कालिन्चोक पुग्ने भारतीय पर्यटकको संख्यामा वृद्धि



दोलखा ।

दोलखामा रहेको प्रसिद्ध कालिन्चोक मन्दिरमा भारतीय पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । दुई-तीन वर्ष अघिसम्म आन्तरिक पर्यटक मात्र देखिने कालिन्चोक मन्दिरमा अहिले दैनिक एक-डेढ सय भारतीय पर्यटक पुग्ने गरेको कालिन्चोक भगवती मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका आयुस तामाङले बताउनु भयो ।

शुक्रवार, शनिवार र विभिन्न पर्व तथा सार्वजनिक बिदाको समय दैनिक ५-६ सय धार्मिक पर्यटक पुग्ने कालिन्चोक मन्दिरमा एक-डेढ सय भारतीय पर्यटक हुने आयुस तमाङको भनाई छ । विगतमा भारत लगायत अन्य मुलुकबाट कालिन्चोक पुग्ने पर्यटक थोरै मात्र हुने गर्थे आयुसले भन्नु भयो– पछिल्लो समय भारतीय पर्यटकको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको छ ।

पछिल्लो समय कालिन्चोकको प्राकृतिक एवं धार्मिक महत्वको बारेमा विदेशमा समेत प्रचार भएको, केबलकार सञ्चालनमा आएको र खुरकोटकोबाटो रामेछाप हुँदै दोलखासम्म जोडिएकोले पनि कालिन्चोक मन्दिरमा भारतीय पर्यटकको संख्या उल्लेख्य देखिन थालेको स्थानीय सुनपाती होटेलका सञ्चालक एवं पर्यटन व्यवसायी हरि ओलीले बताउनु भयो । पछिल्लो समय कालिन्चोकमा भारतको केरला, पश्चिम बंगाल, पाकिस्तान, बङ्गलादेश लगायतबाट उल्लेख्य पर्यटक आउने गरेको पर्यटन व्यवसायी ओलीले बताउनु भयो ।

तीन हजार आठ सय ४२ मिटर उँचाइमा रहेको सानो पहाडी टाकुरामा अवस्थित कालिन्चोकमा हरेक वर्ष पुस देखि फागुन चैत्रसम्म हिमपात समेत हुने भएकोले धार्मिक लगायत सबै खाले पर्यटक कालिन्चोक पुग्ने गरेको स्थानीय बताउँछन् ।

सानो टाकुरामा अवस्थित कालिन्चोक भगवती मन्दिर परिसरमा जलकुण्ड समेत रहेको छ । यहाँको मुख्य विशेषता यही जलकुण्ड हो । कालिन्चोक टाकुरामा अवस्थित जलकुण्डमा कतैबाट पानी आउने ठाउँ देखिँदैन तर जल कुण्डको पानी हरेक मौसममा कायम रहन्छ । किम्बदन्ती अनुसार जल कुण्डबाट दाहिने तिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धारा भएर सुनकोसी बगेको मानिन्छ ।

कालिन्चोक मन्दिर परिसरमा हिमालय पर्वतकी पुत्री पार्वतीले तपस्या गरेको र महादेव पार्वतीको वासस्थान भएको जनविश्वास समेत रहँदै आएको छ । कालिन्चोक क्षेत्रमा भेडागोठहरु रहेको र कालिन्चोक मन्दिरमा सबै भेडाहरु जम्मा भएर बस्ने तथा ढुङ्गा चाट्ने गरेपछि जलकुण्ड देखिएको किम्बदन्ती समेत प्रचलनमा रहेको छ ।

अंग्रेजी नयाँ वर्ष १ जनवरी २०२४ को लागि कालिन्चोकको प्रवेश बजार कुरीमा रहेका झन्डै ६० वटा होटलहरु मा धमाधम बुक भई रहेको स्थानीय होटेल व्यवसायी पूर्णिमा खरेल थापाले बताउनु भयो । होटेल बुक गर्नेमा झन्डै ७० प्रतिशत भारतीय पर्यटक रहेको उहाँले बताउनु भयो । सामान्य नेपाली पर्यटकले एक दिनको लागि मात्र होटेल बुक गर्नेमा भारतीय पर्यटकले दुई दिनसम्म होटेल बुक गर्ने स्थानीय होटेल व्यवसायीहरू बताउँछन् ।

दोलखा सदरमुकाम चरिकोटबाट १८ किलोमिटरको दूरीमा रहेको कालिन्चोकको प्रवेश बजार कुरीबाट झन्डै एक किलोमिटर केबलकार मार्फत कालिन्चोकको टाकुरामा पुग्न सकिने व्यवस्था रहेको छ । कुरीबाट केबलकारमा टाँकुरा पुग्न र फर्कन नेपालीलाई प्रतिव्यक्ति ६ सय रुपैयाँ शुल्क लाग्ने केबलकार टिकट काउन्टरका सन्देश सिवाकोटीले बताउनु भयो । केबलकारमा भारतीय पर्यटकलाई नौ सय ६० र अन्य मुलुककालाई १३ सय रुपैयाँ शुल्क लाग्ने पनि सिवाकोटीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्