सामूहिक हत्या प्रकरणमा संलग्नलाई पक्राउ नगरेसम्म आफन्तले शव नबुझ्ने



मुगु। 

छाँयानाथ रारा नगरपालिका-६ मुन्दु गाउँमा भएको सामूहिक हत्या  प्रकरणमा संलग्न व्यक्तिहरूलाई पक्राउ नगरेसम्म आफन्तले  शव  नबुझ्ने अडान कायमै राखेका छन्। शवको पोष्टमार्टम भएको चारदिन बितिसक्दा पनि आफन्तले बुझ्न मानेका छैनन्।

सामूहिक हत्या भएको  एक हप्ता भइसकेको छ।  प्रहरीले हालसम्म घट्नामा संलग्नलाई पक्राउ गर्न सकेको छैन।  मृतकहरूको शव पोष्टमार्टमका लागि कार्तिक ११ गते जिल्ला अस्पताल ल्याइएको थियो । कार्तिक १२ र १३ गते शवको पोष्टमार्टम भइसकेको छ। शव तत्काल नउठाए अस्पताल क्षेत्र नै दुर्गन्धित हुने जिल्ला अस्पातका चिकित्सक अर्जुन भामले जानकारी दिए ।

कार्तिक ८ गते एकै परिवारका २८ वर्षीया श्रीदेवी बोहोरा,सात महिने छोरा रहर  ८ वर्षीया छोरी अप्सरा बोहोरा र ११ वर्षीय छोरा मनोजको धारिलो हतियार प्रयोगबाट हत्या भएको थियो। ‘शवहरू अस्पातालमा छन्। आफन्तहरूले अहिलेसम्म खान  र सुत्न समेत पाएका छैनन्।  प्रहरीले ढिलो चाँडो भएपनि घटनामा संलग्न व्यक्ति समातेर कानुनी प्रक्रियामा ल्याउँछौँ भनेर आश्वासन दिएको छ,’पीडितका आफन्तले भने।

घट्नामा संलग्नलाई पक्राउ नगरेसम्म शव नबुझ्ने  पीडित पक्षले अडान लिएपछि शव नउठेको छाँयानाथ रारा नगरपालिका-६ का वडा अध्यक्ष मृतक श्रीदेवीका काका खेम रावलले बताए।

कार्तिक ११ गते नेपालगञ्जबाट तालिम प्राप्त कुकुर र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्रहरीको विशेष टोलीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्