कार्यविधिको ड्राफ्ट तयार

क्षमता र योग्यताको आधारमा उपकुलपतिको नियुक्ति



काठमाडौं ।

प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट गर्ने घोषणा गरेलगत्तै त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित सर्च कमिटीको पहिलो बैठकले कार्यविधिको ड्राफ्ट तयार गरेको छ।

राजनीतिक भागबन्डाको आधारमा सबै विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्ने प्रचलनले विश्वविद्यालयको साख गिर्दै गएको विषयमा सर्वत्र आलोचना भइरहेको बेला सरकारले कार्यविधि तयार गरी मेरिटको आधारमा त्रिविको उपकुलपति छनोट गर्न लागेको हो।

कार्यविधिमा प्राध्यापन क्षेत्रमा लगातार १० वर्ष योगदान गरेको, विद्यावारिधि भएको, त्रिविको शैक्षिक र प्राज्ञिक उन्नयनका लागि उपकुलपति भएर गर्न सक्ने कामको योजनासहितको प्रस्तुतीकरणलगायत विषय समेटिएको छ।

कमिटीले योग्यता र शिक्षा क्षेत्रमा गरेको योगदानलाई ५५ र ४५ अंकको प्रस्तुतीकरण अंक तोकेको छ। कमिटीले सबै विषय गोप्य राखेको छ। स्रोतका अनुसार ड्राफ्ट तयार भए पनि सार्वजनिक भएको छैन, यी विषय समेटेर उपकुलपति छनोट प्रक्रिया अघि बढाइने छ।

‘कमिटीले सार्वजनिक सूचना जारी गरेपछि योग्यताका आधारमा सर्टलिस्ट तयार गर्नेछ, त्यसपछि छनोटमा परेका सबैको प्रस्तुतीकरणको आधारमा ३ जनाको नाम सिफारिस गर्नेछ। सिफारिस भएकामध्ये त्रिविका कुलपतिले एक जनालाई उपकुलपति नियुक्ति गर्ने प्रावधान छ। ‘उपकुलपति राजनीतिक भागबन्डाको आधारमा हुँदैन, कार्यविधिअनुसार सबै विषयमा उत्तीर्ण भएकालाई छनोट गरिने छ’ –स्रोतले भन्यो।

समितिले तयार गरेको कार्यविधिको विषयमा त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको छ ।
‘सायद आउँदो साता सूचना जारी गरेर उपकुलपतिमा आवेदन माग गर्ने तयारीमा छौं’ –स्रोतको भनाइ छ।

कुलपति दाहालले कात्तिक १९ गते सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा शिक्षासचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा. चन्द्रकला घिमिरे सदस्य रहेको सर्च कमिटी गठन गरेको थियो । कमिटी गठन भएको करिब डेढ महिना बितिसम्दा पनि उपकुलपति छनोट प्रक्रिया अघि बढ्न नसकेपछि सरकारको आलोचना भएको थियो ।

प्रधानमन्त्री दाहालले पुस २ गते सम्पन्न त्रिविको ४९औं दीक्षान्त समारोहमा राजनीतिक भागबन्डाको आधारमा उपकुलपति नियुक्ति नहुने स्पष्ट पार्नुभएको थियो।

कुलपति दाहालले तत्कालीन रेक्टर प्राडा शिवलाल भुसाललाई तीन महिने उपकुलपति नियुक्ति गर्नुभएको थियो। त्रिवि ऐनअनुसार बढीमा तीन महिनाका लागि उपकुलपति नियुक्ति गर्ने सकिने प्रावधानअनुसार प्राडा भुसाललाई जिम्मेवारी दिएको थियो।

सरकारआबद्ध दलबीच सहमति नभएसम्म उपकुलपति छनोट गर्न नसक्ने आँकलन गरिरहेको बेला योग्यताको आधारमा उपकुलपति छनोट प्रक्रिया अघि बढाउन लागेको हो।

उपकुलपति बन्ने होडमा रहेका आकांक्षीहरू शक्ति केन्द्र धाउन थालेका बेला कुलपति दाहालले क्षमता र योग्यताको आधारमा उपकुलपति नियुक्ति गर्ने तयारी गरेको हो।

पछिल्लो समय उपकुलपतिको दौडमा माओवादी निकट त्रिविका पूर्व रजिस्टार एवं राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष प्राडा चन्द्रमणि पौडेल र नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा लेखनाथ शर्मा, नेपाली कांग्रेस निकट त्रिविका पूर्वउपकुलपति प्राडा तीर्थराज खनियाँ उपकुलपति बन्ने दौडमा हुनुहुन्छ।

उता, एमालेको भ्रातृ संगठन अनेरास्ववियुले त्रिविमा भागबन्डामा नभई योग्यता र सक्षमताको आधारमा उपकुलपति नियुक्ति गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्