तीनैवटा सुरक्षा निकाय प्रमुख विदेशमा



काठमाडौं । देशको सुरक्षास्थिति बेवास्ता गर्दै तीनैवटा सुरक्षा निकायका प्रमुख विदेश लागेपछि देश केही समयका लागि सुरक्षा निकायका प्रमुखविहीन बन्न पुगेको छ ।

नेपालका तीनैवटा सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरू विदेशतिर लागेपछि यतिखेर ती संगठनहरू निमित्तको भरमा चलेका छन् ।

नेपाली सेनाका प्रधानसेनापति गत आइतबार बेलायत प्रस्थान गर्नुभएको थियो । त्यसैको भोलिपल्ट सोमबार नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर पनि बेलायत सरकारको निमन्त्रणामा बेलायत जानुभएको हो । त्यसै गरी गत मंगलबार सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल पनि अमेरिकाको क्यालिफोर्नियातर्फ लाग्नुभएको छ ।

प्रधानसेनापति शर्मा बेलायतका चिफ अफ द जनरल स्टाफ प्याट्रिक स्यान्डर्सको औपचारिक निमन्त्रणामा बेलायत जानुभएको हो । उहाँको अनुपस्थितिमा निमित्त प्रधान सेनापतिको रूपमा बलाधिकृत रथी सरोजप्रताप राणाले सेनाको कार्यभार सम्हाल्नुभएको छ । प्रधान सेनापति शर्मा भोलि शुक्रबार नेपाल फर्कंदै हुनुहुन्छ ।

न्याय सुदृढीकरणसम्बन्धी कार्यक्रममा सहभागी हुन बेलायत जानुभएका प्रहरीका महानिरीक्षक कुँवरको पनि शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । महानिरीक्षक कुँवरको अनुपस्थितिमा निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी पाएका प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई पनि निमित्तको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापालाई सुम्पिएर अमेरिकाको क्यालिफोर्नियास्थित सानडिएगोमा आयोजना हुने इन्टरनेसनल एसोसिएसन अफ चिफ अफ पुलिस कन्फरेन्समा भाग लिन जानुभएको छ ।

त्यस्तै, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल पनि अमेरिकाको क्यालिफोर्नियामा आयोजना हुने इन्टरनेसनल एसोसिएसन अफ चिफ अफ पुलिस कन्फरेन्समा भाग लिन अमेरिका प्रस्थान गरेपछि निमित्त सशस्त्र प्रहरी महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्