कमजोर स्वास्थ्य शिक्षा प्रणाली

नर्सिङको लाइसेन्स परीक्षामै ८१ प्रतिशत अनुत्तीर्ण

नर्सिङ पढाइको गुणस्तरमै शंका उब्जियो



–१६ औं पटकसम्म परीक्षा दिन्छन् विद्यार्थी
– शैक्षिक केन्द्रहरूले गुणस्तरीय शिक्षा दिन सकेनन्

 काठमाडौं।

नेपालको स्वास्थ्य शिक्षा कमजोर हुँदै छ भन्ने संकेत शनिबार लिइएको स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको लाइसेन्स परीक्षाको नतिजाले प्रस्ट्याएको छ ।
नेपालको नर्सिङ लाइसेन्स परीक्षामा यति धेरै परीक्षार्थी असफल हुनुले नर्सिङ पढाइको गुणस्तरमै शंका उब्जिएको छ । नेपाल नर्सिङ परिषद्ले शनिबार काठमाडौंका दुईवटा केन्द्रबाट ३४औं लाइसेन्स परीक्षाका लागि नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान सानो भ¥याङ र वागमती कलेज सुकेधारा सेन्टर तोकी परीक्षा लिएको थियो । परीक्षामा पीसीएलतर्फ सहभागीमध्ये ८१ प्रतिशत अनुत्तीर्ण भएको नतिजा सार्वजनिक भएसँगै पढाइको गुणस्तरमा नै प्रश्न उठेको छ ।

नतिजा कमजोर भएको विषयमा परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापति भन्नुहुन्छ– ‘यसपटक परीक्षामा सामेल हुने पीसीएल नर्सिङतर्फका विद्यार्थीहरू पहिला पनि धेरैपटक फेल भएका र थोरै संख्या बीपीकेएचएसबाट सहभागी रेगुलर विद्यार्थी थिए । जम्मा १ हजार २ सय ७० जना विद्यार्थीे परीक्षामा सहभागी भएकोमा २ सय ४६ जना उत्तीर्ण भएका छन् ।’

त्यसै गरी शनिबारै लिएको बीएससी नर्सिङका विद्यार्थीहरूको लाइसेन्स परीक्षामा सहभागी हुने पनि पुराना र नयाँ विद्यार्थी थिए । उनीहरू पनि ५० प्रतिशतको हाराहारीमा मात्र उत्तीर्ण भएका छन् । यति बेला नेपालमा नर्सिङ पढाइप्रति देखिएको विद्यार्थीको आकर्षणलाई शैक्षिक केन्द्रहरूले गुणस्तरीय शिक्षा दिन नसकेको हो कि भन्ने प्रश्न उठिरहेको सर्वत्र चर्चा भएको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भने स्वास्थ्य क्षेत्रमा ५ वर्षपछि स्वास्थ्यकर्मी नपाउने अवस्था भएकाले १ सयदेखि ३ सय बेड सञ्चालनमा आएका स्वास्थ्य संस्थाहरूमा नर्सिङ पढाइ स्वीकृत गरिनुपर्ने विषयमा संसद्मा छलफल गराउन लागेको विषय सार्वजनिक गर्नुभएको छ ।
वर्षेनी उत्पादन हुने नर्सहरू रोजगारीको अभावमा विदेसिने क्रम पनि उत्तिकै बढेको छ । नेपाललाई मेडिकल हब बनाउन सकिने तर्क दिँदै स्वास्थ्यमन्त्री बस्नेतले प्रस्ताव सरकारसमक्ष लैजाने तयारी गरिरहँदा नेपालमा पढेका नर्सहरूको नतिजाले एकपटक सोच्न बाध्य बनाएको नर्सिङ परिषद्का पदाधिकारीहरूले बताएका छन् ।

पीसीएलमा भन्दा बीएसी नर्सिङमा सहभागी विद्यार्थीको नतिजा सुधारात्मक देखिनुमा उनीहरू भर्खरै भएका नियमित विद्यार्थी भएको प्रजापति बताउनुहुन्छ । उहाँका अनुसार बीएसी नर्सिङतर्फ ४ सय १४ जनामध्ये २ सय ३ जना उत्तीर्ण भएका छन् । यसअघिको परीक्षामा १६ पटक परीक्षा दिएर उत्तीर्ण हुने पनि छन् । नर्सिङ परिषद्ले वर्षमा ३ पटक नर्सिङ लाइसेन्स परीक्षा लिने गरेको र यसअघि लिइएको परीक्षामा ८० प्रतिशतको हाराहारीमा उत्तीर्ण भएका थिए । त्यति बेला नियमित विद्यार्थी धेरै थिए ।

प्रतिक्रिया दिनुहोस्