गणतन्त्र: व्यवस्था उही नाममात्रै फरक



समय महत्वपूर्ण छ । समय समातेर समातिँदैन, रोकेर रोकिँदैन । जो समयानुसार चल्न सक्छ, त्यो व्यक्ति माथि जान्छ । समयको ख्याल राख्ने मुलुकको पनि विकास हुन्छ । तर, हाम्रो मुलुकमा ठ्याक्कै त्यसको उल्टो छ । कुनै उच्चपदस्थ कतै सवारी हुँदै छन् भने घण्टौंअगाडिदेखि सवारीसाधन आवागमन निषेध गरिदिन्छन् । विदेशी पाहुना आउन लागे भने पनि उही अवस्था छ ।

ट्राफिक जाम बनाएर, सवारीसाधन रोकेर राख्ने प्रवृत्ति हामीकहाँ विगतदेखि नै छ । जुन अहिले पनि जारी नै छ । कुनै सर्वसाधारण अस्पताल हिँडेका हुन्छन् । कुनै बिरामी बोकेर घरतिर फर्किएका हुन्छन् । कोही कामका लागि घरबाट निस्किएका हुन्छन् त कुनै आफ्नो ड्युटीमा पुग्न दौडधूप गरिरहेका हुन्छन् । तर, यो कुरा सरकारले देख्दैन । कुनै उच्च पदाधिकारी सवारी हुनेबित्तिकै सर्वसाधारणलाई ट्राफिक जामको त्रासले सताउँछ ।

उसै त जाम हुने सडक, त्यहीमाथि सवारी । सरकारलाई घण्टौं सवारीसाधन रोक्दा पनि कुनै फरक पर्दैन । अहिले पनि राजाकै पालाको सिस्टम छ । २०६५ सालअगाडि राजा सवारी हुनु दुई घण्टाअगाडि सवारीसाधनको आवतजावत रोकिन्थ्यो । हिँड्न पनि रोक लगाइन्थ्यो । बाटो पूरै खाली गराएर राजा सवारी हुन्थे । राजा हटाएर जनताका छोराछोरी राष्ट्रप्रमुख भए । उच्च पदमा पुगे । तर, सिस्टम परिवर्तन हुन सकेन । भूपू राष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारी त गणतन्त्रको राजा नै भइहाले ।

उनीहरु सवारी हुनु दुई घण्टाअगाडि नै पूरा बाटो खाली गराइन्थ्यो । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल अलिक फरक देखिएका छन् । उनी सवारी हुँदा एकतर्फीको बाटो खाली गराइन्छ । तर, साइरन बजाउने र सुरक्षाकर्मी दौडाउने क्रम जारी नै छ । अहिले पनि राष्ट्रपति सवारी हुँदा सयौं सुरक्षाकर्मी परिचालन गरिन्छ । बाटोभरि सुरक्षाकर्मी उभ्याइएको हुन्छ । सुरक्षाकर्मी उभ्याउनुप¥योचाहिँ किन ? देखाउनका लागि ? उता, छिमेकीले सीमा मिचेको मिच्यै छन्, सुरक्षाकर्मी जति सबै उच्चपदस्थ भनाउँदाहरुको पछाडि खटिएका छन् ।

अनि सीमाको सुरक्षा कसले गर्ने ? देश ठूलो कि यिनीहरुको नौटंकी ? सुरक्षाकर्मीलाई अगाडि–पछाडि दौडाउनुको साटो सीमामा पठाए त छिमेकीले ज्यादती गर्न सक्दैनथिए कि ? अन्यको पारा पनि त्यस्तै छ । प्रधानमन्त्रीदेखि लिएर विपक्षी दलका नेताको गाडीसमेत त्यसरी नै दौडिएको हुन्छ । यिनीहरुको गाडी हुँइकेको देख्दा सर्वसाधारणको सातो जान्छ । यताउता हेर्दैनन्, हुँइक्याउँछन् ।

उनीहरुको गाडीले सर्वसाधारणलाई ठक्कर दियो भने कसले जिम्मा लिन्छ ? आफूहरु व्यस्त छौं भनेर देखाउनका लागि त्यसरी गाडी गुडाएका होलान् । तर, जनताले तिनका काम त देखिसकेका छन् । गाडी दौडाएअनुसारको रफ्तारमा काम गरेको भए आज देश कहाँ पुगिसक्थ्यो । मुलुकको व्यवस्था परिवर्तन भयो । विडम्बना, राजाले ल्याएको व्यवस्थामा परिवर्तन हुन सकेन ।

अहिलेका नेताहरुले आफूलाई गणतन्त्रको राजा ठानेका छन् । जनताको सेवक हुनुपर्नेहरुमा शासक बनेका छन् । नेताहरु जनताका लागि काम गर्छौं भनेर भाषण ठोक्छन् । तर, अहिलेसम्म के गरे ? जनता हिजो जहाँ थिए, आज पनि त्यहीँ छन् । जनताले खान नपाएर आत्महत्या गर्नुपर्ने अवस्था छ । विदेश पलायन हुने नेपालीको संख्या दिन–प्रतिदिन बढेको बढ्यै छ । विकासको मूल फुटाउँछौं भन्छन् तर कतै विकासको थोपो देखिँदैन ।

