हिमालमा प्लास्टिक निषेध गर्न जोड



लिस्बन ।

बुद्ध जयन्तीको अवसर पारेर लिस्बनको ग्रिन एण्ड चिलमा अन्तरक्रिया कार्यक्रम भएको छ। पर्यटनदूत रमेशशराज बाँस्तोलाले आयोजना गरेको दिवा भोज सहितको अन्तरक्रिया कार्यक्रममा पोर्चुगलबाट पहिलो पटक सगरमाथा आरोहीसहित पोर्चुगिस नागरिक र नेपाली समुदायबीच छलफल भएको छ।

सो अवसरमा बोल्दै ५६ वर्षीय पर्वतारोही जोआयो ग्रासियाले हिमाली क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्नुपर्ने बताए। सगरमाथा आरोहणबारे आफ्नो अनुभव सुनाउँदै नेपालको हिमाली क्षेत्रमा फोहोर थुप्रिएको भन्दै बेलैमा सफा गर्नुपर्नेमा जोड उनले जोड दिए।

फोहोर हटाउन अभियान नै चाल्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। खुम्बु क्षेत्रमा हेलिकप्टरले अनावश्यक उडान भरेर सौन्दर्य घटाएकोमा उनले चिन्ता व्यक्त गरे। दुर्घटना पर्दा र उद्धारको बेला मात्रै हेलिकोप्टर प्रयोग गर्नुपर्ने र अरू बेला स्थानीयको सहयोग लिने नियम बनाउनुपर्ने उनले बताए। पोर्चुगिस नागरिकहरू घुम्नका लागि भारत र भुटान जाने गरेका छन्। उनीहरूलाई लक्षित गरी नेपाल घुमाउन सके नेपालको पर्यटनमा टेवा पुग्ने उनको भनाइ छ।

नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको भन्दै निर्माण गरिएका संरचना भन्दा प्रकृतिले दिएका उपहारको संरक्षण र संवर्द्धन गर्न सके पर्यटक ओइरो लाग्ने उनले बताए। नेपालीहरू साना कुरामा पनि खुसी हुने पाएको उनले अनुभव सुनाए। पर्यटनलाई पहिलो प्राथमिकता दिन सके स्थानीय स्तरमै रोजगारीको आकर्षणको केन्द्र बन्ने उनले बताए। उनले नेपालको सगरमाथा, अन्नपूर्णलगायत भ्रमण गरिसकेका छन्।

उनले संसारका ८ हजार भन्दा बढी उचाइका १४ वटा हिमाल आरोहण गरिसेका छन् । उनले आरोहणसम्बन्धी अनुभव समेटेर पुस्तक पनि प्रकाशन गरेका छन्। १८ मे १९९९ मा पहिलो पटक पोर्चुगलबाट सगरमाथा आरोहण सुरु गरेका उनले बिना अक्सिजन सगरमाथा र अन्नपूर्ण आरोहण गरेका छन्। ५६ वर्षीय पर्वतारोही जोआयो ग्रासिया यहीँ अक्टोबरमा नेपाल आउने तय भएको छ। पर्यटनदूत रमेशराज बाँस्टोलाले नेपालको पर्यटन संवर्द्धनमा पहिल्यैदेखि लागिपरेको र आगामी दिनमा पनि सक्दो पहल गर्ने बताए।

  पोर्चुगिसलाई नेपाल घुमाउनका लागि सहज वातावरण बनाउन लागिपरेको उनले जोड दिए। अन्तरक्रिया कार्यक्रममा पोर्चुगिस व्यवसायी रुई मोराइदाले नेपालका विभिन्न ठाउँको भ्रमण गरेको सुनाए। नेपालको खासगरी गाउँघर क्षेत्रका मानिसमा साना कुरामा पनि खुसी हुने, अभाव, पीडामा रमाएर हाँसी हाँसी स्वागत गर्ने बानी मन परेको उनको भनाइ थियो।

सो अवसरमा बोल्ने वक्ताहरूले पर्यटकले भोगेका चुनौती र समाधानका विषयमा छलफल गरे। पोर्चुगिस सगरमाथा आरोहीसँग छलफल गरेर पर्यटनको समस्या पहिचान गर्न प्रयास गर्ने, पोर्चुगिस नागरिकको नेपाल भ्रमणका लागि पहल गर्ने विषयमा छलफल भएको पर्यटनदूत बाँस्टोलाले बताए।  कार्यक्रममा पोर्चुगिस नागरिक, अमेरिकी नागरिक, जापनिज नागरिकको सहभागिता थियो ।

एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष दीपा काफ्ले, नेपाल पत्रकार महासङ्घ युरोप शाखाका उपाध्यक्ष बासु सत्याल, एनआरएनए आइसीसी पूर्व सदस्य नारायणकाजी थापा, प्रोचुगिस भाषा शिक्षक प्रमोद रिजाल, राप्रपा पोर्चुगलका पूर्व अध्यक्ष एवम् नेपाल पत्रकार महासङ्घ युरोप शाखाका सदस्य दिपक खतिवडा, व्यवसायी टिकाराम सुवेदी, लोक शर्मा, राप्रपा पोर्चुगलका अध्यक्ष रुपक पौडेललगायत पनि कार्यक्रममा सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्