इजरायलबाट फर्किइन् फुटबलर सावित्रा



काठमाडौैं ।

इजरायलमा व्यवसायिक फुटबल खेलिरहेकी नेपाली फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ स्वदेश फर्किएकी छन् । उनी बुधबार राति काठमाडौँ आइपुगेकी हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले स्वागत गरे । इजरायलको हापोएल रानाना फुटबल क्लबमा अनुबन्धित सावित्रा युरोपेली लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

इजरायलमाथि प्यालेस्टिनी विद्रोही समूह हमासले आक्रमण गरेपछि त्यहाँ घरेलु तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएको छ । फुटबल गतिविधि बन्द भएपछि उनी नेपाल फर्किएकी हुन् ।

युरोपेली फुटबल महासंघ (युएफा) मातहतको इजरेली प्रिमियर लिग खेल्न उनी गत साउन १६ गते इजरायल उडेकी थिइन् ।इजरायलमा गत शनिबार बिहान हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । केही विद्यार्थी घाइते भएका छन् । इजरायलमा जोखिमपूर्ण अवस्थामा रहेका नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन सरकारले नेपाल एयरलाइन्सको जहाज पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्