रथी पदोन्नति प्रक्रियाबारे सम्प्रेषित भ्रमपूर्ण फैलाउने प्रयत्न हुनु खेदजनक



काठमाडाैं ।

नेपाली सेनाको रथी दर्जामा पदोन्नतिका लागि ताराध्वज पाण्डेको नाम सिफारिस भएपछि विभिन्न सञ्चारमाध्यममा आएका सामग्रीको नेपाली सेना जङ्गी अड्डाले खण्डन गरेको छ ।

रथी दर्जामा पदोन्नति प्रक्रियाबारे सम्प्रेषित सामग्री भ्रमपूर्ण रहेको जनाउँदै सेनाले भ्रम फैलाउने प्रयत्न हुनु खेदजनक रहेको जनाएको छ ।

सेनाले भनेको छ, ‘स्वीकृत दरबन्दीमा रिक्त हुने पदमा प्रचलित ऐन, नियमावली लगायतका कानूनी प्रावधान एवं नेपाली सेनाको स्थापित अभ्यास अनुरूप नै पदोन्नतिको प्र्र्र्र्र्रक्रिया अघि बढेको र सम्बन्धित पदाधिकारीको योग्यता तथा उमेर सम्बन्धी कागजातहरू विगतमा नै सम्बद्ध शिक्षण संस्था लगायतका निकायहरूबाट यकिन भइसकेकोमा संस्थाको विधिसम्मत प्रक्रियालाई विवादित तुल्याउने आशयले भएको टीकाटिप्पणीमा सत्यता नरहेको व्यहोरा जानकारी गराइन्छ ।

पदोन्नतिका क्रममा कुनै गुनासो वा सुझाव भएमा सम्बन्धित विभागमा सप्रमाण प्रतिवेदन गर्न सकिने अवस्था हुँदाहुँदै परिचय लुकाएर सम्बद्ध पदाधिकारीको चरित्र हत्या गर्ने एवं संस्था र नेतृत्वलाई विवादमा तान्ने ढंगले सञ्चारमाध्यममार्फत भ्रम फैलाउने प्रयत्न हुनु खेदजनक छ ।’

प्रारम्भिक चरणमै रहेको प्रक्रियामा विभागीय मन्त्री लगायत राजनीतिक नेतृत्व र प्रधानसेनापतिको स्वार्थ र दबाब रहेको भन्ने आरोप निराधार एवं कपोलकल्पित रहेको भन्दै नेपाली सेनाले खण्डन गरेको छ । हरेक तह वा दर्जामा पदोन्नतिको स्पष्ट प्रावधान र प्रक्रिया रहेको नेपाली सेनामा व्यक्ति विशेषको पदोन्नतिका लागि राजनीतिक नेतृत्वबाट दबाब रहेको भन्नुमा कुनै सत्यता नरहेको सेनाले जनाएको छ ।

सेनाका अनुसार, ‘विधि, पद्धति र लामो समयको स्थापित अभ्यासहरूबाट निर्देशित भई क्रियाशील नेपाली सेनाका बारेमा भ्रम फैलाउने ढंगले पूर्वाग्रह प्रेरित सामग्रीहरू सम्प्रेषण नगरिदिन सम्बद्ध जिम्मेवार मिडियाकर्मीहरूमा अनुरोध छ ।’

 

प्रतिक्रिया दिनुहोस्