अर्थतन्त्रमा अझै ढुक्क छैन



नेपाल राष्ट्र बैंकले गएको आर्थिक वर्षमा देशको आर्थिक अवस्थाबारे वार्षिक प्रतिवेदन प्रकाशित गरेको छ । केन्द्रीय बैंकको उक्त प्रतिवेदनमा उल्लिखित तथ्यांकले राष्ट्रिय अर्थतन्त्र सुधारोन्मुख रहे पनि अझै सहज नभएको संकेत गरेको छ । बढ्दो आयात तथा उच्च महँगीका कारण जनताको जीवनस्तर कठिन हुँदै गएको तथा आन्तरिक उत्पादनमा वृद्धि नहुने तथा लागत मूल्य उच्च हुँदा आयातीत वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्ने स्थिति रहेको छ । केन्द्रीय बैंकद्वारा प्रकाशित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार वार्षिक औसत मुद्रास्फीति ७ दशमलव ७४ प्रतिशत रहेको छ । सो अवधिमा आयात १६ दशमलव १ प्रतिशतले हुँदा निर्यात २१ दशमलव ४ प्रतिशतले घटेको छ । त्यस्तै वार्षिक औसत उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ७ दशमलव ५५ प्रतिशत, तराईमा ८ प्रतिशत, पहाडमा ७ दशमलव ५६ प्रतिशत र हिमालमा ७ दशमलव १२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त क्षेत्रहरुमा यस्तो मुद्रास्फीति क्रमशः ५ दशमलव ७३ प्रतिशत, ६ दशमलव ४१ प्रतिशत, ६ दशमलव ८७ प्रतिशत र ६ दशमलव शून्य ७ प्रतिशत रहेको थियो ।

बढ्दो मूल्यवृद्धिका कारण जनताको जीवनस्तर कष्टकर हुँदै गएको छ । अघिल्लो आर्थिक वर्षमा मात्रै होइन, चालू आर्थिक वर्षमा पनि मूल्यवृद्धि उच्च हुन सक्ने देखिएको छ । देशको वास्तविक क्षेत्रको अवस्थामा विप्रेषण आप्रवाह नेपाली रुपियाँमा २१ दशमलव २ प्रतिशत र अमेरिकी डलरमा १२ दशमलव १ प्रतिशतले बढेको छ । त्यस्तै शोधनान्तर स्थिति २९० अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २५५ अर्ब २६ करोडले घाटामा रहेको थियो । कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । त्यस्तै विस्तृत मुद्राप्रदाय ११ दशमलव ४ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२ दशमलव ३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३ दशमलव ८ प्रतिशतले बढेको छ । असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप ५७ खर्ब १० अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा ७ खर्ब ९७ अर्ब पुगेको छ ।

आर्थिक वृद्धि उत्पादकको मूल्यमा १ दशमलव ८६ प्रतिशत रहने अनुमान छ । जसमा कृषि क्षेत्रको वृद्धि २ दशमलव ७३ प्रतिशत, उद्योग क्षेत्रको शून्य दशमलव ५९ प्रतिशत र सेवा क्षेत्रको वृद्धि २ दशमलव ३३ प्रतिशत रहने अनुमान छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २४ दशमलव १२ प्रतिशत, १३ दशमलव ४५ प्रतिशत र ६२ दशमलव ४३ प्रतिशत रहेको छ । कुल गार्हस्थ्य बचतको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ६ दशमलव ४१ प्रतिशत रहेको छ । कुल स्थिर पुँजी निर्माण र कुल राष्ट्रिय बचतको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात क्रमशः २५ दशमलव २१ प्रतिशत र ३१ दशमलव ६६ प्रतिशत रहेको छ । असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति १ हजार ६५४ अर्ब ५० करोड तथा दायित्व १ हजार ७२९ अर्ब ३९ करोड रहेको छ । फलस्वरुप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ७४ अर्ब ९० करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति २७१ अर्ब ३४ करोडले घाटामा रहेको थियो । राष्ट्रिय अर्थतन्त्रको यस किसिमको स्थितिले चालू आर्थिक वर्षमा सरकारले आफ्नो कार्य दिशा र नीतिलाई गम्भीर भई तय गर्नुपर्ने देखिन्छ । वित्तीय स्थितिमा केही सुधार भए पनि राजस्व स्थिति अत्यन्तै कमजोर बन्दै गएको हुँदा त्यसतर्फ सचेत हुन जरुरी छ

प्रतिक्रिया दिनुहोस्