उमेरको आठ दशकमा पनि पढ्ने जोस



काठमाडौँ। 

कक्षा १२ को परीक्षामा बानेश्वर क्याम्पसबाट सहभागी ८० वर्षीया रत्नकुमारी सुनुवार उत्कृष्ट नतिजाका साथ उत्तीर्ण भएकी छिन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार सुनुवारको २.६४ जिपिए अङ्क प्राप्त गरी उत्तीर्ण भएकी हुन् । दृढ संकल्प सहित इच्छा शक्ति भएमा पढ्नका लागि उमेरले छेक्दैन भन्ने कुरा सुनुवारले पुष्टि गरेकी छिन ।

२००१ मसिंर १ गते रामेछापको चरिकोट अड्डामा जन्मिएकी रत्नकुमारी सुनुवारले रहरले कक्षा १२ सम्म पढेकी हुन् । २०३६ सालमा काठमाडौँ आएपछि कालो अक्षर देखेकी सुनुवारले आफूलाई पढ्न मन लागेको बताउँछिन् ।

 काठमाडौँको कोटेश्वर भाटभटेनी पछाडी बस्ने सुनुवारले कोटेश्वर क्लबबाट ६ महिना प्रौढ शिक्षा लिएकी थिइन । त्यसपछि तीनकुनेको महिला विद्यालयबाट कोरोनाको समयमा एसईई उत्तीर्ण गरेकी उनले कक्षा ११ देखि बानेश्वर बहुमुखी क्याम्पसमा भर्ना भएर पढ्न थालेकी हुन् । उनी सकेको बेला विद्यालय जाने र बिरामी भएको कारण नसकेको बेला घरमै पढ्ने गर्थिन ।

श्रीमान्, बुहारी, नाति, नातिनासंँगै बस्ने रत्नकुमारीले माइलो छोराको छोरा नातिसँगै परीक्षा दिएकी थिईन । परीक्षा चलिरहेकै समयमा आफूले लेखेको परीक्षा राम्रो भएको प्रतिक्रिया दिएकी थिइन्  ।  आँखा राम्रोसँग देख्न नसक्ने भएका कारण रत्नकुमारीको परीक्षा कक्षा ११ मा पढ्ने सहयोगीका रुपमा  लोकेन्द्र शाहीले दिएका थिए । लोकेन्द्रले प्रश्न पढेर सुनाई दिए पछि रत्नकुमारीले जवाफ दिन्थिन । त्यही जवाफ लोकेन्द्रले उत्तर पुस्तिकामा लेखिदिन्थे ।

परीक्षा केन्द्रमा पुग्न उनले ट्याक्सी प्रयोग गरेकी थिइन् । रत्न कुमारी विद्यालय जाँदा छिमेकी महिलाहरु खिसी टिउरी गर्थे । श्रीमानले पनि पाकेको धानलाई पानी लगाएर के फाइदा भन्नुहुन्थ्यो ? सुनुवारले भनिन् ।

प्रतिक्रिया दिनुहोस्