१९औँ एसियाडमा नेपाली क्रिकेटको यात्रा टुङ्गियो 



हाङझाउ ।

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपाली क्रिकेटको यात्रा क्वाटरफाइनलबाटै टुङ्गिएको छ ।

नेपालले एसियाली खेलकुद अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनलमा सानदार ब्याटिङ प्रदर्शन गरे पनि भारतसँग २३ रनले पराजित हुँदै बाहिरिएको छ । जितको लागि २ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनायो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले १५ बलमा चार छक्कासहित सर्वाधिक ३२ रनको योगदान दिए । सन्दीप जोरा १२ बलमा १ चौका र ३ छक्कासहित २९ रनमा आउट भए । दीपेन्द्र र सन्दीप जोराले पाँचौँ विकेटका लागि २० बलमा ४८ रनको साझेदारी गरेका थिए । नेपालले विष्फोटक ब्याटिङका साथ भारतलाई खेलमा दवाबमा राखेको थियो । नेपाललाई जितको लागि १९ बलमा ४७ रन चाहिँएको थियो ।

सत्रौ ओभरको अन्तिम बलमा सोमपाल कामी ठूलो सटको धुनमा साई किशोरबाट आउट हुन पुगे । उनले ५ बलमा एक छक्का प्रहार गरे । लगत्तै अर्शदीप सिंहको अठारौं ओभरको पहिलो बलमा गुलशन झा लङअनमा जैसवालबाट क्याच आउट भए । नेपाली ब्याटरले छोटो तर आक्रामक प्रदर्शनका साथ खेललाई रोमाञ्चक बनाएका थिए ।

नेपालले एघारौँ ओभरमा दुई प्रमुख विकेट गुमाउनु नेपाललाई अर्को भारी पर्‍यो । स्पिनर रवि विश्रोईको चौथो बलमा कुशल मल्ल २९ रनमा क्याच आउट भए । ठूलो सट खेलेका कुशलको बल राहुल त्रिपाठीले लङअफमा सानदार क्याच लिँदै रवि विश्रोईलाई समात्न दिएका थिए ।

मंगलबार नेपाली महिला कबड्डी टोली भने पराजित भयो।  हाङझाव एसियाडको महिला कबड्डीमा नेपाल समूह चरणको दोस्रो खेलमा मङलबार पराजित भएको हो । चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको समूह ‘बी’ को आफ्नो दोस्रो तथा अन्तिम लिगमा नेपाल डिफेन्डिङ च्याम्पियन इरानसँग ४३–१९ ले पराजित भएको हो । नेपाल पहिलो हाफमा १९–११ ले पछि परेको थियो । इरानले दोस्रो हाफमा पनि अग्रता लिने क्रममा २४–८ स्कोर गर्यो । समूह ‘बी’ मा नेपाल र इरानसहित बङ्गलादेश गरी तीन राष्ट्र सम्मिलित छन् ।

नेपालले समूह चरणको पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले हराएको थियो । बुधवार हुने समूह ‘बी’ को अन्तिम लिगमा इरानले बङ्गलादेश विरुद्ध प्रतिस्पर्धा गर्नेछ । त्यो खेलमा इरान विजयी भए नेपालले एसियाडको महिला कबड्डीतर्फ पहिलो सहभागितामै समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाउने छ । सेमिफाइनल पुगे नेपालले कम्तीमा कांस्य पदक पक्का गर्दे जारी एसियाली खेलकुदमा पहिलो पदक समेत जोड्ने छ ।

त्यसैगरी मङ्गलवार ब्याडमिन्टनमा भने नेपाली खेलाडीले जितको स्वाद चाख्यो । ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रसिला महर्जन प्रिक्वाटरफाइनलमा प्रवेश गरिन् ।
बिन्जियाङ जिम्न्याजियममा १५ मिनेट चलेको उक्त खेलमा रसिलाले मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ को सोझो सेटमा पराजित गरिन् । यो स्पर्धासहित मंगलबार नेपालले चार स्पर्धामा प्रतिस्पर्धा गरेको थियो । बाँकी तीनमा भने नेपाल पराजित भएको थियो । महिला सिंगल्सको अर्को खेलमा भने थाइल्यान्डकी पोर्नपावीले नेपालकी अनुमाया राईलाई सीधा सेटमा २१–१० र २१–४ ले हराइन् ।

महिला डबल्समा चाइनिज ताइपेईंका चिङ या सु र चिन वान लिनको जोडीले नेपालका निता लम्साल र नङशल तामाङको जोडीलाई २१–१ र २१–५ तथा इन्डोनेसियाका द्विपुजी कुसुमा फेब्रियन र काहाया प्रतिवी अमालियाको जोडीले नेपालका रसिला महर्जन र अनुमाया राईको जोडीलाई २१–३ र २१–७ को सोझो सेटमा पाखा लगाए ।

त्यसैगरी भारोत्तोलनको पुरुष ८१ केजीमा नेपालका विकास भट्टले स्न्याचमा १ सय २० केजी र क्लिन एन्ड जर्कमा १ सय ४५ गरी जम्मा २ सय ६५ केजी भार वहन गरे । स्न्याचमा विकासले दोस्रो लिफ्टमा मात्र १ सय २० केजी वजन उचाल्न सफल भएका थिए । पहिलो लिफ्टमा पनि विकासले १ सय २० केजी वजन उचाल्ने प्रयास गरे पनि असफल भए । तेस्रो लिफ्टमा उनले १ सय २५ केजी तौल उठाएर स्न्याचमा आफ्नै नाममा रहेको १ सय २४ केजीको राष्ट्रिय कीर्तिमान सुधार गर्ने प्रयास गरेका थिए । उनले १ सय २५ केजी वजन उठाउन सकेनन् ।

क्लिन एन्ड जर्कमा पहिलो लिफ्टमा १ सय ४५ केजी तौल उठाउने प्रयास गरेका विकास दोस्रो लिफ्टमा मात्र त्यत्ति नै  वजन अर्थात् १ सय ४५ केजी नै उचाल्न सफल भए । तेस्रो लिफ्ट विकासले १ सय ५० केजी उठाउने तयारी गरे पनि सफल भएनन् । १ सय ५० केजी वजन उचालेको भए विकासले आफ्नै नाममा रहेको १ सय ४८ केजीको राष्ट्रिय कीर्तिमान भंग गर्ने थिए । अब नेपालबाट दुई पुरुष खेलाडी विशालसिंह विष्ट र सागर भण्डारीले खेल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्