नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले भ्रम छरेको भन्दै आपत्ति प्रकट



काठमाडौं ।

नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले जारी गरेको सुर्तीजन्य पदार्थमा लाग्ने करको प्रतिशत र करको विधासहितको विज्ञप्ति भ्रामक भएको भन्दै एक्सन नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एक्सन नेपालले सुर्ती उद्योगीहरूले संसारभर नै भ्रामक सूचना सम्प्रेषण गर्ने, वैज्ञानिक विधिमा आधारित नभएका तथ्य बाहिर ल्याउने र नीति निर्माणमा संलग्न भएका नेता तथा कर्मचारीहरूलाई त्यस्ता तथ्य र अन्य विधिहरू प्रयोग गरी प्रलोभनमा पार्ने एवं नीति निर्माणमा हस्तक्षेप गरी आफूअनुकूल कानुन र परिस्थिति निर्माण गर्ने प्रचलन रहेको समेत आरोप लगाएको छ।

एक्सन नेपालले बिहीबार पत्रकार सम्मेलन गरी नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले गत जेठ ४ गते जारी गरेको विज्ञप्तिले भ्रम सिर्जना गरेको बताएको छ। पत्रकार सम्मेलनमा आन्तरिक राजस्व विभागको तथ्याङ्कलाई उद्धृत गर्दै दिइएको जानकारीअनुसार गत वर्ष नेपालमा लगभग ११ अर्ब २६ करोड ६६ लाख ६६ हजार ६ सय ६७ खिल्ली चुरोट उत्पादन भएको थियो।

जसअनुसार अन्तःशुल्क प्रति खिल्ली औसत २ रुपियाँ ३२ पैसाका दरले लगाउँदा २६ अर्ब २२ करोड राजस्व संकल भयो । एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले भन्नुभयो– ‘प्रतिखिली अन्तः शुल्क रु ४ मात्रै बनाउँदा पनि ४५ अर्ब ६ करोड ६६ लाख ६६ हजार ६ सय ६८ रुपियाँ राष्ट्रले राजस्वको रूपमा संकलन गर्नेछ जुन अहिलेको भन्दा रु १८ अर्ब ८४ करोड ६६ लाख ६६ हजार ६ सय ६८ रुपियाँ बढी हो ।’

सोही अवसरमा दिइएको जानकारीअनुसार अहिले प्रति खिली ६० पैसा स्वास्थ्य जोखिम कर हुँदा राष्ट्रले कुल ६ अर्ब ७६ करोड रुपियाँ राजस्व उठाउँछ । स्वास्थ्य मन्त्रालयले प्रस्ताब गरेअनुसार प्रति खिली ३ रुपियाँ स्वास्थ्य जोखिम कर वृद्धि गर्ने हो भने लगभग ३३ अर्ब ८० करोड रुपियाँ स्वास्थ्य जोखिम कर उठ्नेछ जुन अहिलेको भन्दा रु २७ अर्ब ४ करोड रुपियाँ बढी हो । नेपालमा करको दर कम भएकै कारण नेपालमा चुरोटको मूल्य विश्वकै तुलनामा सबैभन्दा कम छ ।

चुरोटमा कर बढाइयो भने नेपालीभन्दा विदेशी चुरोट सस्तो हुने र अवैध रूपमा विदेशी चुरोट नेपाल भित्रिने झुटो पैरवी गरिएको छ । तर, वास्तवमा त्यसो नहुने विभिन्न तथ्यहरूले देखाउँछ। नेपालमा सर्वाधिक बिक्री हुने चुरोटको मूल्य ३ सय २० रुपियाँ पर्छ भने भारतमा त्यस्तै चुरोटको मूल्य करिब नेपाली ५ सय ४४ रुपियाँ छ। तसर्थ कर बढे पनि भारतबाट नेपालमा अवैध रूपमा चुरोट नभित्रिने प्रष्ट हुन्छ। बरु यसको ठिकविपरीत, नेपालबाट गैरकानुनी रूपमा चुरोट भारत निर्यात हुँदै आएको छ । हालै मात्र बाँके प्रहरीले जमुनाह नाकाबाट अवैध रूपमा भारत निकासी भइरहेको १ हजार २ सय ८० बट्टा खुकुरी चुरोट बरामद गरेको छ।

विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको कर दर ७५ प्रतिशत छ। नेपाल सुर्तीजन्य पदार्थमा लगाएकोे कर विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको भन्दा निकै कम छ। यसले सुर्तीजन्य उद्योग प्रति नेपाल सरकारको सम्झौतावादी निति प्रष्ट देखिन्छ। बर्तमान सरकारले विश्व स्वास्थ्य संगठनको सिफारिसअनुसार सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्‍यो भने मौजुदा राजस्व ३२ अर्ब ९८ करोडमा थप ४५ अर्ब ८९ करोड गरी जम्मा ७८ अर्ब ८७ करोड राजस्व संकलन हुने देखिएको एक्सन नेपालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्