चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ प्रतिवेदन : कारबाही सिफारिस गरेकामाथि छानबिन गर्न अख्तियारलाई पत्र



काठमाडौं ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा कारबाही सिफारिस भएकाहरुमाथि छानबिन गरी आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने निर्णय गरेको छ।

यसअघिका सरकारले ६ वर्षदेखि गोप्य राखिएको विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन शिक्षा मन्त्रालयले २८ चैतमा सार्वजनिक गरेको थियो। प्रतिवेदनमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थ खनियाँ, हीराबहादुर महर्जनसहित झण्डै चार दर्जनलाई विभिन्न कारबाही सिफारिस गरिएको थियो।

शिक्षा मन्त्रालय स्रोतका अनुसार मन्त्री सुमना श्रेष्ठले सो प्रतिवेदनमा दोषी ठहरिएकालाई कारबाही गर्न अख्तियारमा पठाउने मन्त्रिस्तरिय निर्णय सोमबा गर्नुभएको हो। आयोगले दोषी ठहराएका र मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने अन्यको हकमा मन्त्रालयबाट विभागीय कारबाही गर्ने निर्णयसमेत भएको बताइएको छ।

कारबाही सिफारिसमा परेका त्रिभुवन विश्वविद्यालयका कानुनी सल्लाहकार अधिवक्ता नारायण खनाललगायतलाई भने विश्वविद्यालयबाट कारबाही अघि बढाइने मन्त्री श्रेष्ठको सचिवालयले स्रोतले जनाएको छ।

जाँचबुझ आयोगले विश्वविद्यालयका मापदण्ड नपुगेको विराट र देवदह मेडिकल कलेजलाई सम्बन्धन दिन भूमिका खेलेको आरोपमा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकाजुलाई पनि कारबाही सिफारिस गरेको थियो। त्रिभुवन विश्वविद्यालयको विज्ञान संकायका डीन रामप्रसाद खतिवडा, राजेन्द्र पौडेल र हरि पराजुलीलाई विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यबाट हटाउनसमेत आयोगले सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्