विकृत राजनीतिको असर



हाल नेपाली राजनीतिमा विभिन्न खाले विकृत खेल भइरहेका छन् । जातीय राज्यका कुराहरुसमेत उठ्न थालेका छन् र सत्ताधारीहरुले आफ्नो स्वार्थसिद्ध गर्न जातीय राज्यका कुराहरुसमेत उठाउन थालेका छन् । सत्ताधारीहरु यति धेरै घोर अवसरवादी बन्न पुगेका छन् कि उनीहरुको स्वार्थसिद्धका लागि जे गर्न पनि पछि नपर्ने अवस्था देखिएको छ । यो अत्यन्तै चिन्ताको विषय हो । यो सबै विकृति राजनीतिमा देखा परेको अपराधीकरणको उपज हो । त्यही विकृत राजनीतिक खेलका कारण समाजका सबै तह र तप्काका मानिसहरु विभाजित हुँदै एकले अर्कालाई सत्तोसराप गरिरहेका छन् । एकता, सद्भाव र समन्वय भन्ने कुरा विल्कुलै छैन । एकातिर सत्ताधारीहरु यस्तो विकृत खेलमा छन् भने अर्कोतर्फ शहरिया समाज पनि थप विकृतितर्फ उन्मुख भइरहेको छ । सत्ताको निकट रहने र सत्तामा प्रभाव पार्ने समूह भनेकै शहरिया समूह हो । तर त्यही शहरिया समूह पनि अहिले विभिन्न खाले विकृतितर्फ उन्मुख छ ।

अहिले सामाजिक सञ्जालहरुमा अभ्यस्त शहरीया व्यक्तिहरु एकले अर्कोलाई गालीगलौज गर्नमा नै धेरै समय बिताइरहेका छन् । यसो त गाउँ नै गाउँले भरिएको हाम्रो देशमा गाउँले जनतामा भने अनुशासन, सभ्यता र भद्रता यथावत् छ । उनीहरु खेतीपाती गर्ने र आफ्नै पौरखमा बाँच्नुलाई जीवनको सार्थकता ठान्छन् । एकता, सहकार्य र सहअस्तित्वलाई आफ्नो संस्कार ठान्ने ग्रामीण बासिन्दाबाट शहरीया बुज्रकहरुले साँच्चै नै सिक्नुपर्ने भएको छ । तर ठीक विपरीत शहरबजारमा बस्ने तथा आफूलाई शिक्षित र सभ्य ठान्ने व्यक्तिहरु अरुलाई होच्याउने, खुचिङ, खाइस् भन्ने र सकेसम्म आफूभन्दा इतरकालाई समाप्त गरेर आफू अघि बढ्ने धुनमा अभ्यस्त देखिन्छन् । राजनीति पनि अहिले यही दिशामा अग्रसर भइरहेको छ ।

राजनीतिशास्त्रको नियमानुसार राजनीतिक दलहरु हरेक राजनीतिक प्रणालीको जीवन रेखा (लाइफलाइन) नै हुन् । तर राजनीतिक प्रणालीको लाइफलाइनको रुपमा रहेका राजनीतिक दलका नेताहरुमा देखिएको भ्रष्ट संस्कृति, चिन्तन र अलोकतान्त्रिक चरित्रले शासकीय व्यवस्थामाथि नै गम्भीर समस्या आउन सक्ने संकेतहरु देखिन थालेका छन् । आम जनतामा निराशा अत्यधिक बढ्दो छ । राजनीति र प्रशासनविरुद्ध जनतामा आक्रोश छ । तर पनि हाम्रो राजनीतिक र प्रशासनिक नेतृत्व सच्चिन तयार छैनन् । बालुवाटार र सिंहदरबारका आलिसान महलका घुम्ने मेचमा बस्नेहरुले देश र जनता एकदमै ठीकठाक अवस्थामा रहको गफ दिन्छन् तर उनीहरुले जनताका तमाम समस्यालाई मनैदेखि आत्मसात् गर्न सकिरहेका छैनन् ।

अहिले पनि आम जनता गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीकै समस्याले आक्रान्त छन् । कैयौँका चुल्होमा बिहान–बेलुकाको चुल्हो बाल्नसमेत मुस्किल भइरहेको देखिन्छ । जब आम जनतामा राजनीतिप्रति वितृष्णा र अलगाव पैदा हुन्छ तब शासकीय प्रणालीहरु संकटग्रस्त बन्ने गरेको यथार्थ हामीसँगै छ । त्यसैले अहिले पनि जनताको चरम असन्तुष्टिका कारण शासकीय प्रणाली संकटग्रस्त हुने हो कि भन्ने भय बढेर गएको छ । त्यसैले यस्तो अवस्थाको संवेदनशीलतालाई शासकहरुले समयमा नै बुझेर सच्चिनुपर्छ र बिग्रँदै गइरहेको राजनीतिलाई सही ट्र्याकमा ल्याउनका लागि विशेष पहल गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्