विधानलाई बेवास्ता गर्दै २१ महिनामा ३२ मनोनीत



काठमाडौं । नेपाली कांग्रेसले विधानलाई बेवास्ता गर्दै २१ महिनामा बल्ल ३२ केन्द्रीय सदस्य मनोनीत गरेको छ । कांग्रेसको विधानमा महाधिवेशन सकिएको ६ महिनाभित्र केन्द्रीय समिति र विभागहरूलाई पूर्णता दिनुपर्ने उल्लेख छ । २०७८ सालको मंसिरमा भएको १४औं महाधिवेशनदेखि बिहीबार असोज ४ सम्ममा सभापति शेरबहादुर देउवाले ३२ केन्द्रीय सदस्य र १६ विभागको नेतृत्व मात्रै मनोनीत गर्नुभएको हो ।

सभापति देउवाले बिहीबार नेता चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभयो । पार्टी बैठकको पूर्वसन्ध्यामा मनोनीत हुनेहरूमा गुल्मीका चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाईं, बागलुङका किरणराज शर्मा पौडेल, रूपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रूगंटा रहेका छन् ।

दोस्रो कार्यकाल पार्टी सभापति भएका देउवामाथि पार्टीमा पुरानै परम्पराअनुसार चलेको आरोप लाग्ने गरेको छ । महाधिवेशन सकिएको ६ महिनाभित्र केन्द्रीय सदस्यदेखि विभागहरूमा मनोनीत गरिसक्नुपर्ने भए पनि आफूले मनोनीत गर्न पाउने पदमा समेत ढिलासुस्ती देखिएको केन्द्रीय नेताहरूले टिप्पणी गरेका छन् । कांग्रेसमा १ सय ३४ जना केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित हुने र सभापतिले ३३ जना सदस्य मनोनीत गर्न पाउने अधिकार विधानले दिएको छ भने सभापतिसहित १ सय ६८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ ।

सभापतिमा पराजित उम्मेदवार स्वतः केन्द्रीय सदस्य हुनेछन् । पार्टीको ७० मध्ये अहिलेसम्म १६ विभाग प्रमुख मात्रै तोकिएका छन् । सभापति देउवाले १४ औं महाधिवेशनमा नेता शेखर कोइराला प्यानलबाट महामन्त्री उम्मेदवार मीनेन्द्र रिजाललाई गत वैशाख २२ मा मात्रै केन्द्रीय सदस्य मनोनीत गर्नुभएको थियो । त्यसअघि उहाँले २०७९ सालको साउन ३१ गते महोत्तरीकी किरण यादव, काठमाडौंकी राधा घले, ललितपुरकी धना खतिवडा, धादिङकी उर्मिला थपलिया, मोरङकी रुकमिनी कोइराला, काठमाडौंकी कल्याणी रिजाल, झापाकी गोमा भट्टराई, रूपन्देहीकी गंगा शाही, सुनसरीकी लक्ष्मी खतिवडा र नवलपुरकी सीता देवकोटा गरी १० जनालाई केन्द्रीय सदस्य मनोनीत गर्नुभएको थियो ।

२०७८ साल पुस १७ गते सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य बनाउनुभएको थियो । त्यस्तै, १८ पुसमा सभापति देउवाले जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्य मनोनीत गर्नुभएको थियो । सभापति देउवाले राष्ट्रपति बन्नुभएका पौडेलको स्थानमा १ र अर्का एक गरी अझै २ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ भने पार्टी कोषाध्यक्ष कसलाई बनाउने भन्नेमा अझै अन्योल छ ।

केन्द्रीय सदस्यको योग्यतालाई लिएर पार्टीमा प्रश्न

यसैबीच मनोनीत केन्द्रीय सदस्यको योग्यतालाई लिएर पार्टीमा प्रश्न उठेको छ । केन्द्रीय समिति बैठकमा गण्डकी कांग्रेस सभापति शुक्रराज शर्माले सभापति शेरबहादुर देउवाले मनोनीत गर्नुभएको केन्द्रीय सदस्यहरूका विषयमा प्रश्न उठाउनुभयो ।

केन्द्रीय सदस्य बन्ने योग्यताबारे जानकारी माग्दै उहाँले प्रश्न गर्नुभयो– ‘केन्द्रीय सदस्य हुन के–के काम गर्नुपर्छ ? के–के काम गरेपछि मात्रै कांग्रेस सदस्य हुन पाइन्छ भन्ने मापदण्ड हुनुपर्छ कि पर्दैन ?’

विचार पु¥याएर मात्रै केन्द्रीय सदस्य मनोनीत गर्न सभापति देउवाको ध्यानाकर्षण गराउँदै उहाँले जथाभावी मनोनीत गर्दा संगठनलाई नै क्षति पुग्न सक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्