दुर्घटनाको कारण अत्यधिक गति र ओभरटेक- यात्रु बस त्रिशूलीमा खस्दा ८ को मृत्यु, १६ घाइते



धादिङ । काठमाडौंबाट पोखरा हुँदै जोमसोङ जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–२ छहरेस्थित चिसापानीमा बुधबार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । साँघुरो बाटोमा ओभरटेक गर्ने क्रममा अत्यधिक गतिमा गुडेको बस अनियन्त्रित भई दुर्घटना भएको थियो ।

प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएपछि बसमा हाहाकार भएको थियो । झ्यालतिर भएकाहरू हामफालेर ज्यान जोगाएका थिए । केही महिलाहरू ढोकाबाट बाहिर लडेर पानीमा परेका थिए । दुर्घटना भएपछि केरा व्यापारी र मकै पोलेर बस्नेहरू तथा स्थानीयबासीले उद्धार गरेका थिए ।

दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । दुर्घटनाको आधा घण्टापछि प्रहरी र अन्य उद्धार टोली घटनास्थल आइपुगेको स्थानीबासीले बताए । प्रहरीले दुर्घटना भएको समय बिहान ११ः१० उल्लेख गरेको छ भने दुर्घटना १०ः५० मा भएको थियो । दुर्घटना भएको स्थान इलाका प्रहरी कार्यालय गजुरीबाट २ किलोमिटर दूरीमा पर्छ ।

दुर्घटनामा परी मृत्यु हुनेहरूमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका–८ का २५ वर्षीय सविन रम्तेल र कास्की फूलबारी–११ का २५ वर्षीय सुमन थापा, पर्वत जलजला गाउँपालिका–६ की ४२ वर्षीया राधिका सापकोटा र पर्वत मोदी गाउँपालिका–५ का ४५ वर्षीय झपटबहादुर क्षेत्री रहेको सूचना अधिकारी जैसवारले बताउनुभयो । मृत्यु हुनेहरूमा ६ पुरुष र २ महिला छन् । तीन जनाको अझै सनाखत हुन बाँकी छ ।

दुर्घटनामा परी घाइते भएकामध्ये १३ जनालाई काठमाडौं प्रेषण गरिएको छ भने ४ जना धादिङमा उपचार गराइरहेका छन् । २३ जनाको चलानी लिएर आएको यात्रु बसमा बीचमा कति मानिस चढेका थिए भन्ने यकिन छैन । हरराएकाहरूको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजबिन कार्य जारी राखेको छ ।

यसैबीच दुर्घटनामा आदमघाटबाट सो गाडी चढेका गजुरी गाउँपालिका ८ का १६ वर्षीय सविन रम्तेल हराइरहेको परिवारिक स्रोतले बताएको छ । उनीसँगै गाडी चढेका दाइ सुशीलको भने शव भेटिइसकेको छ ।

सवारीसाधन अत्यधिक गतिमा रहेकाले अर्को एउटा गाडीलाई उछिन्न खोज्दा दुर्घटना भएपछि आफूले पहिलोपटक उद्धार गरेको ओभरटेकबाट पछि रहेको म्याजिक भ्यानमा रहेकी शर्मिला बरालले बताउनुभयो । अत्यधिक गतिमा गुडेको सवारीसाधन साँघुरो बाटोमा ओभरटेक गर्दा दुर्घटना भएर नदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्