दिलीपको हत्या आशंकामा ४ जना प्रहरीको नियन्त्रणमा



काठमाडौँ।

गोठाटारमा मृत भेटिएका ३३ बर्षीय दिलिप कट्टेलको घट्नामा सम्लग्न भएको आशंकामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।

दूध व्यवसाय गर्ने मृतक कट्टेलले प्रयोग गरेको साईकल झाडीमा फालिएको अवस्थामा भेटिएपछि उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा घनश्याम धमला,राम कटवाल,बिदुर धमला र डेकराज सुवेदी छन् । उनीहरु मध्य घनश्यामले साईकल आफूले फालेको स्वीकार गरेको प्रहरी वृत्त बानेश्वरका डियसपी शिवराज बुढाथोकीले जानकारी दिए ।

आफ्नो फार्ममा उत्पादित दूध बेचेर फर्किनेक्रममा सम्पर्कविहीन भएका कट्टेललाई बिहीवार मध्यरात प्रहरीले बेहोस अवस्थामा उद्दार गरेको थियो । उपचारका लागि वीर हस्पिटल भर्ना गरिएका कट्टेललाई शुक्रबार बिहान मृत घोषणा गरिएको थियो ।

पक्राउ परेका सबैजना मृतक कट्टेलसङ्गै घट्ना घट्नु केही घण्टा अगाडि सम्म सङ्गै रहेको खुलेको छ । प्रहरी नियन्त्रणमा रहेका घनश्याम सङ्ग पैसाको कारोबार समेत रहेको खुल्न आएको र साईकल किन फालिएको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । नियन्त्रणमा रहेका चारैजना प्रहरी वृत्त बानेश्वरमा रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्