विदेशी विनिमय सञ्चितिको संकेत



काठमाडौं ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च रहेको देखिएको छ।

चालू आर्थिक वर्षको पहिलो छ महिनासम्म १८ खर्ब १६ अर्ब ५७ करोड रुपियाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ।

विदेशी मुद्रा सञ्चितिले चालू आर्थिक वर्षको छ महिनाको आयात निर्यातको स्थितिलाई हेर्दा एक वर्षभन्दा बढी समयसम्मको वस्तु तथा सेवाको आयातलाई धान्न सक्ने सामथ्र्य रहेको राष्ट्र बैंकको अनुमान छ ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार आर्थिक वर्षको शुरूमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति हाल कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा गत असार मसान्तसम्म १३ खर्ब ४५ अर्ब ७८ करोडमा १८ दशमलव नौ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ करोड पुगेको छ।

राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग ११ दशमलव ८ प्रतिशतले वृद्घि भई २ खर्ब १६ अर्ब ३५ करोड रुपियाँ रहेको छ। कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव ५ प्रतिशत छ।

नेपालमा विदेशी मुद्रा आर्जनको मुख्य स्रोत रेमिट्यान्स र पर्यटन हो। पछिल्ला केही वर्षदेखि नेपालमा दुवै स्रोतको सम्भावना बढेर गएको देखिएको छ । कोभिड संक्रमणका बेला सुस्ताएका दुवै क्षेत्र कोभिडको असर कम भएसँगै सुधार हुँदै गएका छन्।

चालु आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेर ७ खर्ब ३३ अर्ब २२ करोड रुपियाँ पुगेको विषयले पनि सो कुराको पुष्टि गरेको छ। साथै, सन् २०२४ को जनवरी महिनामा करिब एक लाख पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक पर्यटन बोर्डले सार्वजनिक गरेको थियो।

वैदेशिक रोजगारीमा जाने व्यक्तिको संख्यामा पनि वृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिनेको संख्या पछिल्लो छ महिनामा २ लाख ७ हजार ९ सय ७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४ सय ३५ रहेको छ।

उल्लिखित विषयबाहेक विदेशी मुद्राको सञ्चिति वृद्धि हुनुमा आयात घटेका कारण पनि हो। सरकारले आयातमा कडाइ गर्ने नीतिका कारण ठूलो परिणाममा विदेशी मुद्राको बचत भएको हो।

दुई वर्षअघिको विदेशी विनिमय सञ्चितिको अवस्था घटेर संकटको सूचीमा पुगेको थियो । सरकारले विलासिताका वस्तुको आयातमा कडाइ गरेपछि क्रमशः सुधार हुँदै गएको हो।

सरकारले विदेशी विनिमय सञ्चितिलाई जोगाउनका निम्ति आयातमा कडाइ गर्दा भन्सार राजस्वको असुली न्यून भएको छ। आयातमुखी नेपालको अर्थतन्त्रमा आयात रोकिँदा भन्सार कम हुने र राजस्व प्रभावित भई सरकारी खर्चलाई ऋण लिनुपर्ने स्थिति छ।

अहिले नेपालको अर्थतन्त्रमा विदेशी विनिमय सञ्चितिको स्थिति उच्च भयो भनेर खुशी मनाउने कि भन्सार राजस्व कम भयो भनेर दुःख देखाउने विलखबन्दको स्थितिम रहेको छ।

भन्सार कम उठे पनि विदेशी विनिमय सञ्चिति बढ्नु सकारात्मक पक्ष हो। राज्यसँग पर्याप्त विदेशी विनिमय सञ्चिति भए भोलिका दिनमा उत्पादनमा आत्मर्निभर नभएको नेपालजस्तो देशसँग अत्यावश्यक वस्तु तथा सेवा खरिद गर्न सक्ने सामर्थ्य हुन्छ।

जहाँसम्म भन्सार राजस्वको विषय यसका निम्ति आन्तरिक उत्पादन वृद्धि गरेर निर्यात बढाउन सकियो भने त्यसबाट पूर्ति गर्न सम्भव छ। तसर्थ, विदेशी विनिमय सञ्चितिले नेपालको अर्थतन्त्रमा सकारात्मक सन्देश देखाएको छ।

प्रतिक्रिया दिनुहोस्