लोकतन्त्र सिध्याउने कि बचाउने



काठमाडौं ।

आज फागुन ७ गते प्रजातन्त्र दिवस देशैभर मनाइँदै छ । २००७ सालको क्रान्ति सफल भएर १ सय ४ वर्षे लामो निरङ्कुश जहानियाँ राणा शासन अन्त्य भएको सम्झनामा हरेक वर्ष मनाइन्छ।

त्यही कारण नेपालीले यो दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ का रूपमा मान्ने गरेका छन् । राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’हरूकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ छाएको थियो।

जनताले सही पार्टी र नेतालाई चिनेर भोट नहालेका कारण लोकतन्त्र कमजोर हुँदैछ । राजनीतिक दलका विभिन्न काण्डहरू आइरहेका छन्।

जनताले परीक्षण भइसकेका दल र नेतालाई बारम्बार नेतृत्वमा पठाउँदा नेपालीको जनस्तर माथि उठ्न सकेको छैन । देशमा वैदेशिक ऋण चुलिँदै छ । देश युवाविहीनको हुँदै छ।

धनी झन् धनी हुँदै छन् भने गरिब झनै गरिब हुँदैछन् । लोकतन्त्र सही व्यवस्था भए पनि यसलाई चलाउने सारथीको बेइमानीका कारण गलत हो भन्ने भाष्य निर्माण भइरहेको छ। विश्व बदलिइसकेको छ। प्रविधिले फड्को मारेको छ।

विश्वले नेतृत्व क्षमतावान चुन्दा नेपालीले कमजोर र कुनै काम गर्न नसक्ने तथा कहीँ नबिकेका नेता चुन्नुपर्ने वाध्यता दलहरूले सिर्जना भराइरहेका छन्।

यो दल तन्नेरीभन्दा बुढा बुढा नेतृत्वप्रति आकर्षित देखिन्छ । यो विश्व परिवेशअनुसार सही होइन । देशलाई सही निकास निदे व्यक्ति देशले खोजेको छ।

चोरले चोरलाई साथ दिन्छ धनीले धनलाई साथ दिन्छ, गरिबले गरिबलाई साथ दिन्छ, दुष्टले दुष्टलाई साथ दिन्छ, स्वार्थीले स्वार्थीलाई साथ दिन्छ, झुठाहाले झुठलाई साथ दिन्छ र सत्य मानिसले मात्रै सत्यलाई साथ दिन्छ भन्ने विषय लोकतन्त्रमा मिल्दोजुल्दो भइरहेको छ ।

दलहरू देश र जनताका लागिभन्दा पनि शक्ति, पद र प्रतिष्ठाका लागि रस्साकस्सी गरिरहेका छन् । शक्ति प्रदर्शन गर्ने र पदमा को पुग्नेमा अल्झिएर राष्ट्रिय हितको मुद्दा ओझेलमा पारेका छन्।

दलहरू आ–आफ्नो दलीय शक्ति बलियो बनाउन २०८४ मा आउने चुनावका लागि कसरत गरिरहेका छन्। जनतालाई आफूतिर तान्ने र संगठित गर्ने अभियानमा सबै दलहरू देखिरहेका छन्।

दलहरूले जनतालाई शिक्षा, स्वास्थ्य र रोजगारी निःशुल्क, सहज, समान बनाउनुपर्ने आजको आवश्यकता छ । तर, दलहरू यति हुँदाहुँदै पनि आफू र आफन्तलाई कसरी धनी बनाउने भन्ने योजना बनाउनमै व्यस्त छन् ।

दलहरूले सत्तामा जाने र शासन गर्ने तीन दल हुन् भन्ने थाहा हुँदा पनि चुनावको नाटक गर्नु स्वाभाविकै हो । सिंगो मुलुकको सामाजिक, आर्थिक स्थितिमा सुधार गर्नु अहिलेको टड्कारो आवश्यकता हो । मुलुकको नेतृत्व राजनीतिबाट हुने भएकाले यस विषयमा दलहरूले गम्भीर चासो दिनु जरुरी छ।

दलहरू दलगत स्वार्थमा अल्झिनुको साटो राष्ट्रिय स्वार्थमा केन्द्रित बन्नुपर्छ । राजनीतिक दलहरूले जनतालाई व्यापक सपना बाँडेर चुनाव जितेर सत्तामा पुग्ने र सत्तामा पुगिसकेपछि कार्यान्वयनमा शून्य पहल देखिएको छ । दलहरूले जनतालाई प्रयोग गर्ने माध्यम मात्र बनाइरहेका छन्।

यो लोकतन्त्रमा प्राप्त गरिएको अधिकारको गलत उपभोग हो। ललिता निवास काण्ड, गिरीवन्धु टि स्टेटलगायत थुप्रै भ्रष्टाचार काण्डमा प्रत्यक्ष राजनीतिक दलको संलग्नता देखिँदा पनि कारबाही नहुने वातावरण सिर्जनाले जनताहरू निराश छन्। कानुन बनाउनेलाई कारबाही नहुने मुलुक नेपाल बन्दै गइरहेको छ।

लोकतन्त्रको आधारभूत पक्ष भनेकै जनादेशको सम्मान गर्नु हो । जनभावनालाई संस्थागत गर्न नसक्दा लोकतन्त्र कमजोर हुन्छ । नेपालका राजनीतिक दल र तिनका नेतृत्वले विगतमा गरेका गल्तीलाई सच्याएर आगामी दिनमा देशलाई गति दिन सक्यो भने राजनीतिक दलप्रति आम जनताको सदैव समर्थन रहन्छ।

अहिले नेपालका नेपाली कांग्रेस, एमाले, माओवादी भन्ने दल नाम फरक भए पनि गलत कर्मका लागि मिलेर अगाडि बढ्छन् भन्ने विषय सही सावित भइरहेको छ।

नयाँ आएका पार्टीलाई तीन दलले अगाडि बढ्न पनि नदिने र आफूले पनि केही नगर्ने परिपाटी बन्द नभएसम्म देश अधोगतितिर जाने निश्चित छ।

प्रतिक्रिया दिनुहोस्