४ महिनामा सरकारलाई ८० अर्ब बजेट घाटा


काठमाडौं । 

चालू आर्थिक वर्षको पहिलो चार महिनामा सरकारको आम्दानीभन्दा र खर्च बढी भएको छ । कात्तिक मसान्तसम्ममा सरकारले पौने ३ खर्ब रुपियाँ आम्दानी गर्दा खर्च भने साढे ३ खर्ब रुपियाँभन्दा बढी गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा सरकारी खाता करिब ८० अर्ब रुपियाँले घाटा रहेको छ । उक्त अवधिमा २ खर्ब ७६ अर्ब ६४ करोड रुपियाँ राजस्व तथा २ अर्ब ७५ करोड ८० लाख रुपियाँ वैदेशिक अनुदान प्राप्त गरेको छ । तर, सो अवधिमा ३ खर्ब ५५ अर्ब ६३ करोड ४० लाख रुपियाँ खर्च भएको छ ।

सरकारले उक्त अवधिमा कर राजस्वतर्फ २ खर्ब ५४ अर्ब ३० करोड २२ लाख र गैरकर राजस्वतर्फ २२ अर्ब ३३ करोड ७८ लाख रुपियाँ प्राप्त गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यस आर्थिक वर्षमा चालू खर्चका निम्ति ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपियाँ खर्च हुने अनुमान गरेकोमा हालसम्म २ खर्ब ७१ अर्ब १७ करोड ४७ लाख रुपियाँ खर्च भएको छ । त्यस्तै, पुँजीगततर्फ ३ खर्ब २ अर्ब सात करोड ४४ लाख रुपियाँ बजेट विनियोजन गरिएकोमा २९ अर्ब ९८ करोड ९४ लाख रुपियाँ मात्रै खर्च भएको छ ।

चार महिनाको अवधिमा सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानी गर्नका निम्ति वित्तीय व्यवस्थातर्फ पुँजीगत खर्चभन्दा दोब्बर बढी खर्च भएको छ । साउनदेखि कात्तिकसम्म पुँजीगततर्फ २९ अर्ब ९८ करोड ९४ लाख रुपियाँ खर्च हुँदा वित्तीय व्यवस्थातर्फ ५४ अर्ब ४६ करोड ९९ लाख बराबर रुपियाँ खर्च भएको छ ।

वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख रुपियाँ बजेट विनियोजन भएकोमा ५४ अर्ब ४६ करोड ९९ लाख बराबर रुपियाँ खर्च भएको छ । चार महिनाको अवधिमा सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानी गर्न वित्तीय व्यवस्थातर्फ पुँजीगत खर्चभन्दा बढी खर्च भएको छ । यस अवधिमा पुँजीगतभन्दा वित्तीय व्यवस्थामा दोब्बर बढी खर्च भएको देखिएको छ ।

सरकारले चालू आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपियाँको बजेट विनियोजन गरेको थियो । सरकारको खर्चमध्ये चालूतर्फ २३ दशमलव ७५, पुँजीगततर्फ ९ दशमलव ९३ र वित्तीय व्यवस्थातर्फ १७ दशमलव ७२ प्रतिशत रहेको छ ।त्यस्तै, सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेकोमा २ खर्ब ७६ अर्ब ६४ करोड बराबर राजस्व उठाएको छ । यो लक्ष्यको तुलनामा २० दशमलव २२ प्रतिशत हो ।