बाथरुममा नै किन धेरै हुन्छ मस्तिष्कघात ?



लक्ष्मण अधिकारी

तपाईंले चिनेजानेका मानिस वा आफन्त बाथरुममा नै मस्तिष्कघात भएको, हृदयघात भएको र कतिपयलाई प्यारालाईसिस भएको वा कतिपयको जीवन नै समाप्त भएको त पक्कै सुन्नु भएको छ, तर किन यसो हुन्छ ? तपाईं आफैँ यसको खतराभित्र त हुनुहुन्न ? कहिले विचार गर्नु भएको छ ?

अमेरिकन नेसनल लाइब्रेरी अफ मेडिसिनले तीनवटा अस्पतालमा आएका मस्तिष्कघातका करिब १२ सय बिरामीमा गरेको अध्ययनअनुसार करिब ३३ प्रतिशत मस्तिष्कघात बिहान ३ देखि ६ बजेको बिचमा भएको पाइएको थियो। विश्वमै मानिसको मृत्युको दोस्रो वा तेस्रो कारणका रूपमा मस्तिष्कघात अर्थात् ‘ब्रेन स्ट्रोक’ रहने गरेको छ। यो घातक रोगको आक्रमण बिहान बाथरुममा गएका बेला वा त्यसको आसपासको समयमा नै किन बढी हुन्छ त ?

नेपाल मेडिसिटी अस्पताल न्युरोलोजी विभाग प्रमुख वरिष्ठ न्युरोलोजिस्ट डा. बाबुराम पोखरेल भन्नुहुन्छ– ‘सुतेर उठ्दा बिहानीको समयमा हाम्रो शारीरिक प्रणालीमा धेरै परिवर्तन भएका हुन्छन्। यो समयमा शरीरमा हुने हर्मोनल एवं रसायनिक परिवर्तनका कारण रक्तचाप, मुटुको चालमा अनियमितता वा गडबडी भएको हुन्छ। साथै बाथरुममा पनि मुटुको चाल र रक्तचापको चालमा परिवर्तन हुन्छ। अर्थात् अन्य नियमित समयमा भन्दा अलि गडबढी हुन्छ। त्यसकारण मस्तिष्कघात पनि सो समयमा हुने सम्भावना धेरै हुन्छ।’
डा. पोखरेलका अनुसार बाथरुममा बसेका बेला शौचका लागि धेरै बल गर्ने गर्दा मुटुको चाल र रक्तचापको चालमा गडबढी आउँछ । सामान्यतया यो आफैँ ठीक हुन्छ तर जसलाई उच्च रक्तचाप, डायबिटिज, कोलेस्ट्रोल, मुटुसम्बन्धी रोगहरू, मुटुबाट मस्तिष्कमा रगत जाने नसामा आउने परिवर्तन वा अवरोध (करोटिड डिजिज) जस्ता समस्या छन् र धूमपान गर्ने आदत छ भने उनीहरूलाई यस अवस्थामा मस्तिष्कघातको समस्या हुने सम्भावना अधिक हुन्छ ।

यसका साथै बिहान नुहाउँदा धेरै चिसो पानी शरीरमा पर्दा रक्तचाप बढ्न सक्छ र मस्तिष्कघातको सम्भावना बढ्छ। धेरै तातो पानीले नुहाउँदा पनि रक्तचाप घट्न सक्छ र पहिले नै ‘करोटिड डिजिज’ भएको व्यक्तिलाई आवश्यक मात्रामा रगत मस्तिष्कमा नपुग्न सक्छ र मस्तिष्कघात हुनसक्छ । त्यसैले धेरै तातो पनि होइन, धेरै चिसो पनि होइन मन तातो पानीले नुहाउनु ठीक हो। त्यसमा पनि उच्च रक्तचाप, डायबिटिज, हाइ कोलेस्ट्रोललगायत अन्य मुटुरोगसम्बन्धी समस्या भएकाहरूले विशेष ध्यान पुर्‍याउनुपर्छ ।

वृद्धावस्थाका मानिसलाई मस्तिष्कघात बढी हुन्छ भन्ने मान्यता भएकोमा जीवनशैली परिवर्तन लगायतका कारणले पछिल्लो समय कम उमेरका मानिसमा पनि यो समस्या वृद्धि भएको पाइएको छ। युवाहरूमा हुने मस्तिष्कघात सम्बन्धमा पछिल्लो अध्ययनअनुसार ४५ वर्षभन्दा कम उमेरका मानिसको मस्तिष्कघातको प्रमुख कारण धूमपान र उच्च रक्तचाप रहेको पाइएको छ, जसलाई चाहेमा रोक्न वा उपचार गर्न सकिन्छ।

