अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामाथि प्रश्न

अमेरिकाबाट नेपाल भित्रियो ५५ केजी गाँजा



 काठमाडौं ।

पछिल्लो समय नेपाललाई ट्रान्जिट बनाएर लागुऔषधको कारोबार गर्ने गिरोह सक्रिय हुन थालेपछि मुलुकको सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामाथि प्रश्न उठेको छ।

अन्तर्राष्ट्रिय सुन तस्करले नेपाललाई ट्रान्जिटका रूपमा पछिल्लो केही वर्षदेखि प्रयोग गर्दै आएका थिए। लागुऔषध तस्करहरूले नेपाललाई बेलाबखत ट्रान्जिटका रूपमा प्रयोग गरे पनि सुरक्षा निकायको निगरानीका कारण उनीहरू सचेत रहँदै आएका थिए।

तर, अहिले लागुऔषध तस्करहरूले नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गरेर विदेशबाट लागुऔषध नेपाल ल्याई नेपालबाट पुनः विदेश लैजान थालेपछि सुरक्षा अधिकारीहरू चिन्तित बनेका छन्।

अवैध लागुऔषधको ठूलो बजार छिमेकी मुलुक भारत भएकाले अन्तर्राष्ट्रिय गिरोहले विदेशबाट लागुऔषध नेपाल ल्याउने र नेपालबाट स्थलमार्ग हुँदै भारत पठाउने गरेको पछिल्लो ट्रेनले देखाएको नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल बताउनुहुन्छ।

उहाँका अनुसार नेपाललाई अन्तर्राष्ट्रिय तस्करहरूले कोकिन र गाँजा सप्लाई गर्न नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गरेको देखिन्छ।

केही समय अघिसम्म नेपालबाट गाँजा र चरेस नेपालबाट युरोप अमेरिकालगायत विकसित राष्ट्रमा तस्करी हुने गरेको भए पनि अहिले भने विदेशबाट गाँजालगायतका लागुऔषध ल्याउन नेपालको विमानस्थल प्रयोग हुन थालेकाले यसको नियन्त्रणका लागि प्रहरीले आफ्नो सबै संयन्त्र परिचालन गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कठायतले जानकारी दिनुभयो ।

यसअघि नेपालमा उत्पादन भएका गाँजा तथा चरेसको माग विदेशमा बढी हुने र त्यसको तस्करी नेपालबाट हुने गरेको भए पनि अहिले भने नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गर्ने गरेको पाइएको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय लागुऔषधका तस्करहरूले नेपाललाई कोकिन ओसारपसार गर्न ट्रान्जिटका रूपमा प्रयोग गर्ने गरेकाले त्यसलाई निस्तेज पार्न प्रहरीले अभियानलाई तीव्र बनाएको उहाँले जानकारी दिनुभयो।

ब्युरोको टोलीले शनिबार अमेरिकाबाट अवैध रूपमा नेपालको बाटो हुँदै भारततर्फ तस्करी गर्न ल्याउँदै गरेको ५५ केजी गाँजा बरामद गरेपछि नेपाललाई तस्करहरूले ट्रान्जिटका रूपमा प्रयोग गर्न थालेको आफूले अनुभव गरेको पूर्वडीआईजी मल्लले नेपाल समाचारपत्रसँगको कुराकानीमा बताउनुभयो।

नेपालमा गाँजा र चरेस अत्यधिक मात्रामा उत्पादन हुने भए पनि नेपालमा उत्पादित गाँजामा नशाको मात्रा ५ देखि ६ प्रतिशत मात्रै भए पनि अमेरिकामा उत्पादन हुने गाँजामा नशाको मात्रा २४ देखि २५ प्रतिशत रहने भएकाले नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गर्ने गरेको पछिल्लो अनुसन्धानले देखाएको पूर्वडीआईजी मल्लले बताउनुभयो ।

नेपाललाई ट्रान्जिट बनाएर विदेशबाट आएका अवैध लागूऔषध विशेष गरी भारत र थाइल्यान्ड लैजाने र नेपाल भारतबीचको सीमा खुला भएका कारण त्यसरी तस्करी भएर आएका लागुऔषध स्थलमार्गबाट भारत र थाइल्यान्ड पुग्ने गरेको पछिल्लो अनुसन्धानले देखाएको एसपी जोशीले जानकारी दिनुभयो।

अमेरिकाको विभिन्न राज्यमा गाँजाको सेवन तथा कारोबारलाई वैधानिकता दिएकाले लागुऔषधका तस्करहरूले सानासाना मात्रामा गाँजा संकलन गर्ने र त्यसलाई एकत्रित गरेपछि विभिन्न सामानमा कार्गो गरेर नेपाल हुँदै फेरि भारतलगायतका मुलुकहरूमा पठाउने गरेको पाइएपछि अमेरिकन समकक्षीलाई यस विषयमा जानकारी गराइसेको एसपी जोशीले जानकारी दिनुभयो।

नेपालको कमजोर सुरक्षा प्रणालीका कारण लागुऔषधका तस्कर तथा सुनको अवैध ओसारपसार गर्ने गिरोह सक्रिय भएको निष्कर्षमा प्रहरी अधिकारीहरू पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्