‘सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको छ’

१३ वटा समझदारीपत्रमा हस्ताक्षर



काठमाडौं । चिनियाँ प्रधानमन्त्री छ्याङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताउनुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डसँगको द्विपक्षीय भेटवार्ताका क्रममा उहाँले द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढीकरण गर्न भ्रमणबाट थप सहयोग पुगेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी लि छ्याङबीच चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा सोमबार भेटवार्ता भएको थियो ।

उहाँले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री प्रचण्डको भेटमा दुई देशबीच सम्बन्धका विविध आयाममाथि छलफल हुनु सुखद रहेको पनि उल्लेख गर्नुभएको थियो । चीन नेपालको सदियौं पुरानो छिमेकी रहेको र चीनले सधैं नेपालको विकास, समृद्धि र हित चाहेको जिकिर गर्दै चिनियाँ प्रधानमन्त्री छ्याङले भन्नुभयो– ‘राष्ट्रपति सीको सन् २०१९ मा भएको नेपाल भ्रमणदेखि रणनीतिक साझेदारीको सहकार्यसहित नेपाल–चीन सम्बन्धमा नयाँ आयाम एवं उचाइ थपिएको छ । नेपालको विकासका लागि सहकार्य गर्न चीन सदैव तत्पर छ ।’

प्रधानमन्त्री प्रचण्डले भने नेपाल अहिले सामाजिक र आर्थिक विकासमा केन्द्रित रहेको जानकारी दिँदै नेपालले संक्रमणकालीन न्यायसम्बन्धी कार्य छिटो टुंगोमा पु¥याउन काम गरिरहेको बताउनुभएको थियो । दुई प्रधानमन्त्रीबीच वार्ता शुरू हुनुअघि प्रधानमन्त्री प्रचण्डको स्वागातार्थ चिनियाँ जनमुक्ति सेनाले सैनिक सलामी ‘गार्ड अफ अनर’ दिएको थियो ।

यसअघि प्रधानमन्त्री प्रचण्डले चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष झाओ लेचीसँग पनि भेट गर्नुभएको थियो । झाओले प्रधानमन्त्री प्रचण्डलाई चीनले यो भ्रमणलाई विशेष महत्व दिएको चर्चा गर्दै नेपालको विकासमा सहकार्य गर्न चीन तत्पर रहेको बताउनुभएको बताइएको छ । उहाँले दुई देशको सम्बन्धलाई मजबुत बनाउन दुई देशका शीर्ष नेताहरूबीच भएको सहमति कार्यान्वयन गर्न चिनियाँ राष्ट्रिय जनकंग्रेस नेपाली संसद्सँग सहकार्य गर्न इच्छुक रहेको पनि बताउनुभएको थियो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष झाओलाई नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेकोमा आश्वस्त पार्नुभएको थियो ।

सोमबार नै प्रधानमन्त्री प्रचण्डले बेइजिङको तियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओ चतोङको समाधीस्थलमा पुगी श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

१३ वटा समझदारीपत्रमा हस्ताक्षर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको औपचारिक भ्रमणमा रहेका बेला नेपाल र चीनबीच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र उहाँका चिनियाँ समकक्षी लि छ्याङबीच ग्रेट हल अफ दि पिपुलमा भएको द्विपक्षीय वार्तापछि दुई प्रधानमन्त्रीको उपस्थितिमा ती समझदारीपत्रहरूमा हस्ताक्षर भएको हो ।

नेपाल र चीनबीच प्रकोप सामग्री, मानव संशाधन र हिल्सा–सिमकोट सडक परियोजनाका विषयमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

नेपालको उत्तरी पहाडी क्षेत्रमा विभिन्न वस्तुको उत्पादन र वितरणसम्बन्धी सन् २०१७ को नेपाल–चीन समझदारीपत्रका आदानप्रदानका साथै चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थमन्त्रालयबीच डिजिटल अर्थतन्त्र बढाउने विषयमा पनि सम्झौता भएको छ ।

त्यसै गरी वन तथा वातावरण मन्त्रालय र चीनको राष्ट्रिय विकास र सुधार आयोगबीच हरित तथा न्यून कार्बन विकासका लागि सहकार्य गर्ने र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र चिनियाँ प्रेस तथा प्रकाशन विभागबीच प्राचीन ग्रन्थ अनुवाद र प्रकाशन गर्ने विषयमा पनि हस्ताक्षर भएको छ । ती सम्झौताहरूमा राजदूत श्रेष्ठले र चिनियाँ अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।

नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास र सुधार आयोगबीच सहकार्यका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा आयोगका उपाध्यक्ष डा. मीनबहादुर क्षेष्ठ र चिनियाँ अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।

नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीनको कृषि तथा ग्रामीण सम्बन्ध मन्त्रालयबीच कृषि, पशुपन्छी र माछापालनको विकासका लागि सहकार्य गर्ने विषयमा पनि सहमति भएको छ । त्यसै गरी चीनको सामान्य प्रशासन, भन्सार मन्त्रालय र नेपालको कृषि र पशुपन्छी विकास मन्त्रालयबीच नेपालबाट चीनमा औषधी उत्पादनका लागि वनस्पति निर्यातसम्बन्धी प्रोटोकलमा पनि हस्ताक्षर भएको छ । उक्त सहमति र प्रोटोकलमा पशुपन्छी विकास सचिव डा. रेवतीरमण पौडेल र चिनियाँ अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।

नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच सन् १९८१ मा भएको नेपाल–चीन व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्यसमूह गठन गर्ने विषयमा भएको सहमतिमा वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीबीच हस्ताक्षर भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य गर्ने विषयमा शिक्षा सचिव सुरेश अधिकारी र चिनियाँ अधिकार%LS

प्रतिक्रिया दिनुहोस्