१६ वर्षपछि कामपाले पायो सफाइ कर्मचारी

0
Shares

–कामपाभित्र पर्ने सबै सडकमा विशेष सफाइ शुरू
–एक नाइकेसहित २५ जनाको समूह तोकियो
काठमाडौं । 

काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका सबै सडक पूर्ण रूपमा सफाइ अभियान शुरू गरेको छ । कामपाले शुक्रबारबाट करार सेवाका ३ सय कर्मचारी थप गरी सबै सडक सफा गर्ने अभियन शुरू गरेको हो । कामपा वातावरण व्यवस्थापन विभागले ३२ वटै वडामा सफाइ मजदुर परिचालन गरेको छ । विभागीय प्रमुख रविनमान श्रेष्ठले २५ जनाको समूहले सडकमा रहेका सबै टुक्राटाक्री टिपनटापनदेखि सडकलाई पूर्ण रूपमा सफा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘कतै पनि फोहोरको थुप्रो नहुने गरी सफाइ शुरू गरेका हौं ।’

विभागले कतै फोहोर जम्मा भएको जानकारी भए तत्काल विभागमा जानकारी गराउन आग्रह गरेको छ । विभागका अनुसार हरेक टिमका कर्मचारी ८ घण्टा खट्ने गरी व्यवस्थापन गरेको छ । विभागले बिहान ६ देखि २ र दिउँसो २ देखि थप समयका लागि कर्मचारी व्यवस्थापन भएको जनाएको छ ।

कामपासँग उपलब्ध भएका ६ सय र नयाँ भर्ना लिएका ३ सयसमेत गरी ९ सय कर्मचारीले सफाइ अभियान शुरू गरेका छन् । कामपाले गएको महिना बज्र सेक्युरिटी एन्ड कनेक्टर जेभीबाट सेवा करारमा लिने सम्झौता गरेलगत्तै हिजोबाट ३ सय कर्मचारी सडक सफाइ गर्न खटिएका छन् । करिब १ हजार ५ सय सफाइ मजदुर रहेको महानगरमा ९ सय कर्मचारी अवकास भएर ६ सय पुगेको थियो । ६ सय मजदुरले मात्र राजधानीको सडक र अन्य संरचना सफा गर्न सम्भव नभएपछि थप ३ सय सेवा करारमा लिएको हो । थपिएका सहित सबै सफाइ कर्मचारीले सडक, पार्क, बगैंचा, पर्खाललगायत संरचना र सबै क्षेत्रको सफाइ गर्नेछन् ।

२५ जनाको समूहलाई नेतृत्व गर्न एक जना नाइके खटाइएको छ । विभागले निर्देशन दिएअनुसार नाइकेले मजदुरलाई काममा खटाउने छ । कामपाले १६ वर्षपछि सफाइ कर्मचारी करारमा नियुक्ति गरेको हो । हाल करारमा भर्ना भएका सफाइ मजदुरले बन्चरेडाँडा र टेकुस्थित ट्रान्सफर स्टेसनमा समेत काम गर्नुपर्छ । कामपा वातावरण व्यवस्थापन विभागका निर्देशक रविनमान श्रेष्ठले सबै कर्मचारीलाई ८ घण्टा काममा लगाइने जानकारी दिनुभयो । सोही आधारमा आपूर्तिकर्ता कम्पनीबट कर्मचारी भर्ना लिएको उहाँको भनाइ छ । श्रेष्ठका अनुसार ३ सय थप कर्मचारीका लागि श्रम ऐनले तोकेअनुसार मासिक तलब भुक्तानी हुनेछ ।

श्रम ऐनअनुसार दैनिक आठ घण्टा काम गरेबापत २१ हजार ४ सय ५६ रुपियाँ तलब पाउने व्यवस्था छ । सोही ऐनको आधारमा कामपाले ८ घण्टासम्म काम गर्ने गरी कम्पनीमार्फत् करारमा कर्मचारी लिएको हो । विभागीय प्रमुख श्रेष्ठले १ वर्षका लागि सेवा करार सम्झौता गरेको जानकारी दिनुभयो । सोबापत कामपाले मदजुर उपलब्ध गराउने कर्मचारीलाई ८ करोड ६ लाख रुपियाँ भुक्तानी गर्नेछ । ती कर्मचारीले पोसाकबापत १० हजार रुपियाँ पाउने छन् । सफाइ कर्मचारीको चरम अभाव भएपछि कामपाले कम्पनीमार्फत् करारमा कर्मचारी लिन बाध्य भएको हो ।

विभागका अनुसार राजधानीको सबै सडक सफाइ गर्न करिब ३ हजार कर्मचारी आवश्यक पर्छ । विभागले १ किलोमिटर सडकमा २ जना सफाइ कर्मचारी परिचालन गर्ने गरी तथ्यांक तयार गरेको हो । कामपाको स्वामित्वमाा १५ सय किमि सडक पर्छ । कर्मचारीको अभाव र स्थायी कर्मचारी लिँदा कार्यालयलाई विभिन्न भार पर्ने भएपछि सेवा करार गरेको हो । एक वर्षभित्र महानगरको सबै सडक चिटिक्क हुने गरी अभियानकै रूपमा सफाइ कार्यक्रम शुरू गरेको विभागले जनाएको छ ।