औषधि सहज उपलब्ध होस्



नेपाल औषधिका लागि परनिर्भर छ । नेपालको स्वास्थ्य सेवा विज्ञ विशेषज्ञदेखि सम्पन्न व्यक्तिका लागि भन्दा सर्वसाधारण नागरिकमा लक्षित छ । यस्तो अवस्थामा नेपालमा कतिपय जटिल अवस्थामा नभई नहुने औषधिको लागि सहजै औषधि प्राप्त हुने वातावरण बनाइयोस् । गत जेठ १९ गते सरोकारवाला निकायको छलफल र निष्कर्षका आधारमा औषधि व्यवस्था विभागले ४३ प्रकारका अत्यावश्यक औषधिको सूची सार्वजनिक गर्दै दर्ताको प्रक्रियामा आउन आह्वान गरेको छ । यो समयसान्दर्भिक विषय हो र यस्ता विषयको सम्बोधन गरी सर्वसाधारण नागरिकको स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकारको रक्षा गरियोस् ।

सूची दर्ताका लागि विभागले सार्वजनिक गरेका ४३ वटा औषधिमा अझै उमेर नपुगी जन्मने नवजात शिशुको फोक्सो सहज बनाउन मद्दत गरोस् भनेर प्रयोग गरिने औषधि सरफेसटेन्ट ५ एमएल औषधि ३० देखि ३२ हप्तामा जन्मने बच्चाका लागि माग गरिन्छ । तर नेपाल सरकार औषधि व्यवस्था विभागमा दर्ता छैन र प्राप्त गर्न निकै कठिन अवस्था छ । यो औषधि भारतको गुजरातमा उत्पादन हुन्छ । नेपालमा माग छ तर औषधि व्यवस्था विभागमा दर्ता नै नगरिएका कारण सर्वसाधारण नागरिकले खरिद गर्न कठिन बाटो अपनाउनुपर्ने अवस्था छ । यो औषधिले अपरिपक्व शिशुलाई जोखिम कम गर्न प्रयोग गरिन्छ । यो औषधि नपाएकै कारण ३० देखि ३२ हप्तामा जन्मिएका नवजात शिशुमा फोक्सोको समस्या, श्वासप्रश्वासको समस्या भएका कारण धेरैले ज्यान गुमाएको विषयमा विभिन्न अस्पताल, औषधि कम्पनी, औषधि व्यवस्था विभागलगायतका निकायको अनुगमनमा व्यस्तता देखाएर प्रचारका लागि बढी प्राथमिकता दिनुहुने स्वास्यमन्त्रीको ध्यान पुगोस् । यस्ता विषयमा स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग गम्भीर हुनु जरुरी देखिन्छ । औषधि अभावका कारण कसैले ज्यान गुमाउनु नपरोस् ।

यस्तै गर्भवती महिलाहरुमा देखिने उच्च रक्तचाप नियन्त्रणका लागि चलाइने औषधि पनि भारतीय कम्पनीले नै उत्पादन गर्छन् र नेपाली बजारमा पाउन चोरबाटो खोज्नुको विकल्प छैन । यसरी नेपालीले ज्यान बचाउन प्रयोग गरिने औषधि सहज र सर्वसुलभरुपमा नेपालमा पाउने व्यवस्थाका लागि नेपाल सरकारको ध्यान पुगोस् । गर्भावस्थामा उच्च रक्तचाप हुँदा प्रयोग गरिने औषधि सहजरुपमा प्राप्त नहुँदा धेरै आमा र बच्चाहरुको ज्यान गैरहेको छ । यसमा सरकारले ध्यान दिई आमा र नवजात शिशुको बाँच्न पाउने अधिकारको रक्षा गरोस् । यस्ता औषधि सहज र सरल ढंगबाट नेपालीले प्राप्त गर्न सकून् । नेपाली नागरिकले गम्भीर खालको निमोनिया हुँदा पनि औषधि अभावका कारण ज्यान गुमाउनुपर्ने अवस्था छ । यसको प्रमुख कारण नेपाल औषधि व्यवस्था विभागमा यस प्रकारका औषधि दर्ता नै छैनन् । नेपाल भित्रिने औषधिहरु चोरबाटोबाट भित्रिन्छन् र खरिद गर्न नसक्ने महँगो हुन्छ । यस्ता समस्या ठूला नेतालाई भएमा नेपालीको करबाट उठाएको रकम खर्चेर विदेशमा गई उपचार गराउँछन् तर सर्वसाधारणले नेपालमै उपचार गर्छु, औषधि पाऊँ भन्दा प्राप्त हुने अवस्था छैन । त्यसैले आवश्यक औषधिहरुको पहिचान गरी समयमै उपलब्ध गराउने व्यवस्था गर्नेतर्फ सरकारले चासो देओस् ।

प्रतिक्रिया दिनुहोस्