लुम्बिनी विकास कोषले सम्पर्क कार्यालय काठमाडौँमा राख्ने प्रस्तावको चर्को आलोचना

आन्दोलन गर्ने चेतावनी 



बुटवल। 

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरिएका ल्यारक्याल लामाको नियुक्ति रद्द गर्नुपर्ने बताएका छन् । विवादित व्यक्तिलाई सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गरेर गल्ती गरेको बताए ।

कोषको उपाध्यक्षमा नियुक्त डा. ल्यारक्याल लामाले पहिलो बैठकमै कोषको समर्पक कार्यालय काठमाडौँ राख्ने निर्णय गरेसँगै त्यसको मन्त्री सहित अन्य संस्थाहरुले पनि चौतर्फी विरोध गरेका छन् ।

शनिबार लुम्बिनीमा पत्रकारहरुसंग कुरा गर्दै जनमत पार्टीका नेतासमेत रहनुभएका मन्त्री गुप्ताले लुम्बिनी विकास कोषको कार्यालय काठमाडौँ सार्न नहुने बताए । उनले लुम्बिनी विकास कोषले गरेको मनोमानी निर्णय मान्य नहुने बताउँदै लुम्बिनी विकास कोषले स्थानीयलाई बाइपास गर्दै आएको गुनासो गरे ।

उनले गलत निर्णय सच्चाउन लुम्बिनी विकास कोषलाई आग्रह गर्दै गलत निर्णय गर्दैै जाने र स्थानीयलाई बाइपास गरे बिरोमा उत्रने चेतावनी दिए । लुम्बिनीको गुरुयोजना संशोधन गर्नुपर्ने बताउँदै संविधान संशोधन हुने लुम्बिनीको गुरुयोजना संशोधन नहुने हुन्छ र भन्दै प्रतिप्रश्न गरे ।

हरेक क्षेत्रबाट लुम्बिनी वासीलाई अपहेलना गरिएको छ भन्दै मन्त्री गुप्ताले लुम्बिनीवासी र लुम्बिनी सरकारको  सहमति विना लुम्बिनीमा गरिने काम र निर्णयको विरोधमा आन्दोलित हुने चेतावनी दिए । उनले सरकारले लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति गर्दा लुम्बिनी कै मानिसलाई ल्याउनु पर्नेमा जोड दिए ।

सोही बैठकमा मायादेवी मन्दिर जीर्णोद्धार गर्न कोष स्थापना गर्ने निर्णय गरी डा. लामाले ७ करोड रुपैयाँ सो कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएका छन् । स्थानीयहरूले उपाध्यक्षले ७ करोडमा कोषको कार्यालय साट्न खोजेको भनी उपाध्यक्षको आलोचना गरेका छन् ।

त्यस्तै लुम्बिनी होटल संघले एक विज्ञप्ति जारी गर्दै निर्णय परिवर्तन गर्न अनुरोध गरेको छ । संघका अध्यक्ष गोविन्द ज्ञवालीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा स्थापना कालदेखि विगत केही वर्ष अघि सम्म पनि लुम्बिनीले यही नियति भोगेको उल्लेख छ ।

लुम्बिनीको नेतृत्व लुम्बिनी मै बसेर हुनु पर्ने उनीहरूको माग रहेको छ । यसै गरी लुम्बिनी बचाउ संघर्ष समितिले पनि कोषको निर्णयको विरोध गर्दै निर्णय फिर्ता लिन विज्ञप्ति जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्