एसीसी प्रिमियर कपमा आज मलेसियाको सामना गर्दै नेपाल



काठमाडौं ।

एसियाली क्रिकेट परिषद (एसीसी) प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो खेलमा आज मलेसियाको सामना गर्दै छ।   यो खेल नेपाली समय अनुसार आज दिउँसो सवा ४ बजेदेखि हुँदै छ।

ओमानमा आजदेखि सुरु हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एसिया कपमा खेल्ने मौका पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छन्।

एसीसी प्रिमियर कपमा ८ उच्च वरियतामा रेहका एसोसियट्स देश र एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका दुई देश खेल्दै छन् । जसमा उच्च वरियताका ८ देशमा नेपाल, युएई, ओमान, हङकङ, मलेसिया, कुवेत, बहराइन, कतार रहेका छन् भने एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका साउदी अरेबिया र कम्बोडिया रहेका छन्।

प्रिमियर कपमा नेपाल समुह ‘ए’ मा रहेको छ। समुह ‘ए’मा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेका छन्। त्यस्तै समुह बी मा बहराइन, युएई, कम्बोडिया, कुवेत र ओमान रहेका छन्।

नेपालले आफ्नो दोस्रो खेल अप्रिल १३ (शनिबार) कतारसँग खेल्ने छ। त्यस्तै तेस्रो खेल अप्रिल १५ (सोमबार) हङकङसँग खेल्ने छ भने चौथो तथा अन्तिम खेल अप्रिल १७ (बुधबार) साउदी अरेबियासँग खेल्ने छ। समूहको शीर्ष २ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। सेमिफाइनलका खेलहरु वैशाख ७ गते हुनेछ। फाइनल खेल वैशाख ९ गते हुने छ।

प्रतिक्रिया दिनुहोस्