घर नक्सा पास गराउन घुस लिने पोखरा महानगरका इन्जिनियर पक्राउ



पोखरा ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले पोखरा महानगरपालिकाका सब इन्जिनियरलाई घुससहित पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१० का एक सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ परेका हुन्।

अदुअआले इन्जिनियर उषा किरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई एक लाख ५० हजार रुपियाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको हो। पोखरा महानगरपालिकाको घर नक्सा फाँटमा कार्यरत सब–इन्जिनियर उषा किरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउनका लागि डेढलाख रुपियाँ मागेका थिए। सेवाग्राहीले आफूसँग घुस मागेपछि उजुरी दिएका थिए।

सब इन्जिनियर उषा किरण रोकायालाई पोखरा–५ मालेपाटन र कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई पोखरा–४ महेन्द्रपुलस्थित सेल्वेजबाट पक्राउ गरेको अदुअआका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो।

अदुअआ प्रमुख आस्मान तामाङले दुवै जनालाई काठमाडौं लैजाने तयारी गरेको जानकारी दिनुभयो । ‘हामीले यहाँ कारबाही गर्न मिल्दैन । काठमाडौं लैजाने हो’ उहाँले भन्नुभयो, ‘आज मौसम राम्रो भएमा काठमाडौं पुर्‍याउनेछौं।’

प्रतिक्रिया दिनुहोस्