्लाई अघिल्लो वर्षको कोभिडले सिकार बनायो । श्रीमान्को आकस्मिक निधन र सन्तान सुखबाट वञ्चित रहेकी कलाकार लास्मितको एकल जीवन अझ कष्टपूर्ण बनेको थियो । यद्यपि, योग र ध्यान उनको जीवनको अभिन्न पाटो नै थियो । यसैमा उनी आफूलाई भुलाउने गर्थिन् । कोभिडको तेस्रो लहरले नेपालीलाई आक्रान्त पारेकै अवस्थामा उनी निकै सचेतता र सावधानी अपनाएर घरमै बसी आफ्ना नियमित काम गर्ने गर्थिन् । तर विडम्बना, तेस्रो लहरको कोभिडले उनलाई पनि संक्रमित बनायो र करिब तीन दिनमात्र अस्पताल भर्ना भएकी लास्मितले अन्ततः वि.सं. २०७८ जेठ १५ गते यो संसारबाट बिदा हुँदै श्रीमान् गएकै बाटो पहिल्याइन् । भौतिक जीवनमा अत्यन्त प्रेमिल जीवन बाँचेकी लास्मितका श्रीमान्–श्रीमतीले नै अल्पायुमै यो संसार छाडेर गए । लास्मित जति बाँचिन् संघर्षपूर्ण र अर्थपूर्ण जीवन बाँचिन् । उनले नेपाली साङ्गीतिक क्षेत्रमा ननिभ्ने दियो बालेर गइन् । उनको जीवनबाट निरन्तर मिहिनेत, संघर्ष र दुःखमा विचलित हुन नहुने, साथै आफूसँग जे छ त्यसैमा रमाउन सक्नुपर्नेजस्ता प्रेरणा नयाँ पुस्ताले पाउनेछन् । आज लास्मित राईको स्मृति दिवस उनको आत्माले शान्ति पाओस्, हाम्रो तर्फबाट उनीप्रति हार्दिक श्रद्धा–सुमन ।

प्रतिक्रिया दिनुहोस्