कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाकै पहिचान खुल्यो



चन्द्रौटा ।

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाकै पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही- ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना, कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान, कञ्चनपुरको भिमदत्त नगरपालिका- १ का २७ वर्षीय राहुलराम कामी, भीमदत्त–४ का २४ वर्षीय उमेश भण्डारी, भीमदत्त– १६ का सञ्जु थापा, पुनर्वास नगरपालिकाका किसन भट्ट रहेका छन्।

यसैगरी त्यस्तै भीमदत्त नगरपालिका निवासी खगेश्वरी खाती, भीमदत्त– २ का सुदीप भट्ट र पुनर्वास –९ का बिसफाटा विमलादेवी भट्टको पहिचान खुलेको छ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको सडकबाट दुई सय मिटर तल खसेको थियो।

कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये ९ जनालाई बुटवल रिफर गरिएको छ। अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्