प्रधानमन्त्रीले नै अराजकता फैलाएको आरोप

0
Shares

काठमाडौं । 

सत्तरुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीले नै अराजकता फैलाएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता कोइरालाले शनिबार विराटनगरका पत्रकार शंकर खरेलले लेखेको लघुकथा ‘ॐ तृप्यन्ताम’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै यस्तो आरोप लगाउनुभएको हो ।

आफैं प्रधानमन्त्री भएर सडकमा लाखौं मान्छे उतार्नेलगायतका अभिव्यक्ति दिएर मुलुकमा अराजकता फैलाउन खोजेको टिप्पणी गर्दै उहाँले भन्नुभयो–‘मुलुकको अर्थतन्त्र धराशयी बन्दै गएको छ । तर, प्रधानमन्त्रीले आफैं सडक आन्दोलनमा उत्रने अभिव्यक्ति दिएर उद्योगी व्यवसायीलाई आतंकित बनाइरहेका छन् ।

मुलुकभरि रहेका ६ लाख ५० हजार सटरमध्ये ३५ प्रतिशत खाली भएर उद्योगी व्यवसायी पलायन भइसकेको अवस्थामा आन्दोलनको त्रास देखाएर उद्योगी व्यवसायीलाई झन् आतंकित बनाइराखेका छन् ।’ उहाँले मुलुकमा भ्रष्टाचार, दण्डहिनता नियन्त्रण र सुशासन कायम गर्नबाट राज्य चुकेका कारण आमसर्वसाधारण निरास बनेको टिप्पणी पनि गर्नुभयो ।

मुलुकमा बहुविश्वविद्यालय र प्रादेशिक विश्वविद्यालय खोल्ने लहर चलेको तर कलेजहरू रित्तिँदै गएको जिकिर गर्दै कोइरालाले भन्नुभयो– ‘विद्यार्थीहरू लाम लागेर विदेश पलायन भइरहेका छन् । विद्यार्थी विदेश पलायन हुने कारण खोजेर निकास दिनु आवश्यक छ ।’ सामुदायिक विद्यालयमा शिक्षा निःशुल्क रहेको भए पनि त्यसलाई चुनौती दिँदै अंग्रेजी माध्यमको नाममा सामुदायिक विद्यालयहरूले अभिभावकसँग अवैध रूपमा रकम असुली गरिरहेको भन्दै कोइरालाले आपत्ति पनि जनाउनुभयो ।

माध्यमिक तहको शिक्षा निःशुल्क र गुणस्तरीय बनाउन सके मात्रै देश उँभो लाग्ने धारणा राख्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो– ‘वैदेशिक रोजगारीका लागि युवा पलायनले मुलुकभरि वृद्धवृद्धा बेसाहारा भएर पारिवारिक विचलनका साथै विकृति बढ्दै गएको छ । युवाको विदेश पलायनले देशमा विकृति बढिरहे पनि राज्यले रेमिट्यान्स भित्रिरहेकोमा गर्व गरिरहेको छ तर रेमिट्यान्सले देश सधैं चल्दैन ।’ उहाँले रेमिट्यान्स एउटा पाटो मात्रै भएको र देश चलाउन उत्पादन बढाउनु आवश्यक रहेकोमा जोड दिँदै भन्नुभयो– ‘त्यसका लागि युवा शक्ति अपरिहार्य भएकाले युवालाई विदेश पलायनबाट रोक्ने कार्यक्रम ल्याउनुपर्छ ।’