संगीत क्षेत्रको जातीय विभेदबारे छलफल



काठमाडौं ।

पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको एघारौं संस्करणअन्तर्गत संगीतको जातशास्त्र सत्रमा नेपाली संगीत क्षेत्रमा जातका आधारमा हु“दै आएका विभेदका विषयमा छलफल भएको छ।

लोक गायक बद्री पंगेनी, डिक्रा बादी र दिलीप गायक वक्ता रहेको सत्रमा गायिका डिक्राले आफैँ सिकेर नाच्ने गाउने गर्दा पनि आफ्नो समुदाय सधैँ हेपिइरहनुपरेको सुनाइन्।

‘हामी जग्गा जमिन नभएको हुनाले अरूमा भर पर्नुपर्ने अवस्था थियो। जिजुबाजेको पालादेखि नै नाचगान गरेर मागेर खान्थ्यौं। हाम्रो कलाको सम्मान हुने कुरा त परै जाओस् गाउने र नाच्ने भनेरै सधैं हेपिइनुपर्‍यो’ त्यही हेपाइ सहन नसकेर पुस्तौंदेखि चल्दै आएको संस्कृति मासिन लागेको जनाउँदै उनले थपिन्, ‘मैले गाएँ, एल्बम निकालें। त्यसैबाट परिवार चलाउन सकें, छोराछोरी पढाउन सकें। तर, अहिलेको पुस्ता रोजगारीका लागि इन्डियातिर जाने गर्छ। सिमान्तकृत समुदायको कलाकार भएर बाँच्न अझै पनि सहज छैन।’

त्यस्तै, नियति लामो इतिहास बोको गन्धर्भ समुदायले पनि भोग्न बाध्य भएको दिलीपले सुनाए। ‘सारंगी बजाएकाले मागिखाने भन्न थालेपछि ८० प्रतिशतले सारंगी बजाउन छोड्नुभयो,’ उनले भने, ‘सबैले मागिखाने भन्दा भन्दै किन सारंगी बजाउने? बरु अरू काम गरौं भनेर अरू जागिर खोज्न थाल्नुभयो। जसले गर्दा सारंगी नै लोप हुने अवस्थामा पुग्यो।’

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसमेत रहेका दिलीप हाल आफूहरूले नै स्थापना गरेको संस्था झलकमान सारंगी पाठशालामार्फत् सारंगीको पुस्तान्तरण तथा करखा, तरबारनाचजस्ता गन्धर्भका सांस्कृतिक गायन तथा नृत्यको संरक्षण अभियानमा लागेका छन्।

लोकप्रिय लाके गायक बद्री पंगेनीले केही समय अघिसम्म दोहोरी साँझमा समेत जात सोधेर मात्रै काम दिइने चलन रहेको अनुभव सुनाए।

गाउने पेसाकै कारण आफैँ अभद्र व्यवहार भोग्नुपरेको अनुभव सुनाउँदै धेरै दलित समुदायका कलाकारले आफ्नो थर नै फेर्न बाध्य भएको पनि उनले जनाए। त्यस्ता विभेदको प्रत्यक्षदर्शी म पनि हो। मैले धेरै विभेदविरुद्ध गीत पनि गाएको छु। अहिले बिस्तारै कम हुँदैछ तर हटिसकेको छैन। त्यसका लागि हामीले प्रश्न सोध्नुपर्छ, अधिकार खोज्नुपर्छ। जातिय, लैंगिक, वर्गीय जस्तै संगीतमा पनि विभेद हुने गरेको र त्यसलाई निर्मूल पार्न सबै कलाकारले सामूहिक रूपमा काम गर्नुपर्छ’ उनले भने।

प्रतिक्रिया दिनुहोस्