रथमै युवाबीच कुटाकुट, स्थानीयद्वारा चिन्ता प्रकट



काठमाडौं ।

सेतो मच्छिन्द्रनाथ (जनबहाःद्य) को रथमा मंगलबार केही युवाबीच कुटाकुट भएको घटनालाई लिएर धेरैले चिन्ता प्रकट गरेका छन्।

जमलबाट सेतो मच्छिन्द्रनाथको रथ तानेर असन पुर्‍याइएको केही बेरपछि सो घटना भएको हो। घटनामा संलग्न छ युवालाई प्रहरीले त्यतिबेलै नियन्त्रणमा लिएको थियो । सो घटना बुधबार सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो।

सामाजिक सञ्जालबाट त्यसबारे धेरैले थाहा पाएपछि धेरैले टिकाटिप्पणी गरेका थिए । रथमा केही युवाबीच आफूआफूमा भएको झगडाले त्यहाँको सुरक्षा व्यवस्थापन, स्वयंसेवकहरूको भूमिकालाई प्रश्न उठाउँदै त्यसले शान्तिपूर्ण र सौहार्द वातावरणमा सम्पन्न भएको रथयात्रामा नकारात्मक सन्देश प्रवाह गर्न सहयोग गरेको भन्दै त्यस्ता घटना दोहोरिन नदिन सचेत गराएका थिए ।

जनबहाःद्यः जात्रा समारोह समितिका अनुसार रथयात्रा सम्पन्न भएको आधा घण्टापछि सो घटना भएको छ। त्यति बेलासम्म रथयात्रासँग सम्बन्धित स्वयंसेवक र सुरक्षा उपसमितिका सदस्यहरू त्यहाँबाट गइसकेका थिए। यस घटनाबाट सिकेर अब रथमा २४ घण्टा प्रहरी तैनाथ गरिने पनि समितिले जनाएको छ । साथै रथमा रथसँग असम्बन्धित मानिसहरूलाई चढ्न नदिने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्