दशैँ मान्न उपत्यका छाड्ने बढे : दैनिक २ हजार सवारी साधन बाहिरिँदै



काठमाडौं । दशैँको पूर्वसन्ध्यामा यातायात व्यावसायीले अग्रिम टिकट बुकिङ गरेसँगै उपत्यका छाड्नेको संख्या बढ्न थालेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले दैनिक करिब २ हजार सवारी साधन उपत्यकाको नाकाबाट बाहिरिने गरेको जानकारी दिनुभयो ।

अग्रिम बुकिङ खुलेको चार दिनमै काठमाडौंबाट बाहिरिनेको संख्या अत्यधिक देखिएको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘यो वर्ष गत वर्षभन्दा बढीले उपत्यका छाड्ने देखिएको छ । सबै नाकामा यात्रुको संख्या बढ्न थालेको छ । काठमाडौंको नागढुंगा, बल्खु, कोटेश्वर, पासाङ ल्हामु, टोखा छहरे, चापागाउँलगायतका नाकाबाट यात्रु बाहिरिने क्रम बढेको छ ।’ उहाँका अनुसार २७ गते लोकसेवा आयोगको परीक्षा हुने भएकोले सुदूरपश्चिम यात्रा गर्नेको संख्या ह्वात्तै बढेको छ । व्यावसायीहरूका अनुसार यो वर्ष करिब २५ लाख जनसंख्याले उपत्यका छाड्ने अनुमान गरिएको छ ।

१० दिनमा करिब १६ लाखलाई टिकट व्यवस्थापन गर्न कठिन रहेको जिकिर गर्दै सिटौलाले भन्नुभयो– ‘सरकारको केही तयारी छैन, तैपनि २२ गतेबाट बुकिङ खुला गरेर यात्रुको माग पूरा गर्ने तयारी थालेका छौं ।’ महासंघले सकेसम्म सबै यात्रुलाई टिकट दिएर यात्रा गराउने तयारी गरिरहेको जनाएको छ । सरकारले अनलाईनबाट टिकट काट्न सक्ने व्यवस्था गराएको जानकारी गराए पनि प्रभावकारी हुन नसकेको व्यवसायीको भनाइ छ ।

दशँैमा घर जानेको संख्या बढेसँगै राजमार्गको दयनीय अवस्था देखेर व्यवसायी दिक्क छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालाले लगातार सुख्खा पहिरो जाने पृथ्वीराजमार्गको अवस्था दुरुस्त राख्न आग्रह गर्दा समेत ढिलाई भइरहेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष सिटौलाले पृथ्वी राजमार्गअन्तर्गत नारायणगढ–मुग्लिङ, नारायणगढ–बुटवल, मुग्लिङ–पोखरा, बीपी, अरनिको, ढल्केबर, काठमाडांै–दक्षिणकाली, फाखेललगायतको अधिकांश सडकमा खाल्डाखुल्डी रहेको कारण सवारी दुर्घटनाको जोखिम भएको बताउनुभयो । उहाँले यस्तो अवस्थामा दशैँमा घर फर्कने उपत्यकावासीको हितको लागि टिकट बुकिङ ख्ुला गरेको बताउनुभयो ।

यसैबीच दशैँतिहार सुरक्षार्थ ५० हजार ५ सय ३० प्रहरी परिचालन हुने भएका छन् । प्रहरीले यात्रा सहज गर्न देशभर १ हजार ८ सय ट्राफिक प्रहरी परिचालित हुनेछन् । त्यसबाहेक उपत्यकामा १४, कोशी ४५, मधेशमा ३७, वागमतीमा ४५, गण्डकीमा २१, लुम्बिनीमा ५०, कर्णालीमा १४ र सुदूरपश्चिम प्रदेशमा ३५ वटा नागरिक सहायताकक्ष स्थापना गरिएको छ ।

–सडक सास्ती कायमै
–राजमार्गको दयनीय अवस्थाले व्यवसायी दिक्क

टिकटमा कालो बजारी गर्ने, दोस्रो व्यक्तिले टिकट बिक्री गरेर यात्रु ठग्नेलगायतका कामलाई निरुत्साहित गर्न प्रहरीले बसपार्क र अन्य स्थानमा सादा पोशाकको विशेष गस्ती शुरू गरेको छ ।

टिकटको कालो बजारी बढ्न सक्ने, एउटै टिकट पनि धेरैजनालाई बेचिन सक्ने, आरक्षित सिट अन्य व्यक्तिले ओगट्न सक्ने, यात्रुको चापअनुसार सवारी साधनको व्यवस्थापनमा कठिनाई हुन सक्ने, छतमा यात्रु र सामान राखिन सक्ने, अपरिचित व्यक्तिले नशालु पदार्थ खुवाई लुट्न सक्नेलगायतको गतिविधि रोक्न प्रहरी परिचालित भएको हो ।

त्यस्तै, लामो दूरीका सवारी साधनहरूमा दुईजना चालक राखे नराखेको विषयमा अनुगमन गर्न छुट्टै प्रहरी टोली परिचालन गरिएको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले दशैँमा उपत्यका छाड्ने यात्रुहरूलाई सुरक्षित गन्तव्यमा पु¥याउन विभिन्न क्षेत्रमा प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘विशेषगरी यात्रुलाई सहजता प्रदान गर्न सबै सरोकारवाला निकायसँग छलफल गरेका छाँै, सोहीअनुसार यात्रा गरिरहेका छन् । प्रहरीले बसभित्र मादक पदार्थ र लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने, तीव्र गतिमा सवारी साधन चलाउने गर्दा दुर्घटना हुने खतरालाई रोक्न प्रहरीले सबै उपाय अबलम्बन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्