७४ कारागारमा २७ हजार कैदीबन्दीलाई ध्यान शिविर



काठमाडौं

सरकारले कैदीहरूको मानसिक विकास तथा जीवनलाई सकारात्मक तवरले हेर्ने दृष्टि विकास गराउन देशका ७४ वटा कारागारमा २७ हजार कैदीबन्दीलाई दश दिवसीय विपश्यना ध्यान शिविर सञ्चालन गर्ने तयारी अघि बढाएको छ ।

आफ्नो मनलाई बिकारमुक्त बनाई सुख र शान्ति अनुभूत गर्न चाहनेहरू विपश्यना ध्यानको अभ्यास गर्नेहरूको संख्या दिनानुदिनु बढिरहेको समयमा गृह मन्त्रालयले ध्यान दशदिवसीय शिविर सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रालयले नेपाल विपश्यना केन्द्रसँग समन्वय गरी कारागारहरूमा विपश्यना ध्यान शिविर सञ्चालन गर्ने तयारी अघि बढाएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा सोमबार मन्त्रालयमा बसेको बैठकले कारागारमा ध्यान शिविर सञ्चालन गर्ने निर्णय गरेको थियो । विभिन्न देशका कारागारमा सञ्चालन गर्दै आएको यो शिविरले कैदीमा पारेको सकारात्मक प्रभावका रूपमा लिएर मन्त्रालयले यसलाई देशभरैका कारागारमा सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल र केन्द्रका क्षेत्रीय आचार्य रूप ज्योतिसहितको टोलीबीच छलफल भई ध्यान शिविरको कार्ययोजना तयार गरेको थियो ।

ललितपुरको नख्खु कारागारबाट सो शिविर सञ्चालन गरिने छ मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक महिनाभित्र शिविर सञ्चालन गर्ने तयारी अघि बढाएको छ । केन्द्रकै व्यवस्थापनमा शिविर सञ्चालन हुने छ । व्यवस्थापन अवस्थाअनुसार एकपटकमा ६०–७० जनाले ध्यान साधना गर्नेछन् । पटकपटक शिविर सञ्चालन गरी सबैलाई विपश्यना ध्यान गराइने धर्मसेवक सुशील शाहले जानकारी दिनुभयो ।

दश दिवसीय शिविरपछि अरू कारागारमा पनि त्यही स्वरूपको शिविर आयोजना गरिने मन्त्रालयले जनाएको छ । सरकारले २२ वर्षपछि नख्खु कारागार ध्यान शिविर सञ्चालन गर्न लागिएको हो । यसअघि २०५५ सालमा २० जना र २०५७ सालमा २३ जना नख्खु कारागारका कैदीबन्दीलाई ध्यान गराइएको थियो । त्यस्तै, यसअघि भीमफेदी, परासी र विराटनगर कारागारमा पहिलो चरणको शिविर सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ । केन्द्रीय कारागारसहित देशमा ७४ वटा कारागार छन् ।

विपश्यना ध्यान आजभन्दा २५ सयवर्ष अघि गौतम बुद्धले स्वयंले अनुभूत गरी प्रतिपादन गरेको ध्यान विधि हो । त्यसयता गुरु–शिष्य परम्पराअनुसार नटुटीकन यथारूपमा हस्तान्तरण हँुदै आएको छ । यो ध्यानको वैज्ञानिक र उत्कृष्ट विधिका रूपमा परिचित छ । तोकिएका मापदण्ड र अनुशासनका विधि पालना गरेर १० दिने आवासीय शिविरमा विपश्यना ध्यान सञ्चालन गरिन्छ । बूढानीलकण्ठ, मुहानपोखरीस्थित धर्मश्रृंग नेपालमा विपश्यना केन्द्रले हरेक महिना १ र १४ तारेखमा नियमित रूपमा इच्छुकहरूका लागि ध्यान गराउँदै आएको छ । विसं २०३७ देखि नेपालमा विपश्यना ध्यान शिविरहरू सञ्चालन हँुदै आएका छन् । देशभर विभिन्न ३० वटाभन्दा बढी विपश्यना ध्यान केन्द्र छन् ।

