मृत अवस्थामा भेटिए कृष्ण नगरकोटी, किन घर छोडेर ट्याक्सीमा बस्यो नगरकोटी परिवार ?



काठमाडौं ।

कागेश्वरी मनहरा नगरपालिका–५ थलीमा मंगलबार बिहान मृत भेटिएका कृष्ण नगरकोटीको बारेमा थप रहस्य सार्वजनिक भएको छ। मृतक नगरकोटीका छोरालाई पनि दक्षिणकाली पुगेर आत्महत्या गर्न लागेको बेलामा घाइते अवस्थामा प्रहरीले उद्धार गरेको छ।

मंगलबार बिहान ५ बजे घाँटी रेटिएको अवस्थामा नगरकोटीको शव थली ओरालोनजिक बन्दै गरेको ढुंगाको पर्खालको छेउमा भेटिएको थियो । शवको साथमा रहेको ड्राइभिङ लाइसेन्सबाट नगरकोटीको पहिचान खुलेको थियो।

प्रहरीले मृतक नगरकोटीको शव बरामद गरेपछि उहाँको छोरा रिचेन नगरकोटीलाई सोमबार साँझ घाइते अवस्थामा उद्धार गरेको र छोरी रश्मी नगरकोटीलाई बाटोमा हिँडिरहेको अवस्थामा सेतोपुलबाट पक्राउ गरेको छ।

केही समयदेखि घर छोडेर मृतक नगरकोटी र छोराछोरी विभिन्न ठाउँमा बस्दै आएका थिए । प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले मृतकका छोराछोरी नै मानसिक रूपमा स्वस्थ्य नभएको पनि जानकारी दिनुभयो । झण्डै डेढ दशकदेखि आफ्नै ट्याक्सी चलाउँदै आएका नगरकोटी परिवार किन घर छोडेर ट्क्यासीमा नै बस्दै आएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

मंगलबार बिहान १० बजे सेतो पुलनजिक ट्याक्सी बिग्रिएकाले मिस्त्री बोलाई ल्याउँछु भनेर छोरी रश्मिलाई त्यही स्थानमा छाडी छोरा रिचेनलाई लिएर हिँडेका नगरकोटी मंगलबार बिहान मृत अवस्थामा भेटिएको र छोरा सोमबार घाइते अवस्थामा भेटिनुले केही न केही रहस्य रहेको प्रहरीले आशंका गरेको छ ।

छोरा रिचेनले प्रहरीलाई दिएको बयानमा परिवारिक अवस्था, गरिबीलगायतले जिन्दगीबाट दिक्क लागी छोरा समेतलाई आत्महत्याको लागि मुखमा कपडा राखी ब्लेडले घाँटी काट्ने तरिका सिकाएर २ वटा ब्लेड र १ सय २५ रुपियाँ गाडी भाडासमेत दिई दक्षिणकाली नगरपालिका– १ जंगलमा गई आत्महत्या गर्नु म पनि कुनै स्थानमा गई आत्महत्या गर्छु भन्ने उल्लेख गरिएको छ।

रिचेनको घाँटीको बायाँपट्टि ब्लेडले ७–८ सेन्टिमिटर लामोे काटिएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । कृष्णको दाहिने हातको बूढीऔंला र चोरऔंलामा ब्लेडले काटेको पाइएको छ। घटनास्थलमा कृष्ण नगरकोटीको शव नजिक ४ वटा ब्लेड र घाइते रिचेन नगरकोटीको साथबाट २ वटा जिलेट ब्लेड फेला पर्नुले पनि छोराले दिएको बयान मेल खाएको देखिएको छ।

यस विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरीले बा१ज ९६५ नम्बरको ट्याक्सी र छोरी रश्मिलाई खोजी गर्ने क्रममा सेतोपुलनजिकै फेला परेको पनि जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्