मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा विश्व रेकर्ड प्रयास



काठमाडौँ। 

मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले विश्व रेकर्ड कायम प्रयास गरेका छन् । विश्व मुटु दिवसको अवसर पारेर   डा.  अनिलले  शुक्रबार साँझ आफ्नो  फेसबुक  लाइभमार्फत दिएको मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रस्तुतिले विश्व रेकर्ड कायमको प्रयास भएको हो ।

फेसबुक लाइभमा कार्डियोभास्कुलर स्वास्थ्य जागरुकता लाइभ स्ट्रिमको लागि धेरै दर्शकहरु भन्ने  शीर्षकमा डा.  अनिलले गिनिज वर्ल्ड रेकर्ड्स कायमका निम्ति प्रयास गरेका थिए ।

शुक्रबार बेलुका ७ : १५ बजेदेखि सुरु भएको आधा घण्टा लामो जनचेतनामूलक प्रस्तुतिमा ११ हजार ३ सय जनाले प्रत्यक्ष अवलोकन गरेका थिए। विश्व रेकर्ड कायम  हुनका लागि पाँच हजारभन्दा बढी  प्रत्यक्ष दर्शकको आवश्यकता पर्छ।  उक्त भिडियोलाई ९ हजार जनाले शेयर गरेका थिए ।त्यस्तै भिडियोमा  २० हजार लाइक र १८ हजार कमेन्ट आएको थियो ।

फेसबुक लाइभ सम्पन्न हुँदासम्म १ लाख ५० जनाले भिडियो हेरेका थिए ।

गिनिज वल्र्ड रेकर्डको सबै मापदण्ड पूरा गरी डा. ओम मूर्ति अनिलले रेकर्ड कायमको प्रयास गरेका छन् । अब गिनिज वल्र्ड रेकर्डका निम्ति उनले आफ्नो दाबी पेस गर्ने छन्  । डा. ओम मूर्ति अनिलले गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गर्न भने केही दिन लाग्नेछ ।

 फेसबुक लाइभमा जोडिने, शेयर गर्ने, कमेन्ट गर्ने र लाइभमा आउनका लागि उत्प्रेरित गर्ने सबैलाई डा. ओम मूर्ति अनिलले धन्यवाद दिएका छन् । साथै उनले  सबै नेपालीको मुटु स्वस्थ रहोस् भन्ने कामना पनि गरेका छन् ।

नेशनल कार्डियक सेन्टरका संस्थापक डा. ओम मूर्ति अनिलले मुटुरोगको रोकथामका निम्ति लामो समयदेखि फेसबुक पेज मार्फत जनचेतनामूलक अभियान जारी गर्दै आएका छन्  ।

प्रतिक्रिया दिनुहोस्