अब खाँणको राजनीतिक यात्रा कता ?



काठमाडौं ।

सात महिनाको जेल बसेर धरौटीमा छुटेका नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणको आगामी राजनीतिक यात्राको विषयलाई लिएर विभिन्न कोणबाट बहस शुरू भएको छ।

भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँण जेलमुक्त भएपछि राजनीतिक वृत्तमा उहाँको अबको राजनीतिक यात्राबारे बहस शुरू भएको हो ।

कांग्रेसकै कतिपय नेताहरूले खाँणलाई पार्टीको संस्थापन पक्षबाट पर्याप्त सहयोग नभएको र कांग्रेसकै सहयोगमा बनेको वर्तमान सरकारले झुटो मुद्दा लगाएर जेल हालेको तर्क गर्ने गरेका छन्।

भुटानी शरणार्थी काण्डमा पक्राउ गर्दा कांग्रेसकै संस्थापनईतर पक्षका नेताहरूले खाँणलाई पार्टी केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने माग गरेका थिए।

यद्यपि, उक्त समयमा पार्टी सभापति शेरबहादुर देउवाले उहाँलाई निलम्बन गर्न हतार गर्न नपर्ने भन्दै कारबाही गर्नबाट रोक्नुभएको थियो।

संस्थापन पक्षका प्रभावशाली नेता मानिएका पूर्व गृहमन्त्री खाँणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएसँगै उहाँलाई सम्पति शुद्धीकरणले १५ लाख धरौटी लिएको थियो भने अख्तियारले साधारण तारेखमा छाडेको हो ।

उहाँको विषयमा राष्ट्रिय राजनीति र पार्टी राजनीति चासो व्यक्त हुनुलाई स्वाभाविक भएको जिकिर गर्दै कांग्रेसका सांसद सुनिल शर्माले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘नेता खाँणलाई नेपाली कांग्रेसकै सहयोगमा बनेको वर्तमान सरकारले झुटा मुद्दा लगाएर जेल पठाएको हो। आगामी पार्टी राजनीतिमा संस्थापन टिमको नेतृत्व गर्न सक्ने नेता खाँणलाई साइजमा राख्नका लागि पार्टीकै केही नेताहरूले भूमिका खेलेका थिए।’

कांग्रेस संस्थापनइतर समूहका नेता शर्माको भनाइलाई मान्ने हो भने खाँणको आगामी राजनीतिक यात्रा कांग्रेस संस्थापनइतर समूहबाटै हुने संकेत गर्छ। सुन्धारास्थित केन्द्रीय कार्यालयमा थुनामा रहँदा खाँणलाई दिनहुँजसो उच्च पदस्थ नेतादेखि कार्यकर्ता र शुभेच्छुक भेट्न पुगिरहन्थे।

खाँणले परराष्ट्रमन्त्री एनपी साउदसँगको भेटमा आफूलाई अन्यायपूर्ण व्यवहार भएको गुनासो गर्नुभएको थियो। जेलमा परराष्ट्रमन्त्री एनपी साउदसँगको भेटमा खाँणले भन्नुभएको थियो– ‘थाहा छैन, जेलमा सड्छु कि के गर्छु तर जेलबाट निस्किएँ भने चाहिँ भन्नुपर्ने कुराहरू भन्छु।’

उहाँको धम्कीपूर्ण उक्त अभिव्यक्ति पार्टी सभापति देउवा खेमामा लक्षित थियो। उहाँले बाहिर बोल्ने कुरा केही नभएको तर विशेष मान्छेहरूका बीचमा सबै कुरा राख्ने बताउँदै आउनुभएको छ।

श्रीमान् पक्रिँदासमेत नजोगाइदिएको भन्दै मन्जु खाँणले पनि पार्टी सभापति शेरबहादुर देउवा र शीर्ष नेतालाई पटक–पटक धम्क्याउँदै आउनुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई थाहै नदिई अचानक पक्रन लगाएको उनको आरोप छ।

खाँणले आफूमाथि भएको भनिएका षड्यन्त्र र उक्त घटनाको भोगाइ विशेष स्थानमा सार्वजनिक गर्ने बताउनुभएको थियो। पार्टी सभापति शेरबहादुर देउवा, गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतले आफूलाई षड्यन्त्रपूर्वक फसाएको उहाँको गुनासो थियो।

खाँणको गुनासो र जेलमुक्त भइसकेपछि संस्थापनइतर समूहका नेताहरूको भनाइ करिब मिल्दोजुल्दो छ। नेता खाँण जेलमा रहँदा कांग्रेसको डा. शेखर कोइरालासँग नजिक हुँदै गएको कांग्रेस नेताहरू बताउँछन्।

शेखर कोइराला निकट नेताहरूले चाँडै खाँण कोइराला समूहमा आउने बताउने गरेका छन्। कतिपय नेताहरूले त खाँणसँग रहेका ६ सांसदहरू नै कोइराला समूहमा आउने दाबी गर्न थालेका छन्।

केही दिनअघि महामन्त्री गगन थापाले शेखर कोइरालालाई पार्टी संसदीय दलको नेताका रूपमा अघि सार्ने घोषणा गर्नुलाई समेत खाँणसँगको निकट राजनीतिलाई जोडेर अथ्र्याउन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्