२ सय ६५ नेपाली इजरायलबाट फर्काइँदै



काठमाडौं । इजरायलमा प्यालेस्टिनी लडाकु समूहले आक्रमण गरेका कारण अलपत्र परेका नेपाली नागरिकलाई लिन नेपाल वायुसेवा निगमको जहाज त्यसतर्फ प्रस्थान गरेको छ ।

परराष्ट्रमन्त्री एनपी साउद आफंै नेपाल वायुसेवा निगमको वाइडबडी लिएर बुधबार राति ११ बजे इजरायल जानुभएको हो ।

काठमाडांैबाट दुबईको नियमित उडानमा रहेको उक्त जहाज दुबईबाट इजरायल गएर त्यहाँबाट फर्कन चाहने २ सय ६५ नेपाली विद्यार्थीलाई लिएर दुबई हँुदै नेपाल फर्कने नेपाल वायु सेवा निगमले जनाएको छ । ती विद्यार्थीहरूको टिकट खर्च सरकारले नै बेहोर्ने भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा रहेका नेपालीमध्ये ४ सयजना जतिले उद्धारका लागि तेलअभिभस्थित नेपाली दूतावासमा आग्रह गरेकाले सोहीअनुसार उद्धारको प्रक्रिया अघि बढाइएको हो । यद्यपि, बाँकी नेपालीको हकमा भने अहिलेसम्म कुनै निर्णय भएको छैन ।

उक्त जहाजले इजरायलमा प्यालेस्टिनी आक्रमणमा मारिएका १० जना नेपाली विद्यार्थीको शव पनि ल्याउने अपेक्षा गरिएको भए तापनि ती शवहरू तत्काल ल्याउन नसकिने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले इजरायल सरकारको प्रोटोकलअनुसार शव तत्काल ल्याउन नसकिने जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो– ‘हामीले शव ल्याउनका लागि पहल गरिरहेका छौं तर त्यहाँ अहिले पनि युद्धकै अवस्था रहेकोले उहाँहरूले शव व्यवस्थापनका विषयमा केही सोच्नुभएको छैन । त्यसैले शव तत्काल ल्याउन नसकिने अवस्था सिर्जना भएको हो ।’

गत शनिबार प्यालेस्टाइनमा रहेको हमासले इजरायलमा अन्धाधुन्ध आक्रमण गरेपछि त्यहाँको अवस्था जटिल बन्दै गएको छ । रोजगारीका लागि दक्षिण इजरालयमा रहेका नेपालीहरूले द्वन्द्वको चपेटामा परेपछि उद्धारका लागि सरकारसँग पटकपटक आग्रह गरिरहेका छन् ।

अहिले दक्षिण इजरायलमा रहेका विदेशी नागरिकलाई इजरायल सरकारले उद्धार गरेर सुरक्षित स्थानमा पु¥याउने काम गर्दै आएको र सुरक्षित स्थानमा पुगेका विदेशी नागरिकले आ–आफ्नो देशलाई उद्धारको लागि आह्वान गरिरहेको अवस्था छ ।

गत शनिबार हमासको आक्रमणमा परी १० जना नेपाली मारिएका छन भने एक जना नेपाली विद्यार्थी बेपत्ता भएका छन् । इजरालयमा रहेका नेपालीहरूको उद्धारका लागि चौतर्फी रूपमा दबाब बढेपछि नेपाल सरकारले इजरायल सरकारलाई आग्रह गरेपछि उद्धारको अवस्था सहज बनेको हो ।

प्रतिक्रिया दिनुहोस्