पाँच सचिवको सरुवा, सामान्य प्रशासनमा निरौला



काठमाडौं ।

सरकारले विभिन्न मन्त्रालय र निकायका पाँच जना सचिवको सरुवा गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपराष्ट्रपति कार्यालयका मुकुन्द निरौलालाई लैजाने निर्णय गरेको छ।

निरौला निजामती क्षेत्रमा समन्वय गर्न र कर्मचारी व्यवस्थापन गर्न विशेष कौशल राख्ने सचिवको रूपमा चिनिन्छन्। केन्द्रीय कर्मचारी निकाय(सीपीए) को रूपमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निरौलाले प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने विश्वास गरिएको छ । यसअघि निरौलाले उद्योग सचिवको भूमिकासमेत निर्वाह गरिसकेका छन् ।

यसै गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहको भने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालका सचिव दिनेश भट्टराईलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सरुवा गरिएको छ भने सोही मन्त्रालयका सचिव सुमनराज अर्याललाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ। यसै गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्जुन पोखरेललाई राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् स्रोतका अनुसार रिक्त रहेका वागमती प्रदेश, उपराष्ट्रपति कार्यालयमा भने सचिवविहीन अवस्थामा रहेका छन्। यसै गरी सरकारले मधेस प्रदेश र कोशी प्रदेशमा पनि कन्फर्म सचिव पठाउन सकेको छैन । ती दुवै निकायमा कामु सचिव रहेका छन्।

प्रतिक्रिया दिनुहोस्