मस्तिष्कघात शब्द जति प्रचलित र सुन्दा सहज छ यसको आघातमा परेपछि यसबाट जीवन बचाउन वा उम्किन त्यत्तिकै जटिल र खर्चिलो पनि छ। डा. पोखरेल भन्नुहुन्छ– ‘मस्तिष्कघात भएको चार घण्टाभित्र अस्पताल पुर्‍याउन सकेमा उसको जीवन बचाउन र प्यारालाइसिस हुनबाट बचाउन सकिने सम्भावना धेरै हुन्छ। यसरी उपचार गर्दा कम्तीमा तीन महिनासम्ममा ३३ देखि ४० प्रतिशत बिरामी आफैँ आत्मनिर्भर भएर हिँड्न सक्ने सम्भावना धेरै नै हुन्छ। जति ढिलो भयो उपचारको प्रभावकारिता कम हुँदै जान्छ । एक मिनेट उपचार ढिलो हुँदा पनि मस्तिष्कका लाखांै न्युरोनहरू नष्ट हुँदै जाने भएकाले समयको धेरै नै महत्व छ।’

किन हुन्छ मस्तिष्कघात ?

डा. पोखरेलका अनुसार ८५ प्रतिशत जति मस्तिष्कघात मस्तिष्कमा रगतको सञ्चालनमा कमी (स्किमिक स्ट्रोक) भएर हुन्छ भने १५ प्रतिशत चाहिँ रगतको नसा फुटेर (हेमोरजिक स्ट्रोक) हुन्छ ।

यसमध्ये उमेर बढ्दै गएका कारण हुने (पुरुषमा बढी) र वंशानुगत गुणलाई परिवर्तन गर्न सकिन्न । तर, उच्च रक्तचाप, डायबिटिज, कोलेस्ट्रोल, मुटुसम्बन्धी रोगहरू, करोटिड डिजिजजस्ता मस्तिष्कघातका अधिकांश कारणलाई रोक्न सकिने भएकाले हाम्रो समाजको ध्यान त्यतातिर जान जरुरी छ।

यसको प्रमुख कारक धूमपानलाई रोक्न सकिन्छ र रोक्नै पनि पर्छ। मदिराले चाहिँ मुटुको चाल र रक्तचापलाई गडबड गरेर मस्तिष्कघातको कारण र नकारात्मक प्रभाव बढाउन सक्छ। नियमित व्यायाम गर्नु र शरीरको तौल ठिक राख्नु पनि लाभदायक हुन्छ ।

कसरी चिन्ने मस्तिष्कघात?

केही कुरामा ध्यान दिएमा मस्तिष्कघातलाई बेलैमा चिन्न सकिन्छ। डा. पोखरेलका अनुसार ‘अचानक शरीरको सन्तुलनमा गडबढी भयो, राम्ररी आँखा देखिएन, अनुहार बाङ्गियो, हात सीधा राख्न खोज्दा बसेन वा लत्रियो र बोली लरबरियो भने त्यसलाई मस्तिष्कघात भयो भनेर बुझ्नुपर्छ र सकेसम्म छिटो अस्पताल लानुपर्छ । यस्ता लक्षण देखिएको चार घण्टाभित्रमा अस्पतला लगेर उपचार शुरू गर्न सकेमा एक्युट न्युरोलोजिकल ट्रिटमेन्ट गर्न शुरू गरिन्छ ।’

मस्तिष्कघातलगायतका न्युरोलोजिकल समस्याहरूको सम्बोधन गर्न मेडिसिटी अस्पतालले छिट्टै नै कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर सञ्चालन गर्ने तयारी गरिरहेको र यसअन्तर्गत विश्वका ९९ देशले अवलम्बन गरिरहेको मार्गदर्शनलाई पनि अवलम्बन गर्ने तयारी भएको डा. पोखरेलले जानकारी दिनुभयो । यो सेन्टरमा मस्तिष्कघात भएका बिरामीलाई दिइने उपचारको कम्प्लिट प्याकेज दिने लक्ष्य रहेको छ।

विभिन्न अध्ययनअनुसार विश्वमा वर्षेनी एक करोड ५० लाख मानिसलाई मस्तिष्कघात हुन्छ भने त्यसमध्ये ५० लाख जतिको उपचारकै क्रममा मृत्यु हुन्छ, करिब ५० लाख बिरामीलाई अपाङ्गता हुन्छ भने ५० लाख बिरामीले मात्र उपचारपछि गुणस्तरीय जीवन जिउन सक्छन्।

प्रतिक्रिया दिनुहोस्