आजबाट औषधि पसलमा अनुगमन



काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आजबाट राजधानीका सबै औषधि पसलको अनुगमन गर्ने भएको छ। कामपा जनस्वास्थ्य विभागले राजधानीका सबै औषधि पसललाई विशेषगरी ६ वटा विषयमा सुधार गर्न दिएको १० दिनको समयसीमा सकिएलगत्तै अनुगमन गर्न लागिएको हो।

विभागले गत मंसिर १९ गते १० दिने म्यादसहितको सूचना जारी गरी अनधिकृत व्यक्तिबाट औषधि बिक्री वितरण नगर्न, औषधि व्यवस्था विभाग र कामपामा दर्ता गरेर मात्रै औषधि बिक्री वितरण गर्न, चिकित्सकको प्रेस्किप्सन हेरेर मात्र औषधि दिन, प्रचलित व्यवस्थाविपरीत लागु औषधि बिक्री वितरण नगर्न, औषधि पसल खोलेर ओपीडी सेवा सञ्चालन नगर्न र फार्मेसी नपढेका व्यक्तिलाई औषधि बिक्री गर्न नदिन आग्रह गरेको थियो।

कामपा जनस्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले १० दिनको म्याद सकिएकाले आजबाट अनुगमन गर्न लागेको जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो–‘आजबाट अनुगमन टोली खटिने छ, अहिलेसम्म सुधार नभएको फेला परे एक साताको लागि चिट दिनेछौँ, त्यसपछि पनि सुधार नगरे व्यावसाय बन्द गर्नेछौँ ।’

उहाँका अनुसार कामपाका सबै वडाबाट अनुगमनका लागि चिकित्सकसहितको ३ देखि ५ जनाको टोली परिचालन हुनेछ। कामपाले विशेषगरी फार्मेसी अध्ययन नगरेका व्यक्तिले औषधि बिक्री गरे/नगरेको, लागु औषधजन्य औषधि बिक्री गरे/नगरेको, व्यवसाय दर्ता गरे/नगरेको र फार्मेसी सञ्चालन भएको स्थानको बारेमा समेत अनुगमन गर्नेछ।

विभागीय प्रमुख पौडेलका अनुसार औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधि पसललाई पहिलो चरणमा कारबाही नगर्ने तर कामपामा दर्ता गर्न निर्देशन दिइने छ। यसअघि कामपाले ६२ वटा औषधि पसल अनुगमन गर्दा केही औषधि पसलमा गम्भीर त्रुटि भेटेपछि कानुनको दायरामा ल्याउन मापदण्ड तयार गरेको हो ।

हाल कामपाभित्र अस्पतालको फार्मेसीसहित करिब १ हजार ८ सय औषधि पसल सञ्चालनमा छन्। तीमध्ये अधिकांशले महानगरमा व्यवसाय दर्ता नगराएको जिकिर गर्दै विभाग प्रमुख पौडेलले भन्नुभयो– ‘एकाधबाहेक कुनै पनि औषधि व्यवावसायीले पसल दर्ता गराएका छैनन् , मनपरी रूपमा सञ्चालन भइरहेका छन्।’

यसअघि मेयर बालेन्द्र साहले सामाजिक सञ्जाल एक्समा जनस्वास्थ्यमा लापरबाही हुने क्रियाकलापले आफूलाई संवेदनशील बनाएको उल्लेख गर्दै लेख्नुभएको थियो–‘यस्ता लापबारही देखिए, भेटिए वा आफूलाई परे महानगरपालिकाको जनस्वास्थ्य विभागमा उजुरी गर्नुहोला। टोल फ्री नं. १६६००१०५५११ मा सम्पर्क गर्नुहोला। तोकिएको समयभित्र सुधारको संकेत देखिएन भने गलत गर्नेहरूलाई ऐनले दिएको अधिकार प्रयोग गर्दै औषधि पसल बन्द गर्नेसम्मको कारबाही गर्छौं ।’

सोही आधारमा कामपा जनस्वास्थ्य विभागले १० दिने सूचना जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्