नेपालमा अन्यका लागि सहज भए पनि जेलका कैदीबन्दीका लागि विपश्यना त्यति अभ्यासरत छैन । नेपालमा नख्खु जेलमै २०५२ र ५३ सालमा दुईपटक विपश्यना शिविर सञ्चालन भएको थिए । तर, त्यसको निरन्तरता हुन सकेन । गत वर्ष भीमफेदी कारागारमा यो शिविर सञ्चालन गरिएको थियो ।

केन्द्रका अनुसार यो ध्यान विधि विश्वका एक दर्जन बढी देशका जेलमा सञ्चालन हुने गर्छ । भारत, अमेरिका, आयरल्यान्ड, क्यानडा, इजरायल, मंगोलिया, न्युजिल्यान्ड, थाइल्यान्ड, ताइवान, श्रीलंका, स्पेन, मेक्सिको तथा ब्रिटेनले आफ्ना कारागारका कैदीलाई विपश्यना ध्यान गराउँछन् । भारतमा भने सन् १९९५ मै कैदीबन्दीका लागि विपश्यना शिविर सञ्चालनको अनुमति दिइएको थियो ।

यो ध्यान विधिले अनित्यताको बोध गर्न मद्दत गर्छ । शरीरभित्रकै संवेदना र चित्तका गतिलाई समताभावमा रहेर नियाल्ने यो विधि नेपालमा विश्वविख्यात ध्यान गुरु स्वर्गीय सत्यनारायण गोयन्काले भित्र्याउनुभएको हो । जुन जस्तो छ त्यसलाई साक्षी भाव वा तटस्थ भावले हेर्ने विधि विपश्यना हो । ‘वि’ भनेको विशेष तवरले र ‘पश्यना’ भनेको दृष्टिगोचर गर्ने हो । शील र समाधिमा प्रतिष्ठित भई भावनामयी प्रज्ञा जगाउने पवित्र अभ्यास हो विपश्यना । ध्यान शिविर चलिरहँदा कुनै सम्प्रदाय विशेषको वकालत गरिँदैन र ध्यान सिकाउने आचार्यहरूले कुनै कुरामा पनि आशक्ति नजगाउन निर्देशन दिइरहेका हुन्छन् । यो ध्यान १० दिनको आवासीय शिविरमा सहभागी भएर योग्यता प्राप्त आचार्यको सानिध्यमा सिक्न सकिन्छ ।

विपश्यना ध्यान गर्न चाहने साधकलाई झुटो नबोल्ने, प्राणी हिंसा नगर्ने, चोरी नगर्ने, ब्रम्हचर्या पालन गर्ने र नशालु पदार्थ सेवन नगर्नेजस्ता नियमभित्र रहेर शिविरको पहिलो साढे तीन दिन श्वासप्रश्वासमा आफ्नो ध्यान केन्द्रित गर्ने अभ्यास गर्न लगाइन्छ, जसलाई ‘आनापाना सति’ ध्यान भनिन्छ । बाँकी साढे छ दिन विपश्यना अभ्यास गर्दै अन्तर्मनको गहिराइमा गढेर बसेको विकारलाई निर्मूल बनाउन लगाइन्छ । यस क्रममा साधकले आफूभित्र प्रज्ञा जगाएर सबै कायिक तथा मानसिक विकास छेदन गर्न सक्ने साधकहरूको भनाइ रहेको छ ।

दश दिनको शिविरमा नौ दिनसम्म पूर्णरूपमा मौन बस्नुपर्ने नियम छ र दशौं दिनमात्र साधकलाई बोल्न अनुमति दिइन्छ । हिन्दू, बौद्ध, मुस्लिम, जैन, शिख, इसाई सबै धर्म र सम्प्रदायका व्यक्तिहरूले यस शिविरमा भाग लिने गरेका छन् । शिविर अवधिभर लेखपढ, पूजापाठ र अन्य क्रियाकलाप गर्न हँुदैन । सहसाधकसँग कुराकानी गर्न पाइँदैन । आचार्य वा सेवकसँग साधनासम्बन्धी वा भौतिक समस्याबारे कुराकानी गर्न भने बन्देज हँुदैन ।

प्रतिक्रिया दिनुहोस्