विद्युत् निर्यातसँगै खपत पनि महत्वपूर्ण



काठमाडौं ।

नेपालमा अपार जलस्रोत र त्यसबाट हजारौं मेगावाट विद्युत्को व्यावसायिक उत्पादन गर्न सकिने सम्भावनाका विषयमा चर्चा हुन थालेको धेरै वर्ष भयो। चार–पाँच वर्षअगाडिसम्म विद्युत् अभावमा दैनिक १९ घण्टासम्म लोडसेडिङको चपेटामा बसेका शहरवासी नेपाली र बिजुलीको पहुँच नपुगेका ग्रामीण भेगका जनताका लागि यो कुरा व्यङ्गजस्तै लाग्थ्यो।

त्यति बेला विद्युत् बिक्री गरेर देश धनी हुन्छ, वैदेशिक व्यापार घाटाको ग्राफ कम गर्न सकिन्छ, अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ भन्ने विषयमा चर्चा हुँदा कसैले सपनाका कुरा गरेजस्तै लाग्थ्यो। तर, प्रकारन्तरले त्यो सपनालाई बिस्तारै यथार्थमा परिणत गर्न लागेको अवस्था छ।

विशेष गरी लोडसेडिङको अन्त्यपछि विद्युत् निर्यातको विषयले प्राथमिकता पाउँदै गरेको छ। हिउँदको केही समयबाहेक अन्य समयमा नेपालमा उत्पादित विद्युत्ले आन्तरिक मागको व्यवस्थापन गरेर केही अंश भारतमा बिक्री हुन थालेको छ।

पछिल्लो तथ्यांकअनुसार नेपालले भारतलाई वार्षिक करिब १५ अर्ब रुपियाँबराबरको विद्युत् बिक्री गर्दै आएको छ। नेपालले भारतबाहेक तेस्रो मुलुकमा पनि विद्युत् निर्यात गर्ने नीतिलाई अगाडि सारेको अवस्थामा भर्खरै नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)बीचको विद्युत् खरिद बिक्री वार्ता सकारात्मकरुपमा अगाडि बढेको छ।

यसअघि पनि नेपाल र बंगलादेशबीच पावर ट्रेड एग्रिमेन्टलगायतका विषयमा सहमति भइसकेको स्थितिमा आगामी वर्षायामबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी जतिसक्दो छिटो विद्युत् बिक्री गर्न दुई संस्थाको सहमतिले नेपाली बिजुलीले बंगलादेशको मागलाई सम्बोधन गर्नेमा आशावादी हुन सकिन्छ।

प्राधिकरणले हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म वर्षायामका ६ महिनामा ४० मेगावाटसम्म विद्युत् निर्यातको बंगलादेशसमक्ष प्रस्ताव पठाएको छ । विद्युत् बिक्री सम्झौता पाँच वर्षको गर्न लागिएको छ। नेपालको ढल्केबर–मुजफरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर–भेरामारा प्रसारण लाइनबाट विद्युत् निर्यात गर्ने गरी सम्झौता हुनेछ।

निश्चय पनि वैदेशिक मुद्राको आम्दानी र व्यापार घाटा न्यूनीकरणलगायतका दृष्टिकोणबाट भारतलगायत तेस्रो मुलुकमा विद्युत् निर्यात हुनु सकारात्मक पक्ष हो । तर, यससँगै आन्तरिक मागको सम्बोधन कति भएको छ भन्ने कुरालाई पनि नेपालले बुझ्नुपर्छ।

हुन त अहिले नेपालमा ९८ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच रहेको भन्ने तथ्यांक छ। तर, त्यो तथ्यांकअनुसार विद्युत्को उपयोग गरिरहेका जनताले दिगो, भरपर्दो विद्युत् कति प्रयोग गरिरहेका छन् ? नेपालको औसत विद्युत् खपतको अवस्था के छ भन्ने विषयलाई पनि सरकारले गम्भीरतापूवर्क लिन जरुरी छ।

शतप्रतिशत जनतालाई दिगो र गुणस्तरीय विद्युत् पु¥याउने अनि उनीहरूलाई अन्य देशको तुलनामा खपत बढाउने विषय पनि साथै लैजान जरुरी छ।

आर्थिक वृद्धि, मानव विकास सूचकाङ्कलगायतका सूचकका निम्ति यो विषय अत्यन्तै महत्वपूर्ण हुने भएकाले निर्यातलाई मात्रै होइन, आन्तरिक खपत बढाउने र गुणस्तरीय विद्युत् आपूर्तिको व्यवस्था मिलाउनेतर्फ पनि नेपाल विद्युत् प्राधिकरण र सरकारको समेत ध्यान जानुपर्छ।

निर्यात सकारात्मक पक्ष हुँदाहुँदै पनि आन्तरिक खपतका आयामलाई पनि बिर्सन हुँदैन।

प्रतिक्रिया दिनुहोस्