इन्जिनियरिङ अध्ययन संस्थानद्वारा तेब्बर शुल्क वृद्धि



–२ लाख ८० हजारबाट बढाएर ७ लाख ७५ बजार पु¥याइयो
–शुल्क वृद्धि खारेज गर्न माग गर्दै आमरण अनशन
–शुल्क वृद्धि खारेज नगरे प्रवेश परीक्षा रोक्ने चेतावनी
–स्ववियु भन्छ : शुल्क वृद्धि खारेजबाहेक सम्झौता हुँदैन
–सबै विद्यार्थी संगठन आन्दोलित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आई ओ ई) ले संस्थानअन्तर्गत ५ वटा आंगिक क्याम्पपमा झन्डै तेब्बर शुल्क बढाएपछि विद्यार्थी संगठनहरू आन्दोलित भएका छन् । शुल्क वृद्धिको विरोधमा नेविसंघ पु्ल्चोक इन्जिनियरिङ क्याम्पसका इकाइ अध्यक्ष सुलभ चापागार्इं तीन दिनदेखि आमरण अनशन बस्नुभएको छ । स्वतन्त्र विद्यार्थी युनियनले शुल्क वृद्धि फिर्ता नभए केही हप्तापछि हुने प्रवेश गरीक्षा गर्न नदिने चेतवनी दिएको छ । स्ववियु अध्यक्ष विराज अर्यालले शुल्क वृद्धि खारेज नभए प्रवेश परीक्षा हुन नदिने प्रस्ट पार्नुभयो ।

इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयले साउन २५ गतेको निर्णयअनुसार शुल्क वृद्धि गरेको वेवसाइटमा राखेपछि क्याम्पसका कार्यक्रमको शुल्क वृद्धि हुँदा आन्दोलन चर्किएको छ । विद्यार्थीले हिजो बुधबारबाट डीन शशिधर राम जोशी र सहायक डीनको सवारी प्रवेशमा रोक लगाएका छन् । स्ववियु अध्यक्ष अर्यालले दुई विषयबाहेक सबैमा झन्डै ३ सय प्रतिशत शुल्क वृद्धि गरेको बताउनुभयो ।

उहाँका अनुसार सिभिल, आर्किटेक, इलेक्ट्रिकल, इलेक्ट्रोनिक, जिओमेट्रिक्स, मेकानिकललगायत करिब १५ वटा विषयमा भारी शुल्क वृद्धि गरेको छ । ‘केमिकल र एरोस्पेसमा करिब २ लाख र अन्य सबैमा ४ लाख ९५ हजार रुपियाँ वृद्धि गरेको छ । मेकानिकल र एरोस्पेसको भने १ लाख ७५ हजार रुपियाँ मात्र वृद्धि गरेको छ’ –अध्यक्ष अर्यालले भन्नुभयो ।

चालु शैक्षिक सत्रबाट लागु हुने गरी गरेको शुल्कवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने स्ववियुको भनाइ छ । अध्यक्ष अर्यालले भन्नुभयो– ‘हाम्रो एक मात्र माग छ शुल्कवृद्धि खारेज गर्नुप¥यो ।’ डीन कार्यालयले सरकारले आर्थिक सहयोग नदिएको कारण शुल्कवृद्धि गर्न बाध्य भएको जनाएको छ । उहाँले विद्यार्थीलाई भार पर्ने गरी गरेको शुल्कवृद्धि बिनासर्त खारेज गर्नुपर्ने बताउनुभयो ।

आमरण अनशन शुरू गरेका विद्यार्थी नेता चापागाईंले शुल्क फिर्ता नगरेसम्म आफूले आमरण अनशन फिर्ता नलिने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो– ‘मेरो एउटै माग छ बढाएको शुल्क खारेज हुनैपर्छ ।’ उहाँले संस्थानलाई सरकारले आर्थिक सहयोग नगरेको बहना बनाएर विद्यार्थीको ढाड सेकिने गरी शुल्क वृद्धि गर्न नहुने तर्क राख्नुभयो । आमरण अनशन बसेका चापागाईंको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ ।

डीन कार्यालयविरुद्धमा स्ववियुसहित सबै विद्यार्थी संघ संगठन आन्दोलित छन् । डीन कार्यालयले यसै शैक्षिक सत्रदेखि लागू हुने गरी भारी शुल्क वृद्धि गरेको हो । शुल्क वृद्धिको विषयमा जानकारी लिन खोज्दा आईओईका डीन जोशीले मोबाइल उठाउनुभएन ।

आईओईअन्तर्गत पुल्चोक, थापाथली, पूर्वाञ्चल, चितवन र पश्चिमाञ्चल इन्जिनियरिङ कलेज सञ्चालित छन् । शुल्कवृद्धि खारेज गर्नुपर्ने र सरकारले आईओईलाई आर्थिक सहयोग गर्नुपर्ने माग गर्दै हिजो एमालेनिकट अनेरास्ववियुका अध्यक्ष समिक बडाल, महासचिव नरेश रोकाया र स्ववियु अध्यक्ष अर्यालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई ज्ञापनपत्र दिएका छन् । सबै संगठनले शुल्कवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

अनेरास्ववियुले सर्वसुलभ रूपमा गरिब जेहनदार विद्यार्थीहरूको पहुँचमा नरहने गरी गरिएको शुल्क वृद्धिले सरकार नै इन्जिनियरिङ विषयमा व्यापार गर्न उद्वेलित रहेको पुष्टि हुन्छ । देशका विद्यार्थीहरू पलायन रोक्न सरकारले शिक्षामा थप लगानी गरी सर्वसुलभ रूपमा इन्जिनियरिङ विषय पढाउनुपर्नेमा नयाँ भर्नाको मौका छोपी भारी मात्रामा गरिएको शुल्क वृद्धि कदापि मान्य नहुने विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष समिक बडालद्वारा हस्ताक्षरित विज्ञप्तिमा अवैज्ञानिक र अव्यावहारिक शुल्क वृद्धि अविलम्ब फिर्ता लिन माग गरेको छ । साथै शुल्क वृद्धि फिर्ता नगरे शुल्क वृद्धिविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

नेपाल विद्यार्थी संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी शुल्क वृद्धि फिर्ता नलिए सशक्त, आन्दोलन गर्ने जनाएको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले तीन दिनभित्र शुल्क वृद्धि फिर्ता नलिए आईओईका पदाधिकारीको हिसाबकिताब गर्ने चेतावनी दिनुभयो । उहाँले तत्काल शुल्क फिर्ता गरेपछि मात्र विद्यार्थीले आन्दोलन रोक्नेछन् भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्