सभामुख देवराज घिमिरे साइरन बजाएर दौडिँदै संसद् भवन पुग्छन् । उनको गाडी हुइँकेको देख्दा कानुन बनाउन साह्रै हतारो भएझैँ लाग्न सक्छ । तर, अहिलेसम्म उनले कतिवटा विधेयक पारित गराउन सके त ? वर्षौं बित्न लागिसक्यो, बल्लतल्ल मिटरब्याजको विधेयक पारित भएर कानुन बन्यो । भूपू प्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा, माधवकुमार नेपालको सवारी हुइँकेको देख्दा बालुवाटारमा ठूलै निर्णय हुन लागेकोझैँ महसुस हुन्छ । तर के निर्णय गर्नु ? बालुवाटार जाने, गफ ठोक्ने अनि चिया खाने ।

यिनीहरुको सवारीका कारणले सर्वसाधारणले कति सास्ती पाउँछन् ? कतिपयको ज्यानमाथि नै जोखिम पर्न सक्छ । एक मिनेटमात्र ढिलो भयो भने बिरामीको ज्यान जान सक्छ । सरकारका कर्मचारीलाई फरक नपर्ला तर निजी कार्यालयमा काम गर्नेहरुलाई समयले निकै प्रभाव पार्छ । समयमा कार्यालय पुगेन भने जागिर जान सक्छ । तलब काटिन्छ ।

नेताका कारणले जनतामा परेको क्षतिको भर्पाइ कसले गर्ने ? बूढापाका भन्छन्, ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन र अर्काको घर पनि भत्काउँछ ।’ हामीकहाँ ठ्याक्कै त्यस्तै अवस्था छ । नेताहरु आफू त काम गर्दैनन्, अरुलाई पनि गर्न दिँदैनन् । हावा बोलेको भरमा उनीहरुले पो खान पाउँछन्, जनताले त पाउँदैनन् ।

सबैभन्दा धेरै वर्षा जेठ, असार र साउनमा हुन्छ । यो खेतीको सिजन हो । यति बेला खेती गरेन भने वर्षको नौ महिना खान पाइँदैन । तीन महिनाचाहिँ रातदिन नभनीकन काम गरिन्थ्यो । तीन महिनाको दुःखले नौ महिना बसेर खान पुग्थ्यो । बूढापाकाले अहिले पनि भन्छन्, ‘बर्खाको बेलामा मान्छे नै मरे पनि छोपेर खेतीमा गइन्थ्यो । नभए त भोकले अरु सदस्य पनि मर्नुपथ्र्यों ।’

नेपाललाई कृषिप्रधान देश भनिन्छ । अब कृषिप्रधान होइन, आयातप्रधान देश नामाकरण गरे हुन्छ । असारको समयमा जनतालाई भेला गराएर भाषण ठोक्छन् । देशलाई कृषिमूलक बनाउने, विकास गर्नेलगायतका खोक्रो भाषण गर्छन् । यिनीहरु जुन कार्यक्रममा पुग्छन्, त्यहीँबाट लखेट्नुपर्ने । किसानले मल पाइरहेका छैनन्, देशलाई कृषिमूलक बनाउँछु भन्दै हिँड्न यिनीहरुलाई लाज लाग्दैन ?

लाज पचेकाहरुको विरोध गर्न अब जनताले सिक्नुपर्छ । कहिलेसम्म यस्ताको खोक्रो भाषण सुनिरहने ? बसमा सहचालक हुने क्षमता नभएकालाई देश चलाउने जिम्मा दिएर विकास हुन्छ ? चप्पल लगाउन नसक्नेहरु आज खर्बौंको मालिक बनेर बसेका छन् । सात पुस्तालाई पुग्ने सम्पत्ति जोडेका छन् । नेता कस्ता हुन्छन् ? यिनीहरुको कारण सच्चा नेताहरु बद्नाम बनेका छन् ।

नेपाल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण देश हो । उर्वर भूमियुक्त देश हो । जलस्रोतको दोस्रो धनी देश हो । विडम्बना, यहाँ नै सबैभन्दा धेरै खाद्यान्न आयात गर्नुपर्ने बाध्यता छ । हरेक वस्तुमा नेपाल परनिर्भर छ । नेताहरुले भएका उद्योग, कलकारखाना पनि बन्द गराइदिए । मुलुकलाई गरिब देखाएर विदेशीबाट डलर ल्याउँदै खाने काम नेताहरुले गरे । अझै पनि सर्वसाधारण यिनीहरुको झोले बन्ने कि ? देश त सकाइहाले ।

आज नेपालीलाई नेपाली भन्न लाज लाग्छ । नेपालीको आँखा अहिले नखुले कहिले खुल्ने ? नेताहरुले अलमल्याइरहेका छन्, जनता तिनकै पछाडि लागिरहेका छन् । जनतामा चेतना नआएसम्म नेताहरुले घुमाइरहन्छन् । देशको विकास त कल्पनाबाहिरको कुरा हो । गणतन्त्र भनेको छ । तर व्यवस्था पुरानै, नाममात्रै फरक भएको देखिन्छ ।
– अनुसा थापा, भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्